नेपाली समय: ०४:४७:४८ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

बाढी पहिरोले कुन क्षेत्रमा कति क्षति, मर्मत गर्न आधा अर्बको बजेट आवश्यक

निर्माण सञ्चार, २६ साउन, काठमाडौं । अबिरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रमा क्षति भएका सडक र पुलको विद्यमान अवस्थाका बारेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी गराएका छन्। 

उनले बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ भने बाढी आएको अधिकांश स्थानको सडकमा मर्मत संभार गर्नुपर्ने बताए। विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यस्तो जानकारी दिएका हुन् ।

सडक र पुलको अवस्था हेर्दा पुर्ननिर्माणको लागि झन्डै आधा अर्बको बजेट आवश्यक पर्ने देखिएको छ। मन्त्री महासेठले भने,‘ क्षतिग्रस्त सडक र पुलनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ।’

बैठकमा मन्त्री महासेठले वर्षाले क्षति पुर्‍याएका सबै सडक तथा पुलहरुको पुनर्निर्माणको जिम्मेवारी सरकारले लिने बताए। त्यसका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भइरहेको जानकारी उनले स्पष्ट पारे।

समितिले वर्षाको कारण क्षतिग्रस्त सडक र पुलहरु तत्काल मर्मत गर्न मन्त्रालयलाई निर्देशन पनि  दिएको छ । दशैं, तिहार, छठजस्ता चाडपर्वलाई समेत ध्यानमा राखेर वर्षाले क्षति पुर्‍याएका संरचनाहरु तत्काल बनाएर नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।



प्रकाशित: २०७६ साउन २६
August 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार