नेपाली समय: ०४:४६:३९ बिहान
वि.सं २०७६ भाद्र ३१   मंगलवार

सडक जीर्ण हुँदै गएपछि यातायात सञ्चालनमा कठिनाइ

निर्माण सञ्चार, १ भदौं, काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीको सडक दिनानुदिन जीर्ण हुँदै गएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ। नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण हुँदै गएको छ । सडकको दूरावस्थाका कारण यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई निकै समस्या हुने गरेको छ।

हिलोमा सवारीसाधनका चक्का गाडिएर एउटा मोटर पार गर्न घण्टौँ लाग्ने गरेको छ। डिभिजन सडक कार्यालयले मेशिन उपकरण प्रयोग गरेको भनिए पनि भएका उपकरणले हिलो सडकमा थप हिलो मात्र बनाउने काम भइरहेकाले ग्राभेल ढुङ्गाको व्यवस्था गर्न स्थानीयवासीले आग्रह गरेका छन् ।  

पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने उक्त सडक सुधारका लागि गत साउन महिनामा सडक विभागअन्तर्गत उपकरण महाशाखाबाट रसुवा पठाइए पनि ती उपकरण अफिस समयमा मात्र गुड्ने र भन्सार शुल्क तिरेर आएका सिलबन्दी मालबाहक कन्टेनर डिब्बा सधैँ हिलो पार गर्न नसकेर हैरानी हुने गरेको चालकको गुनासो छ ।

राजमार्गको खोपाङ भिरका सतह बढी हिलो भएकाले ग्राभेलका लागि डिभिजन सडक कार्यालय नुवाकोटमा ताकेता भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले सडकको व्यवस्थापनका लागि ग्राभेल व्यवस्थापनमा गाउँपालिकाले समेत सहयोग कार्य अगाडि बढाएको जानकारी दिए । 

 



प्रकाशित: २०७६ भाद्र १
August 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार