
बाग्लुङको तुरतुरे ताल फुट्दा मध्यपहाडी राजमार्ग नै बग्यो, आवत-जावत बन्द
निर्माण सञ्चार, २० साउन, ०७६, काठमाडौं । बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग नै बगाएको छ। गुल्मीसँग सिमाना जोडिएको उक्त ताल फुटेर राजमार्गमा नै क्षति पुर्याएपछि आवतजावत बन्द भएको छ। अबिरल वर्षाका कारण तालमा पानीको चाप बढेपछि सोमबार बिहान करिब दुई बजेतिर ताल फुटेर राजमार्गमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार ताल फुटेसँगै बडिगाड गाउँपालिकाको भिमगिठेमा मध्यपहाडी राजमार्गको २ सय मिटर पिच बाटोसमेत बगाएको छ । उनले भने,‘ राजमार्गको बाटो ताल फुटेर बगाएपछि गुल्मी हुँदै बाग्लुङ–बुर्तिबाङतर्फ आवत–जावत अवरुद्ध भएको छ।’
ताल फुटेर बाढी आएपछि नदी किनारमा रहेका बाग्लुङका भिमगिठे, खारा, खरबाङ र गुल्मीका भुवाचिदी, मजुवा चोरकाटे, उल्लीखोला, रिडीसम्मका नदी किनारका मानिसहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।बडिगाट गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तुरतुरे भन्ने स्थानमा चट्टानसहितको ठूलो पहिरो खोलामा खसेर ताल बनेको थियो । सो तालमा पर्यटन व्यवसायीहरुले डुंगा समेत सञ्चालन गर्दै आएका थिए । गत वर्ष भदौमा पहिरो खसेर बनेको कृत्रिम ताल तुरतुरे एक वर्षपछि फुटेको हो ।
प्रकाशित: २०७६ साउन २०
प्रकाशित: २०७६ साउन २०
प्रतिक्रिया दिनुहोस्