नेपाली समय: ०४:४७:३३ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

पूर्वपश्चिम राजमार्गमा पुल भाँचिएपछि वैकल्पिक बाटो निर्माण

निर्माण सञ्चार, ३० साउन, काठमाडौं ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिएपछि  वैकल्पिक बाटोनिर्माण गरिएको छ।

मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा बुधबार बिहान ४ बजेको समयमा ट्रक ठोक्किदां पुलमा क्षति पुगेपछि वैकल्पिक बाटोनिर्माण गरिएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो निर्माण गरी सञ्चालनमा ल्याइएको छ।

उनका अनुसार अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँमा रहेको खोलामा वैकल्पिक बाटो  निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो।

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ। ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले बताए।

भाँचिएको पुल मर्मतका लागि समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताए। पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उनले बताए ।

ना ६ ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा करिब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो। अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरी निरीक्षक अधिकारीले बताए।



प्रकाशित: २०७६ साउन ३०
August 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार