नेपाली समय: ११:४२:३७ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

मुख्य सचेतक भट्टराईको आग्रहः ‘प्रधानमन्त्रीबाट विश्वविद्यालयका प्रोफेसरसँग सार्थक संवादको थालनी होस् !’

निर्माण सञ्चार, १७ साउन, काठमाडौं । राष्ट्रिय सभाका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक खिमलाल भट्टराईले विश्वविद्यालय तहसम्मको शैक्षिक सुधार गर्ने बेला घर्कन लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्थक पहल लिन अनुरोध गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको विशेष समयलाई सम्बोधन गर्दै नेता भट्टराईले विश्वविद्यालयीय बेथितिबारे विश्लेषणात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।
समस्या मात्र देखाउने र आलोचना गर्ने परिपाटी अन्त्य गर्दै पूर्व विद्यार्थी नेता समेत रहेका भट्टराईले त्रिभुवन विश्वविद्यालयभित्र शैक्षिक सुधारका विभिन्न विकल्पहरु समेत प्रस्तुत गरेका छन् ।

संसद्को विशेष समयमा बोल्दै नेता भट्टराईले नेपालको उच्च शिक्षा सम्बन्धी केही तथ्यहरु प्रस्तुत गरेका छन् । ती तथ्यहरु देखाएर नेता भट्टराई मुलुकको ध्यान विश्वविद्यालय सुधार तिर जान आवश्यक रहेको जोड दिएका छन् ।

भागबन्डाको अन्त्यको माग

नेता भट्टराईले विश्वविद्यालयमा हुने दलीय भागवण्डा अन्त्य हुनुपर्ने बताएका छन् । उनले भागवण्डा अन्त्यका लागि नीतिगत व्यवस्थासहित पदाधिकारी छनोटका लागि अधिकार सम्पन्न ‘स्वतन्त्र सर्च कमिटी’ गठन गरी काम अघि बढाउन मुलुकको नेतृत्वको ध्यानाकर्षण गरेका हुन् ।

नेपालका मुख्य विश्वविद्यालयहरुमा केही दिनमै पदाधिकारीहरु रिक्त हुदै छन् । त्रिवि, नेपाल संस्कृतदेखि सबै विश्वविद्यालय राजनीतिक भागबन्डाका कारण कुशल र गुदी नभएका पदाधिकारीहरुको घुँइँचो मात्र बढेको सर्वत्र चर्चा भइरहेकै बेला नेता भट्टराईले त्यसखाले परिपाटीको अन्त्य गरिनु पर्ने माग उठाए । 

जसले गर्दा शैक्षिक उत्पादन समेत कमसल हुने गरेको छ । जसको मुख्य कारण हो भागबन्डा । भागबन्डामा पर्दा जो अयोग्य छ, जो हनुमान छ, त्यसले नै ठाउँ पाएको देखिन्छ । फलतः आफैं कमशल वस्तुले जसरी गुणस्तरीयता दिन सक्तैन विश्वविद्यालयहरुमा त्यस्तै भइरहेको छ ।’

भट्टराईले थपे, ‘निकट भविश्यमा रिक्त हुन गइरहेका ७ वटा विश्वविद्यालयका पधादिकारी छनोटका लागि अधिकार सम्पन्न स्वतन्त्र सर्च कमिटी अविलम्ब निर्माण गरी योग्यता, क्षमता, कामको प्रस्तावना र प्रतिस्पर्धाको आधारमा उपकुलपतिदेखि विभागीय प्रमुखसम्मको नियुक्ती गर्ने कानुनी प्रबन्ध मिलाउन नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गर्दछु ।’

११ र १२ मा दरबन्दी शिक्षक 

देशैभरका सामुदायिक विश्वविद्यालयको खस्कदो अवस्थाको मुख्य कारण गुणस्तरीय दरबन्दी र वैज्ञानिक व्यवस्थापनको अभाव रहेको नेता भट्टराईको बुझाइ छ । 

उनले देशभरका कक्षा ११ र १२ अध्यापन हुने देशभरका सामुदायिक विद्यालयमा दरबन्दी शिक्षकको अभाव रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

उनले उक्त अभाव पूरा गर्न तत्काल अध्ययन गरेर आवश्यक दरबन्दी दिनु पर्ने उनको माग छ ।

सिएल फेजआउट भए पनि ध्यान कम दिइयो

उनले त्रिविको उत्पादन खस्किरहे तर्फ संकेत गर्दै त्रिविबाट प्रविणता प्रमाणपत्र तह हटाइएको एक दशक बित्दा पनि साविक उच्च माविहरुमा दरबन्दीको शिक्षक व्यवस्थापन हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी छ ।

भट्टराईले विश्लेषण र डाटा सहित प्रस्तुत गरेका विषयहरुः

सममाननीय अध्यक्षज्यू
विश्वविद्यालय शिक्षा सुधार सम्बन्धि विशेष प्रस्तावहरु सम्मानित सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • मुलुकको कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ७.२ रहेकोमा यसको शिक्षामा लगानी जम्मा ४ प्रतिशतको हाराहारी छ । 
  • कुल राष्ट्रिय बजेटको जम्मा १०.६८ प्रतिशत रकम शिक्षामा छ । 
  • मुलुक भर ११ वटा विश्वविद्यालयहरु सञ्चालनमा छन् । यिनीहरुका १४०७ वटा क्याम्पसहरु छन् जसमध्ये जम्मा ९९ वटा आंगिक छन् । 
  • नेपाल अहिले जनसांखिक लाभको अवस्थामा छ । नेपालमा युवाहरुको संख्या कुल जनसंख्याको  करिब ४१ प्रतिशतको हाराहारी छ । सन् २०३१ सम्म नेपालको जनसंख्या करिब ३ करोड ३६ लाख पुग्ने प्रक्षेपण गरिएको छ । जस अनुसार विश्वविद्यालय जाने युवाहरुको संख्या कुल जनसंख्याको ३६ प्रतिशत पुग्ने अनुमान छ । 
  • विद्यालय तहमा भर्ना दर बढेको छ तर विश्वविद्यालयमा कुनै बेला १७.२ प्रतिशत भर्नादर रहेकोमा अहिले त्यो घटेर १२.५ प्रतिशतमा छ । यो निकै संम्वेदनशील विषय हो । 
  • नेपालबाट अर्बौं पैसा उच्च शिक्षाको लागि बिदेसिएको छ । हाम्रा प्रतिभाहरु पलायन भएका छन् । गत वर्ष मात्रै करिब ७० हजार (१ वर्षमा) जनाले विदेश अध्ययनका लागि अनुमति पत्र लिएका छन् ।  
नेता भट्टराईले तत्काल गर्नु पर्ने कामहरु बुँदा अन्तर्गत विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गर्दै निकट भविश्यमा रिक्त हुन गइरहेका ७ वटा विश्वविद्यालयका पधादिकारी छनोटको लागि अधिकार सम्पन्न स्वतन्त्र सर्च कमिटि अविलम्ब निर्माण गर्न माग गरेका हुन् ।

उनले योग्यता, क्षमता, कामको प्रस्तावना र प्रतिस्पर्धाको आधारमा उपकुलपतिदेखि विभागीय प्रमुखसम्मको नियुक्ति गर्ने आजसम्म अभाव रहेको ‘कानुनी प्रबन्ध’ समेत निर्माण गर्न नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेका हुन् ।

प्रवीणता तहको विस्थापन पछि गरिब, जेहेन्दार तथा न्युन आय हुने विद्यार्थीहरु विशेष गरी कक्षा ११ र १२ मा विज्ञान विषय पढ्न नसक्ने अवस्था सिर्जना भएको उनले औंल्याएका छन् ।

हुन पनि यस्तै भइरहेको छ । 

नेता भटट्राई भन्छन्, ‘त्यसैले, प्रत्येक निर्वाचन क्षेत्रमा अविलम्ब एक सामुदायिक विज्ञान मावि (कक्षा ११, १२) खोल्ने काम शुरु गर्न माग गर्दछु ।’

उनले सरकार समक्ष प्रत्येक प्रदेशमा कम्तीमा एक–एकवटा सामुदायिक मेडिकल तथा इन्जिनियरिङ क्याम्पस स्थापना गर्न माग गरेका छन् ।

हाल त्रिभुवन विश्वविद्यालय दयालाग्दो अवस्थामा पुगेको भन्दै मुलुकको पुरानो र ठुलो विश्वविद्यालयलाई जगेर्ना गर्ने, यसको स्तर उठाउने काम गर्न राज्यले ढिलाइ गरिरहेको छ ।

उनले राज्यलाई भने, ‘यो विश्वविद्यालयलाई तत्काल यसलाई रेस्क्यु गरिएन भने थप धराशयी हुने छ ।’

त्रिवि सुधारका लागि नेता भट्टराईले दिएका सुझावहरुः

  • माथि भनिए जस्तै त्रिभुवन विश्वविद्यालयमा समेत दलिय भागबण्डाको आधारमा हुने गरेको उपकुलपति देखि विभागीय प्रमुख सम्मको नियुक्तिको परम्परालाई तोड्नु अत्यावश्यक छ ।
  • क्षमता, योग्यता, कार्य दक्षता र कार्य योजना प्रस्तावनाको आधारमा खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारीहरुको नियुक्ति नै त्रिभुवन विश्वविद्यालय सुधारको पहिलो खुट्किलो हुनेछ ।
  • निकट भविष्यमा नै रिक्त हुन गैरहेको त्रि.वि. उपकुलपति लगायत अन्य पदाधिकारी नियुक्तिको लागि तत्काल सर्च कमिटि मार्फत छनोट प्रक्रिया थाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु ।
  • अनुसन्धानमा संलग्न नहुने प्राध्यापक बास्तबिक प्राध्यापक हुन सक्दैन तसर्थ प्राध्यापकहरुलाई पुर्णकालिन अनुसन्धानमा लाग्न अनिबार्य गर्दै आबश्यक अनुसन्धानकोषको प्रबन्ध गर्न र हेलमेट बोकेर निजि क्याम्पस धाउने परिपाटिको अन्त्य गर्न माग गर्दछु  ।
  • प्रध्यापकहरुको गरिमा बढाउन पेशागत उत्प्रेरणा जगेर्ना र आवश्यक परामर्श आदान प्रदान गर्नको लागि सम्माननीय प्रधान मन्त्रिज्यूले तिन महिनामा कम्तिमा एक पटक नियमित रुपमा विश्वविद्यालयहरुको अवलोकन भ्रमण र प्रोफेसर सँग संवाद गर्न सम्माननीय प्रधान मन्त्रिज्यूलाई यस सभा मार्फत हार्दिक अनुरोध गर्दछु । 
  • त्रि.वि.का अनुसन्धान केन्द्रहरु रिकास्ट, सिनास, सेरिड र सेडा अहिले प्रभाबकारी छैनन । त्यहाँ आबश्यक भौतिक तथा प्राज्ञिक स्रोतको ब्यबस्था गर्दै राज्यलाई आबश्यक पर्ने निती, नियम, अनुसन्धान र प्रबिधिको स्रोत केन्द्रहरुको रुपमा ति अनुसन्धान केन्द्रहरुलाई उपयोग गर्न माग गर्दछु । 
  • केन्द्रिय क्याम्पस कीर्तिपुरलाई उत्कृष्ट केन्द्र (Centre of Excellence) को रुपमा बिकास गर्न आबश्यक छ । बिदेशी रास्ट्र प्रमुखहरु मुलुकमा आउदा गर्बका साथ विश्वविद्यालयमा भ्रमण गराई हाम्रा विद्यार्थी संग अन्तरक्रिया गर्ने बाताबरण नबनाउदा सम्म विश्वविद्यालयको अन्तराष्ट्रिय छबि बन्न सक्दैन । 
  • तत्काल केहि सुधार र केहि निर्माण प्रक्रिया अगाडी बढाउन सक्दा केन्द्रिय क्याम्पस किर्तिपुर र बिश्वबिधालय परिसरलाई सुन्दर र गर्व गर्न लायक बनाउन सकिन्छ ।
निम्न कुराहरु प्रति बिश्वबिधालय प्रशासनको ध्यानकर्षण गराउदै आबश्यक स्रोतको लागि नेपाल सरकार, अर्थ मन्त्रालय संग अनुरोध गर्दछु ।

१) त्रि.बी गेटदेखि किर्तिपुर बजार सम्मको सडकलाई फुटपाथ र साइकल लेन सहित बिस्तार र स्तरोन्नति गर्ने । 
२) छात्र र छात्रा दुवै तर्फका छात्राबासहरुको मर्मत सम्भार, रंगरोगन र क्षमता बिस्तार गर्ने । 
३) सुबर्ण पार्क देखि ब्यबस्थापन केन्द्रिय बिभाग हुदै अन्य विभागहरुमा जाने सडकहरु अत्यन्त कमजोर अवस्थामा छन् ति सडकहरुको स्तरोन्नति गरि  छेउमा रुख र फुलहरु रोपेर सन्दरिकरण गर्ने । 
४) सबै विभागहरुका भवनहरुलाई मर्मत सम्भार र रंगरोगन गर्ने । 
५) सबै शौचालयहरुको मर्मत सम्भार, नियमित सरसफाई र पानीको प्रबन्ध गर्ने । 
६) आधुनिक  क्याफेटेरिया निर्माण गर्ने । टहरामा रहेका क्याण्टिनलाई ब्यबस्थित गर्ने ।
७) पुस्तकालयलाई अत्याधुनिक रुपमा ब्यबस्थित गर्ने र स्तरिकरण गर्ने । यसको परिसरलाई सुन्दर र मनोरम बनाउने । 
८) विश्वविद्यालय, संकाय, बिभाग, परिक्षा नियन्त्रण कार्यालय लगायत सबै निकायहरुलाई परम्परागत कार्यशैली र ब्यबस्थापनबाट मुक्त गर्दै डिजिटलाइज्ड  गर्न आबश्यक आर्थिक भौतिक प्रबन्ध गर्ने । 
९) त्रि.वि. परिसरको खालि जग्गामा व्यबस्थित प्रागिक पार्कको निर्माण गर्ने ।
१०) अतिक्रमित जग्गा फिर्ता गर्ने र सम्पुर्ण जग्गामा कम्पाउण्डिङ्ग गर्ने ।

OOO

 

To see front face coverage, click here



प्रकाशित: २०७६ साउन १७
August 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार