नेपाली समय: ०१:०१:०६ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

सेनाको समीक्षा वैठकः जिम्मा लिएको पूर्वाधार निर्माण कार्यको शतप्रतिशत प्रगति भएको विवरण पेस !

निर्माण सञ्चार, १७ साउन, काठमाडौं । पछिल्ला दिनमा नेपाली सेना मुलुकको पूर्वाधार निर्माणको समेत सारथि बन्दै आइरहेको छ ।

सरकारका मार्फत् उसले जिम्मा लिएको पूर्वाधार निर्माणको प्रगति पनि तुलनात्मक सन्तोषपूर्ण देखिएको रक्षामन्त्रालयको समीक्षा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन करार गरेलगत्तै सबैभन्दा पहिले रक्षा मन्त्रालयले नै कार्यसम्पादन प्रगति विवरण सेनासँग मागेको हो । 

भौतिक पूर्वाधारको जिम्मा लिएर समयमै काम सम्पन्न नभइरहेको भन्ने चौतर्फी आलोचना बढिरहेकै बेला रक्षा मन्त्रालयले नेपाली सेना मार्फत् चालू पूर्वाधार निर्माणको प्रगतिको लोखाजोखा भएको रक्षा मन्त्रालय स्रोतले जानकारी दियो ।

कार्य सम्पादन करार गर्दै गर्दा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मातहतका सबै विभागहरुलाई ‘नयाँ नियमावली नआएसम्म आफूखुसी नयाँ ठेक्का नलगाउनू’ भनी निर्देशन दिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै सिसी क्यामेरा मार्फत् राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति आफैले अनुगमन गर्ने ‘एक्सनरिज मुभ’ लिएका प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको अघिल्लो वर्षमा अपेक्षाकृत प्रगति हुन नसकेको समीक्षा गर्दै कार्यकाल अझै फलिभूत गर्न मन्त्रीहरु मार्फत् नै कार्यसम्पादन करार गरेर अघि बढेका हुन् ।

यसै अन्तर्गत प्रधानमन्त्रीको समृद्धि अभियानलाई टेवा पुराउने गरी काम गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मातहत सैनिक निकायहरुलाई निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा कार्यसम्पादान करार लगत्तै रक्षा मन्त्रालयले माग्यो भौतिक प्रगतिको यथार्थ विवरण

रक्षा मन्त्रालयमा आफ्नो अध्यक्षतामा बिहीबार बसेको मन्त्रालय र अन्तर्गत निकायहरूबाट आर्थिक वर्ष २०७५–७६ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठकमा रक्षामन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलले निर्धारित लागत र समयमै जिम्मा लिएको निर्माण कार्य सम्पन्न गर्नेतर्फ लाग्न रक्षा मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका थिए ।

‘आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयमै कार्यक्रम सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिनोस, परिणामलाई ख्याल गर्नाेस्’, विभागीय प्रमुखहरूलाई निर्देशन दिँदै उपप्रम पोखरेलले भने ।

आर्थिक वर्ष २०७५–७६ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको समीक्षा बैठकमा रक्षा मन्त्रालय¸ नेपाली सेना र सो मातहतका निकायहरूबाट गत आर्थिक वर्षमा सञ्चालित विभिन्न विकास कार्यक्रम तथा आयोजनाहरूको समग्र वित्तीय तथा भौतिक प्रगति¸ आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरू एवं सम्बोधन गर्नुपर्ने मुख्य विषयहरू तथा राष्ट्रिय विकास समस्या समाधान समितिको ४३‚४४ र ४५ ‍औँ बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन स्थिति सम्बन्धमा विस्तृत छलफल भएको थियो । 

सेनाले लिएको काम ९५ प्रतिशत बढी प्रगति !

यद्यपि निजगढ काठमाडौं फास्ट ट्र्याकबारे अझै पनि डिपिआर समेत टुंगिएको छैन भने निर्माण कार्यको अन्तिम चरणको काम सम्पन्न भइसकेको छैन, तर नेपाली सेनाले भने आफ्नो समीक्षा वैठकमा ९५ प्रतिशत भन्दा माथि प्रगति भएको डाटा पेस गरेको छ ।

उक्त समीक्षा वैठकमा नेपाली सेनाले मन्त्रालय र नेपाली सेना अन्तर्गत सञ्चालित अधिकांश आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगति ९५ प्रतिशत भन्दा बढी रहेको¸ राष्ट्रिय गौरवका र राष्ट्रिय महत्त्वका आयोजनाहरूको प्रगति १०० प्रतिशतको हाराहारीमा रहेको प्रतिवेदन प्रस्तुत पेस गरेको छ ।

‘नेपाली सेनाबाट निर्माण भइरहेको काठमाण्डौ(तराई मधेश द्रुतमार्ग¸ कर्णाली करिडोर¸ कालीगण्डकी करिडोर¸बेनीघाट–आरुघाट(लार्केभञ्ज्याङ करिडोर र जाजरकोट-डोल्पा (दुनै) सडक लगायत विभिन्न भौतिक पूर्वाधारहरू निर्माण तर्फ लक्ष्यको शतप्रतिशत प्रगति हासिल भएको’ उल्लेख छ ।

वैठकमा म्बन्धित आयोजना प्रमुखहरूले प्रकियागत कारणले कतिपय आयोजना तथा कार्यक्रमको वित्तीय प्रगति भौतिक प्रगतिको तुलनामा केही कम देखिए पनि भौतिक प्रगति भने लक्ष्य अनुरूप नै हासिल भएको’ दाबी पेस गरेका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले गत आर्थिक वर्षमा रक्षा मन्त्रालय र नेपाली सेना र यस अन्तर्गतका निकायहरूबाट हासिल भएका उपलब्धिहरू महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्दै राष्ट्रिय सुरक्षा नीति‚ २०७५ जारी हुनु¸ प्रतिरक्षा नीतिको मस्यौदा तयार हुनु तथा काठमाण्डौं-तराईरमधेश द्रुतमार्ग सडक आयोजना निर्माणको कामले गति लिनु तथा दुर्गम जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी विभिन्न कोरिडरहरूको निर्माण हुनु जस्ता कार्यहरूलाई गौरवका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।

सेनाले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपाली भन्ने राष्ट्रिय सोच तथा पन्ध्रौँ योजनाको लक्ष र उद्देश्यलाई हासिल गर्ने गरी भिजन-२०३० तयार गरेको र यसको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायको सहयोग आवश्यक पर्ने प्रधानसेनापति थापाको भनाइ छ ।

उक्त समीक्षा वैठकमा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय¸ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत निकायका प्रतिनिधिहरू तथा नेपाली सेनाका विभिन्न निर्देशनालयका प्रमुखहरूले मन्तव्य दिएका थिए ।


०००

पढौं यो पनि



To See Front Face Coverage, Click here



प्रकाशित: २०७६ साउन १७
August 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार