नेपाली समय: ०६:५०:४१ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

नेपाली वस्तुले पायो भारत निर्यातका लागि सहज वातावरण

निर्माण सञ्चार, ६ भाद्र, काठमाडौं । नेपालबाट भारत निर्यात हुने झण्डै दुई दर्जन खाद्य पदार्थ, फलफुल तथा तरकारीको गुणस्तर परिक्षणलाई भारतको फुड सेफ्टि एन्ड स्ट्याण्डर अथोरीटि अफ इन्डियाले नेपालको नेसनल फुड एन्ड फीड ल्याब्रोटरी काठमाडौंबाट परीक्षण भई जारी भएको गुणस्तर प्रमाणलाई मान्यता दिने निर्णय गरेको छ ।

नेपालबाट भारत निकासी हुँदै आएका यस्ता वस्तुहरुको गुणस्तरको कारण देखाई समय–समयमा भारतीय भन्सारमा रोकिने गरेकोमा यस निर्णयबाट यी वस्तुहरुको भारत निकासी सहज हुने विश्वास परिसंघले लिएको छ र भारतको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट प्राप्त यस सम्बन्धी औपचारीक जानकारी अनुसार, फुड सेफ्टि एन्ड स्ट्याण्डर रेगुलेसन्स, २०११ अनुसार अबदेखि नेपालको नेसनल फुड एन्ड फीड ल्याब्रोटरी काठमाडौंको परिक्षणलाई पनि फुड सेफ्टि एन्ड स्ट्याण्डर अथोरीटि अफ इन्डियाको परिक्षण सरह मान्यता दिइने भएको छ ।

यो मान्यताले नेपालबाट भारत निर्यातमा देखिएको गैरकर अवरोध कम भइ निर्यात व्यापार सहज हुने छ ।

भारतको गुणस्तर प्रमाणीकरणको निर्णय अनुसार नेपालबाट भारत निर्यात हुने वस्तुहरु मध्ये– जुस, जाम, जेली, अचार, क्याण्डिज, इन्स्टाण्ट नूडल्स, विस्कुट, इन्फुन्ट फूड, दूध, स्किमड होल मिल्क पाउडर, कन्डेन्सेड मिल्क, आइसक्रिम, गुलियो दही, प्रशोधित मासु एवं मासुको उत्पादन, अदूवा, अलैँची, बेसार, चीया, कफी, मह र ताजा फलफूल तथा तरकारी गरी २१ वस्तु समेटिएका छन् ।

नेपालको भारतसँगको बढ्दो व्यापार घाटा केही कम गर्न यस्ता वस्तुको नेपालको गुणस्तरलाई मान्यता दिइनु पर्ने माग परिसंघले उठाउँदै आएको सन्दर्भमा हाल भारत सरकारबाट भएको यस निर्णयले निर्यातमा थप सहजता पुग्ने विश्वास परिसंघले लिएको छ ।

०००
 



प्रकाशित: २०७६ भाद्र ६
August 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार