नेपाली समय: ०१:००:५१ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

भूकम्पबाट पूर्ण क्षति भएका सरकारी भवनको पुनर्निर्माण सम्पन्न

निर्माण सञ्चार, १५ साउन, काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरुमध्ये ७० वटाको   पुनर्निर्माण सम्पन्न भएको छ ।

त्यसमा सरकारी स्रोतका ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक एडिबीको ऋण सहयोगका छन् ।   

केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट   पुनर्निर्माण  भइरहेका बाँकी २१ वटा चालु आर्थिक वर्षभित्र र एडिबीको ऋण सहयोगमा पुनर्निर्माण भइरहेका बाँकी २९ वटा भवनहरुको पुनर्निर्माण २०७६ साल पुषसम्ममा सम्पन्न गरिनेछ । 

 पुनर्निर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको छ ।

साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरुको टेण्डर आह्वान गरिएको छ । 

भारतीय ऋण एक्जिम बैंक मार्फत् सहयोगमा   पुनर्निर्माण  हुने ललितपुर स्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ ।

सोही ऋृण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुंगा तथा सोलुखुम्बुका कारागारहरुको प्रक्रिया बढाउनका लागि गृहकार्य जारी छ । 

राष्ट्रिय  पुनर्निर्माण  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भई बनाउन बाँकी संरचनाहरु समयमा   पुनर्निर्माण  गर्नका लागि योजना बनाएर अघि बढेको बताउनुभयो । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनहरुको प्रवलीकरणतर्फ पनि कार्य अघि बढेका छन् ।

सार्क सचिवालयको प्रवलीकरण सम्पन्न भइसकेको छ । 

सिंहदरबारको पश्चिमबाहेक तीनवटै खण्डको प्रवलीकरण जारी छ भने पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ ।

त्यसैगरी, बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनहरुको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवास, यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवनहरु प्रवलीकरणको डिजाइन चरणमा छन् ।

नेपाल राष्ट्र बैंक कै लगानीमा बालुवाटार र थापाथली बन्ने भवनहरुको निर्माण कार्य जारी छ । 

राजधानीमा आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाहरुको मर्मत सम्पन्न भइसकेको छ । 

सरकारी भवनहरुतर्फ हालसम्म ८ अर्ब २८ करोड रुपैयाँ खर्च भइसकेको छ । 

०००



प्रकाशित: २०७६ साउन १५
July 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार