नेपाली समय: ०१:०५:०२ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

टाट पल्टिएको कम्पनीसँग सरकारले गर्यो सम्झौता, कड्किए सत्तारुढ सांसद

निर्माण सञ्चार, २ भाद्र, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले सरकारको पछिल्लो रवैयाको आलोचना गरेका छन्।

माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै नेकपा सांसद वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल र देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले सरकारको चर्को आलोचना गरेका हुन्।

पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको माथिल्लो कर्णाली र बुढीगण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण सम्बन्धी बहसमा बोल्दै नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै खेलवाड गर्ने काम गरेकोप्रति आपत्ति जनाए।

कार्यक्रममा उनीहरुले टाट पल्टिएको भारतीय कम्पनी जिएमआरलाई माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण सम्झौता नेपालको अहितमा रहेको बताए। नेकपा नेता रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरि राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गरे। उनले भने, 'अब जिएमआरलाई म्याद थप हुँदैन।'

वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पुर्ण प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताए। उनले सानालाई कारवाही र ठुला तथा विदेशी कम्पनीलाई छुट दिने विषय आफुहरुलाई स्वीकार्य नहुने भन्दै उनले यससम्बन्धमा सरकार हुनुपर्ने धारणा राखे।

कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जिएमआरलाई म्याद थप गरियो भने त्यसविरुद्ध नेपाली जनता आन्दोलनमा उत्रने चेतावनी दिए। उनले राष्ट्रिय स्वाधिनतामाथि खेलवाड गर्ने काम नगर्न सरकारलाई सचेत गराए।

 



प्रकाशित: २०७६ भाद्र २
August 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार