नेपाली समय: ०६:४६:२९ बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

टि–२० विश्वकप सपनामा तुषारापातः सिंगापुरसँग नेपालको ‘शर्मनाक’ पराजय

निर्माण सञ्चार, आइतबार, १२ साउन, ०७६, काठमाडौं । जारी आइसिसी टि–२० विश्वकप छनोट एसिया अन्तर्गतको निर्णायक खेलमा सिंगापुरसँग नेपालको पराजयले ०२० टि–२० विश्वकप खेल्ने नेपालको सपना तुषारापात भएको छ ।

आइतबार बिहानको खेलमा नेपालले सिंगापुरसँग ८२ रनमा पराजय व्यहोर्न पुग्यो ।

नेपालको पराजयसँगै सिंगापुर एसिया फाइनलको उपाधि विजेता बन्दै विश्वकपको ग्लोबल छनोटको स्थान सुरक्षित गर्न पनि सफल बनेको छ ।

खेलको विजेता  बन्दै टि–२० विश्वकपको आाउने अक्टोबरमा युएईमा हुने विश्वस्तरीय छनोट प्रतियोगिताका लागि सिंगापुरलाई सफलता मिलेको हो ।

खेल कस्तो रह्यो त ?

अक्टोबरका लागि १४ टिम सहभागी हुने ग्लोबल छनोटबाट शीर्ष ६ टोली आउने वर्ष हुने टि–२० विश्वकपमा पुग्ने छन् । सिंगापुरले दिएको १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल खराब प्रदर्शन गर्दै १०९ रनमा अलआउट हुन पुगेको थियो ।

ओपनर ज्ञानेन्द्र मल्लले ३९, दीपेन्द्रसिंह ऐरीले २३, पारस खड्काले १२ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर लिन पनि सकेनन् ।

नेपालको पारी ध्वस्त पार्ने क्रममा सिंगापुरका सेल्लादोरे विजयकुमारले ४ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए भने रोहन रंगाराजनले ४९ र मनप्रीत सिंहले ४२ रनको योगदान गरे । नेपालका लागि अभिनाश बोहराले ४ ओभर बलिङ गर्दै ३५ रन दिएर ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे ।

नेपालका वसन्त रेग्मी सबैभन्दा महँगा साबित भए । उनले ४ ओभरमा ५४ रन दिँदा एक विकेट पनि लिन सकेनन् ।

 

 

 

०००
 

 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन १२
July 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार