नेपाली समय: १०:५३:४१ राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

पन्ध्र दिनसम्म पनि खुलेन काठमाडौं विश्वविद्यालयमा तालाः भिसीलाई विदेश घुम्न भ्याई नभ्याई

निर्माण सञ्चार, ५ भाद्र, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेको पन्ध्र दिन पुगेको छ ।

तर, ताला खुलाउन पहल नगरी उपकुलपति रामकण्ठ माकाजु नेतृत्वको टोली आइतबार दक्षिण कोरिया भ्रमणमा गएका छन्  ।

माकाजुसँगै डा. विष्णुप्रसाद पाण्डे, डा. संगीता शाक्य र सुनन्दा शर्मा आइतबार कोरिया गएका हुन् ।

यसैगरी डा. दीपकप्रसाद सुवेदी, डा. विराजमान कर्माचार्य, शैलेन्द्र कुमार झा, सरोजप्रसाद श्रेष्ठ, बिजेन्द्र श्रेष्ठ र डेजिना श्रेष्ठ भने शनिबार नै कोरिया गइसकेका थिए  ।

माकाजुसहितको टोली भदौ ५ गते र सुवेदीसहितको टोली भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

तालाबन्दी खुलाउन पहल नगरी विदेश भ्रमणमा व्यस्त भएको भन्दै आन्दोलनरत कर्मचारीहरुले विरोध गरेका छन् । 

विश्वविद्यालयका एक कर्मचारीले भने, ठूलो कार्यक्रम पनि होइन, केही विश्वविद्यालयको अवलोकन गर्ने मात्र हो, तर पनि तालाबन्दी खुलाउन पहल नगरी केही विभागीय प्रमुखहरु सहित उपकुलपति  विदेश यात्रामा गयका छन् ।

विश्वविद्यालयले आफूहरुसँग विभिन्न समयमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

०००



प्रकाशित: २०७६ भाद्र ५
August 22nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार