नेपाली समय: ०१:०४:२८ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

लगातार किन बढिरहेको सुनको मूल्य?

निर्माण सञ्चार, ३० साउन, काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। केही दिन स्थिर रहेको सुनको भाउ बिहीबार १ हजार हजार २ सय रुपियाँले बढेको छ। मंगलबार सुन प्रतितोला ७१ हजार रुपियाँमा कारोबार भएको थियो भने बुधार घटेर प्रति तोला ७० हजार ३ सयमा भएको थियो।  तर बिहीबार भने फेरि सुनको भाउ उकालो लागेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एक्कासी यती धेरै मूल्य बृद्धि भएसँगै आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। यो मूल्य अहिले सम्मको उच्च मूल्य बृद्धि भएको महासंघले जनाएको छ।

सुनको मूल्य बढेसँगै सुन किन्ने भन्दा पुरानो सुन बेच्ने ग्राहकको भिड् बढेको व्यवसायीहरु बताउँछन्।

अमेरिका इरानबीचको बढ्दो तनाव तथा अमेरिका चीन व्यवपार युद्धको असर अन्तर्राष्ट्रिय सेयर बजारमा परेको र सुनको मूल्य पनि प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन्।

सुनको मूल्य अकासिँदा त्यसको मार विपन्न राष्ट्रमा बढी पर्ने गर्छ। बज्राचार्य भन्छन  भन्छन्, ‘यस्तो बेला जोसँग स्टक छ। उसैले कमाउने हो। हालसम्मको विवरण अनुसार सबभन्दा बढी सुन अमेरिकासँग नै छ।’ सुन महँगो हुँदा नेपाल जस्ता मुलुकमा उपभोक्ताले अतिरिक्त रकम खर्च गर्नुपर्ने हुन्छ। सर्वसाधारणको क्षमता भन्दा बढी रकम खर्चेर सुन खरिद गर्नुपर्ने भएपछि कारोबार गर्ने हैसियत रहँदैन। जसले गर्दा कारोबार ठप्प हुने गर्छ। ‘गरिब मुलुकका उपभोक्ता र व्यवसायीका लागि सुनको मूल्य वृद्धि हुनु भनेको घाटा मात्रै हो,’ उनले भने, ‘तर, यस्तो अवस्थामा हाम्रो मुलुकले गर्न सक्ने केही हुँदैन।’

त्यस्तै ट्रेड वार तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढ्दै गएको हो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ ६ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ।



प्रकाशित: २०७६ साउन ३०
August 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार