नेपाली समय: १२:५६:५७ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

सांसद महतले संसद हल्लाएपछि विद्युत प्राधिकरणले दियो डिजेल प्लान्ट

निर्माण सञ्चार, ३१ साउन, जुम्ला । नेपाल विद्युत प्राधिकरणले जुम्लाको लोडसेडिङ हटाउनका लागि डिजेल प्लान्ट दिएको छ। ३ सय किलोवाट क्षामताको डिजेल प्लान्ट बुधबार जुम्ला आएपछि यहाँका जनता हर्षित भएका छन् । उर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेको दुई साताभित्र डिजेल प्लान्ट जुम्ला आइपुगेको हो। 
 
जुम्लाका प्रतिनिध सभा सांसद गजेन्द्र बहादुर महतले साउन २१ गते बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ जुम्लाको समस्याप्रति गम्भीर नभएको टिप्पणी गर्दै सरकारको आलोचना गरेका थिए।

जुम्लाको लोडसेडिङ समस्यालाई बेवास्ता गरेको भन्दै राहतका लागि फोन गर्दा समेत नउठाउने, कुरै नसुन्ने, जुम्ला नेपालको जिल्लानै होइन जस्तो व्यवहार उर्जामन्त्री पुन र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गरेको भन्दै उनले सरकारको संसदमै  आलोचना गरेका थिए ।  

सांसद महतले आलोचना गरेको दुुइसातामै प्राधिकरणले जुम्लाका लागि तीन सय किलोवाटको डिजेल प्लान्ट पठाएको हो । डिजेल प्लान्टसँग एकजना प्राविधिक समेत आएका छन् ।  केही दिनमै प्लान्ट जडान हुने प्राधिकरण जुम्ला शाखाले जनाएको छ । 

यस अघि १ सय ६० केभीको डिजेल प्लान्ट जडानको लागि सांसद महतले संसद विकास कोषबाट  जुम्लालाई राहात दिएका थिए । तर त्यो अपुग भएपछि संसदमा आलोचना गर्दा ठुलो क्षामता डिजेल प्लान्ट जुम्ला आएको हो । अब केहि दिनमै जुम्ला पुर्ण रुपमा उज्यालो हुने साना जलविद्यत उपभोक्ता समितिले जनाएको छ । 

तीन दशकअघि निर्माण भएको साना जलविद्युत आयोजनामा नयाँ मेसिन जडान गर्न गत कात्तिकदेखि विद्युत आपूर्ति बन्द गरिएको थियो । तर, नयाँ मेसिन जडान गर्ने क्रममा बेरिङ भाँचिएको थियो । जसले गर्दा विद्युत आपूर्ति सहज हुन सकेको छैन । 

मेसिन मर्मतका लागि धनगढी पठाएको साना जलविद्युत उपभोक्ता समिति अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए । नयाँ मेसिन जडानका लागि नेपालस्थित भारतीय दूतावासले सहयोग गरेको थियो । भारतीय कम्पनी पासी शुभकामना जेभीलाई जडानको ठेक्का दिइएको थियो ।

जसमा भारतीय दूतावासले दुई करोड ६३ लाख ७७ हजार र साना जलविद्युत उपभोक्ता समितिको ४५ लाख २२ हजार नौ सय रहेको छ । नयाँ मेसिनको बेरिङ भाँचिएपछि डिजेल प्लान्ट जडान गरिएको छ । उपभोक्ता समितिले स्थानीय पूर्वाधार कोषको २६ लाख ४० हजार खर्च गरेर १६० किलोवाटको  डिजेल प्लान्ट जडान गरिएको हो ।

OOO

 

To See front face coverage, click here



प्रकाशित: २०७६ साउन ३१
August 16th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्