नेपाली समय: ०५:११:१२ बिहान
वि.सं २०७६ भाद्र ६   शुक्रवार

अधिकारीको ‘लोकप्रिय विरासत’ मा आए ‘लोकप्रिय’ नेता योगेश भट्टराई

निर्माण सञ्चार, १५ साउन, ०७६, काठमाडौं । अन्ततः ‘लोकप्रिय’ नेता स्वर्गीय रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा पर्यटन मन्त्रालयको जिम्मेवारी काँध थाप्न पुगेका छन् त्यस्तै ‘लोकप्रिय’ छविका नेता योगेश भट्टराई ।

किनकि, यी दुवै नेतालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मात्र नभई, नेपाली राजनीतिमै जनताले आशा र भरोसा गरेको दोस्रो पुस्ताका नेताका रुपमा नेपाली जनताले चिन्ने गरेको छ ।

तत्कालीन मन्त्री अधिकारीको निधन फागुन १५ देखि मन्त्रीविहीन बन्न पुगेको मन्त्रालयले ठीक ५ महिना पछि आफ्नो मन्त्री पाएको छ ।

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्रीको जिम्मेजारी दिएका हुन् ।

भट्टराईले अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिए लगत्तै मन्त्रालयमा पुगेर जिम्मेवारी समेत आजै सम्हालेका थिए ।

धेरै मानिसले नेता भट्टराईलाई यस अघि नै मन्त्रीका रुपमा पाउने अपेक्षा राखेका थिए ।

स्वयम् तत्कालीन अध्यक्षका रुपमा प्रधानमन्त्री ओलीले तत्कालीन चुनावी दौडमा भट्टराईको चुनावी मैदान ताप्लेजुङ पुगेर भनेका थिए- ‘तपाईहरु योगेश भट्टराईलाई सांसद बनाएर पठाउनुस, मन्त्री बनाएर पठाउने जिम्मा मेरो भयो ।’ 

 सक्लान् त चिर्न चुनौतीको चाङ ? चिर्न सके चुनौतीः सगरमाथा झै चुलिने छ उचाइ 

जब दुई तिहाइ बहुमत पार्टी बनेको नेकपाका तर्फबाट प्रधानमन्त्री सहितको मन्त्रिमण्डल विस्तार भयो, योगेश भट्टराईको नाम सामवेश नहुँदा धेरैले सामाजिक सञ्जालबाट समेत भट्टराईलाई मन्त्री बनाएर पठाउने भनेको ओली वचनलाई स्मरण गराएका थिए ।

नेपाली राजनीतिक रंगमञ्चमा को हुन् योगेश भट्टराई भनी लगभग चिनाउन जरुरी पनि छैन । उनलाई उनको विद्यार्थी कालदेखिको राजनीतिक पृष्ठभूमिदेखि नै नेपाली जनताले चिन्दै आएका छन् । 

उनलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक फत्ते गर्न सक्ने नेताका रुपमा समेत चित्रण गरिन्छ ।

रवीन्द्र अधिकारीको ‘उत्तराधिकारी’ !

मन्त्रीको कार्यभार सम्हाले लगत्तै नवनियुक्त पर्यटन मन्त्री भट्टराईले आफूलाई रवीन्द्र अधिकारीको ‘उत्तराधिकारी’कै रुपमा चित्रण गरे ।

उनले आफूले भन्दा पनि स्व. अधिकारीले नै उक्त मन्त्रालय अझै राम्ररी हाँक्न सक्ने क्षमता भएको नेताका रुपमा सम्मान गरेर अग्रजको सम्मानको संस्कृतिलाई शालिनता दिन पनि चुकेनन् । 

उनले भने, ‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बस्न आइपुगेको छु,  उहाँले नै राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो, उहाँकै आवश्यकता थियो, तर  प्रकृतिलाई जित्न सकेनौं ।  उहाँको उत्ताराधिकारीका रुपमा आएको छु,  यसो भन्दा मलाइ गर्व छ ।’
सँगै उनले दोहोराए, ‘स्वर्गीय रवीन्द्र अधिकारीले छाडेका बाँकी कामलाई उचाइमा पुराउनु छ ।’

चुनौतीका चाङ चिर्न सके, सगरमाथाझै उक्लने छ शान !

राजनीतिमा चुनौतीका चाङ हुनु कुनै आश्चर्य होइन । तर, त्यसलाई सफलता पूर्वक ‘सेटल’ गर्न जसले सक्छ उसको उचाइ झनै उचेलिने गरेको हामीले देखेकै सत्य हो ।

अक्सर धेरै नेताहरु सत्ता सञ्चालनको अवसर पाएपछि आलोचनाका शिकार बन्न पनि पुगेका छन् । 
तर, नेपालको पर्यटन पूर्वाधार धेरै थोक गर्नै बाँकी छ । केही खास कामको सुरुवात गर्दागर्दै तत्कालीन पर्यटन मन्त्री अधिकारीको असामयिक र अकल्पनीय मृत्यु हुन पुग्यो ।

विशेष गरी विमानस्थलको विकास र सुधार उनले आरम्भ गरेको अत्यन्त महत्त्वपूर्ण कदमहरु थिए ।

त्योसँगै भ्रमण वर्ष २०२० यतिबेला सबैभन्दा अन्यौलग्रस्त बन्न पुगेको  छ । जबकि, स्वर्गीय मन्त्री अधिकारीले आउने वर्षमा २० लाख पर्यछनक भित्राउने उद्घोष गरेका थिए ।

नयाँ वर्ष आउन मात्र ४ महिना बाँकी रहेको बेला उक्त कार्यक्रम सफल बनाउने तयारी भने अहिलेसम्म केही पनि बनेको छैन ।
मन्त्रीका रपमा अधिकारीले थालेका तर परिणाम आउँदै गरेका वा रोकिएका धेरै कामहरु बाँकी छन् । 

अर्काे चुनौती हो वाइडबडी काण्ड । नेपाल सरकारको मातहत रहेको नेपाल वायु सेवा निगमलाई आजको युगको माग अनुरुपको आधुनिक गति दिने चुनौती पनि त्यतिकै टड्कारो छ  ।

त्यस्तै, नवनियुक्त पर्यटन मन्त्री भट्टराईलाई नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन (इयु)ले राखेको कालोसूची हटाउने चुनौती पनि जटिल नै छ। 

इयको कालोसूचीमा रहेका कारण निगमले वाइडबडी जहाज ल्याएर पनि लामो दूरीको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न सकेको छैन। 

निगमलाई चीन, दक्षिण कोरिया, साउदी अरबसहतिका निगमको योजनाका गन्तव्यमा उडान खुला गराउनुपर्ने गतिलो चुनौती देखिन्छ । 
बाइडबडी खरिदपछि नाफामूलक गन्तव्यमा उडान गर्न सकेको छैन ।

न त पूर्ण क्षमतामा उडान गर्न पाएको छ । यसले छोटो दूरी अर्थात् न्यारोबडीकै गन्तव्यमा उडान गर्न बाध्य भइरहेको अवस्था देखिन्छ । यसको दूरी र क्षमता अनुसारको सेवा समेत विस्तार गर्नु पर्यटन मन्त्री भट्टराईको चुनौती नै हो ।

ढिला निर्णयले पार्न सक्ने असर !

योग्य नेताको योग्यता परीक्षा गर्न पनि सुम्पने जिम्मेवारी कस्तो सयममा सुम्पिएको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । मन्त्रालयमा अधिकारीको अभाव पछि जतिसक्तो चाँडो उक्त अभाव पूर्ति गर्नु पर्ने दायित्व वर्तमान ओली सरकारको थियो ।

आउने ०२० लाई पर्यटन वर्षका रुपमा घोषणा गरिसकेको कार्यक्रम सम्पन्न गर्ने दिशामा ढिलो नियुक्तिले पार्न सक्ने असरको कसर प्रधानमन्त्रीका हातमा जाने स्पष्ट छ । 
यो पनि भट्टराई जस्तो आशा र भरोसको नेताका लागि चुनौतीकै पहाड हो जुन कुरा ढिलाइले गर्दा सिर्जना भएको देखिन्छ ।

याबत् चुनौती छन् । योसँगै लुकेका अवसरहरुले चुनौती चिर्दै नयाँ उचाइ थप्ने सम्भावना पनि त्यतिकै छ योगेशका सामू ।

यसमा मिल्ने सफलताले अहिलेसम्म राजकीय पद नपाएका मन्त्री योगेशको उचाइ अझै चुलिने हो वा झर्ने हो भन्ने पनि उनको यो जिम्मेवारीमा रहेका चुनौतीको सम्पादनले साबित गर्ने हो ।

 

०००
 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन १५
July 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार