नेपाली समय: ०३:३३:५१ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

गोर्खा ब्रुअरीको कर छली प्रकरण : उच्च अदालतका न्यायाधीश अधिकारीले दिए राजीनामा

निर्माण सञ्चार, २ भाद्र, काठमाडौं । काल्सवर्ग, टुवोर्ग, गोरखा लगायत वियर उत्पादन गरेर विक्री-वितरण गर्दै आएको कम्पनी गोर्खा ब्रुअरीको कर छली प्रकरणमा छानबिनका लागि तानिएका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन्।

 न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ। घरायसी समस्याका कारण राजीनामा दिएको भनिए तापनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि उनी छानबिनमा परेका थिए।

उनले ४० वर्ष न्याय सेवामा काम गरे। गोर्खा ब्रुअरीको मुद्दामा क्षेत्राधिकार मिचेर फैसला गरेको भन्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलाशले अधिकारी सहित तीनजना न्यायाधीशलाई कारवाही गर्ने आदेश सुनाएको थियो। अहिले न्यायाधीशहरुले क्षेत्राधिकार मिचेको भन्दै न्याय परिषद्ले सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा छानविन समिति गठन गरी छानविन चलिरहेको छ।

कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई दुई वर्षको जर्ती वापतको कर ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैयाँ तिर्न पत्राचार गरेपछि गोर्खा ब्रुअरी नियम विपरित उच्च अदालत पोखरामा रिट दायर गरेको थियो। उच्च अदालत पोखराले गत असार ११ गते न्यायधीशद्वय जिवनहरि अधिकारी र नरबहादुर शाहीको सयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्दै कर निर्धारण नगर्न फैसला सुनाएका थिए।।



प्रकाशित: २०७६ भाद्र २
August 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार