नेपाली समय: ०१:०४:५७ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

दिनगन्ती सँगै संस्कृतका पदाधिकारीलाई खबरदारीः ‘होसियार, दीर्घकालीन असर पर्ने निर्णय गर्यौ भने कठघरामा उभिनु पर्ला !’

निर्माण सञ्चार, १२ साउन, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा यतिबेला ‘आउटगोइङ’ पदाधिकारीलाई धमाधम प्रेस विज्ञप्ति जारी गरी ‘सचेत गराउने’ काम भइरहेको छ ।

यसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट प्राध्यापक संगठन (दुवै) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले  पनि पदाधिकारीमाथि ‘अविश्वास’ रहेको बताउँदै खबरदारी गरिरहेका छन् ।

विज्ञप्तिबाजीमा उत्रिएका प्राध्यापकहरुका अनुसार, पद र शक्तिको दुरुपयोग गर्ने चलन विश्वविद्यालयमा पछिल्ला दिनमा देखिदै गएको छ । त्यसमा पनि काम चलाउ अवस्थामा पुगिसकेका पदाधिकारीहरु विभिन्न प्रलोभन वा दबाबमा परेर गलत निर्णय गर्ने गरेको पनि पाइन्छ ।

पदासीन अधिकारीहरुले आफू जाँदै गर्दा ‘मनलाग्दी’ निर्णय लिने र आउने  पदाधिकारीहरु अनावश्य अख्तियार धाउनु पर्ने चलन झाँगिदै गएको छ ।

यसबारे संस्कृत विश्वविद्यालय केन्द्रीय प्राध्यापक संघका नेता सुदर्शन ढुंगाना भन्छन्, ‘दिनगन्ती सुरु भएका पदाधिकारीलाई दैनिक कार्य सञ्चालन बाहेक कुनै पनि दीर्घकालीन रुपले आर्थिक भार पर्ने निर्णय गर्न नैतिकताले पनि दिदैन । जाँदै गर्दा कसैको प्रिय पात्र बन्न वा आफ्नो हित अनुकूल भ्रष्ट रुपले नियुक्तिसम्मका कामहरु गरेको देखियो।’

उनले थपे, ‘ यसले अख्तियारको दुरुपयोग त भयो नै तर पद छाडेर गएका भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि अख्तियारसम्म धाउनु पर्ने, स्पष्टीकरणले चित्त नबुझे जेल नै जानु पर्ने अवस्था पनि देखिने गरेकाले प्राध्यापक भएका नाताले उहाँहरुलाई सचेत गराउनु हाम्रो पनि धर्म हो ।’

उनका अनुसार पछिल्ला दिनमा उपकुलपति कोइरालाले गलत निर्णय लिएका छन् । कार्यकालभरि ३ महिने म्याद दिदै तदर्थवादमा क्याम्पस प्रमुखहरु नियुक्ति गर्दा विधान विपरीत काम भयो । यस्तो निर्णय उनले कामचलाउ अवस्थामा पुगिसकेको बेलामा पनि गर्न पुगे ।

सामान्यतया सार्वजनिक पदमा रहेका व्यक्तिहरुको कम्तीमा ६० दिन पहिलेको अवधि काम चलाउ हुने चलन छ । यस्तो अवधिमा दीर्घकालीन असर पर्ने कुनै पनि काम गर्न पदाधिकारीहरुले सक्तैनन् ।

केही दिन अघि मात्रै पनि महोत्तरीस्थित याज्ञवल्क्य विद्यापीठ मटिहानी क्याम्पसमा उनले त्यसै गरे, जुन कुरा नियम विपरीत छ । 

प्राचार्यको म्याद थप गर्दै गरेको नियुक्ति कार्यकारी परिषद्को कोरम नै नपुगी गरिएको छ ।

‘त्यसैले भिसी तथा पदाधिकारीहरुमाथि संस्कृत विश्वविद्यालयका प्राध्यापक र कर्मचारीहरु विश्वास गर्न सक्तैनन् । विश्वास नभएकाले नै प्राध्यापकहरुले बारम्बर याद गराइरहनु परेको छ ।’

वाल्मीकि विद्यापीठ प्रवेश गर्दाै गर्दाको रातो खम्बामा रंगीन हुने गरी आइबार साँझ विज्ञप्तिहरु टाँसिएका छन् ।

‘जाँदै गर्दा गलत निर्णय नलिन चेतावनी दिन चाहन्छौं’ भन्दै विज्ञप्ति टाँस गर्नेमा प्रजातन्त्रवादी प्राध्यापक संघ पनि छ ।

उसको विज्ञप्तिको भाषाको भाव पनि पदाधिकारीमाथि विश्वास नभएको स्पष्टै बुझ्न सकिन्छ ।

उसले केही दिन अघि आयुर्वेद अध्ययन संकायको डिनको नियुक्ति ‘एकलौटी भएको’ भन्दै सो को ‘गम्भीर’ विरोध मात्र गरेन ‘तत्काल फिर्ता लिन’ चेतावनी नै दिएको छ ।

संस्कृत विश्वविद्यालयमा विज्ञप्तिबाजीः प्रजातन्त्रवादी प्राध्यापक संघले गर्यो डिन नियुक्तिको विरोध

करिब ३ हप्ता आयु बाँकी रहेका पदाधिकारीहरु माथि विश्वास नभएका कारण उनीहरुलाई सचेत गराइएको दुवै पक्षका प्राध्यापक नेताहरुको भनाइ छ ।

जाँदै गर्दा कसै न कसैको प्रभावमा परेर केही न केही ‘अप्रिय निर्णय लिने तयारी उपकुलपतिले गरेको र उनलाई विभिन्न शक्ति केन्द्रबाट यो निर्णय गर् भनी फोन समेत जाने गरेको बुझिएकाले पदको दुरुपयोग गर्नबाट सचेत गराएका हौं,’ नेसंविस्थित वैद्य माओवादी निकट प्राध्यापक संगठनका नेता श्रीधर अधिकारीले भने, ‘यदि जानी जानी गलत निर्णय लिइएको पाइएमा त्यसले मूल्य गम्भीर हुने हामी चेतावनी दिन चाहन्छौं ।’
०००
ठिक ४ वर्ष अघि तत्कालीन प्रधानमन्त्री तथा काँग्रेस सभापति स्व. सुशील कोइरालाले खल्तीबाट उपकुलपति बनाइएका संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. कुलप्रसाद कोइराला सहित शिक्षाध्यक्ष प्रा. रमेश ढकाल (तत्कालीन नेकपा एमालेको भागबाट) र कुलसचिव कात्र्तिकेय झाको भदौको दोस्रो हप्ता कार्यकाल पूरा हुँदै छ ।

खास गरी कुलपति कोइराला पदासीन भए लगत्तै विश्वविद्यालय नियम विपरीत पूर्ववर्ती पदाधिकारीले गरेका निर्णयहरु उल्ट्याउँदै विवादास्पद निर्णय गर्दै गए ।

विश्वविद्यलाय नियमले दिएको विशेष परिस्थिति बाहेकको अवस्थामा पनि विशेषाधिकार (१६/१०) लगाएर एक पछि अर्काे निर्णय गर्नाले कुलपति कोइराला प्राध्यापकहरुको ठूलो पंक्तिबाट आलोचित बन्न पुगे । 

त्यति मात्रै हैन, प्रशासन सम्बन्धी सामान्य ज्ञान समेत अरुबाट लिनु पर्ने हैसियतमा देखिएका उनको यो कार्यकालको पूरै दिन शिक्षाध्यक्ष र कुलसचिवसँग समेत राम्रो समम्बन्ध रहेन । 

फलतः बाहिरी विश्वविद्यालयबाट आएर संस्कृत भिसी बनेका उनी ‘लाहुरे भिसी’ को संज्ञा पाउने सम्भवतः एकमात्र भिसी बन्न पुगेका छन् । 
उनलाई लगभग सबैले ‘असफल’ उपकुलपतिका रुपमा आलोचना गर्दछन् ।

मूलधारको प्राध्यापक नेतृत्वबाट भन्दा पनि निश्चित ‘ग्रुप’बाट सञ्चालित हुँदा पनि उनले केही समय अघि आफ्नो सल्लाहकार समेत गुमाएका थिए ।

विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गर्दा खास योग्यता र क्षमता भन्दा राजनीतिक कोटाबन्दीमा मात्रै सीमित हुँदा अपेक्षाकृत अयोग्य व्यक्ति पनि पदाधिकारी बन्ने र विश्वविद्यालयको गरिमामा समेत आँच आउने समस्या बढ्दो छ ।

यो समस्या यतिबेला त्रिविदेखि संस्कृत, पूर्वाञ्चल र सुदूरपश्चिम विश्वविद्यलासम्ममा देखियो ।

यसलाई प्रधानमन्त्री तहबाट सच्याउनु पर्ने माग बढ्दो भइरहेकै बेला अबका केही हप्ताभित्र मुलुकका त्रिवि लगायत केही प्रमुख विश्वविद्यालहरुमा नयाँ नेतृत्व दिनु पर्ने सँघारमा सरकार छ ।

फेरि पनि सत्तारुढ दल निकट प्राध्यापक संगठन भित्र ‘योग्यतम’ विधिसम्मत प्रक्रियाबाट सहमति जुटाउनु भन्दा पनि सबैजना सबैतिर दौडिरहेको अवस्था छ ।

पदाधिकरी हुने ‘क्राइटेरिया’ नै नभएझै देखिएको वर्तमान परिस्थितिमा आउने पदाधिकारीले के गर्ने भन्ने ‘भिजन डकुमेन्ट’ सम्म पनि लिने र हेर्ने निकाय देखिदैन ।

न त सहमतीय संस्कृति बसाल्न प्राध्यापक नेताहरु तयार देखिन्छन्, न आफूले त्यागेर दोस्रो योग्यलाई अघि बढ्न बाटो दिन नै तिनीहरु तयार देखिन्छन् । 

‘पाएसम्म आफैं’ का लागि सकेसम्म धेरै कसरत गरिएको देखिएको छ, जुन राम्रो हैन,’ भन्छन्, प्रगतिशील पक्षधर एकजना प्राध्यापक नेता । 

उनका अनुसार यतिबेला पदाधिकारी बनाइदेऊ भन्दै क्राइटेरिया भित्रै नपर्ने व्यक्तिहरु पनि राष्ट्रपतिदेखि शिक्षामन्त्री र पहुँचवाला नेताहरुको घरदैलो धाइरहेका छन् ।

‘आखिर यो देउसी भैलो र जिउजिउ गर्नेहरु पदाधिकारी नै बन्लान् भन्ने त छैन, उनले भने ।


०००

पढौं यो पनि

यस्ता छन् प्राध्यापक संगठन र संघहरुले निकालेका विज्ञप्तिहरु क्रमशः

वाम निकट प्राध्यापक संगठनहरुले निकालेको विज्ञप्ति
 

काँग्रेस निकट प्राध्यापक संघले निकालेको विज्ञप्ति


To see front face coverage, click here

 

 

 

 



प्रकाशित: २०७६ साउन १२
July 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार