नेपाली समय: ०१:०२:२१ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

प्रधानमन्त्रीको ग्यास विस्थापन अभियानमा पहिलो बन्यो काभ्रेको तिमाल गाउँः यसरी सुरु भयो ग्यास चुलो विस्थापन अभियान

निर्माण सञ्चार, ७ भदौ, ०७६, काठमाडौं । विकासे चर्चा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले गएको चुनावताका भन्ने गरेमध्यको एक नारा हुन्थ्यो, ग्यास विस्थापन । अझै उनले त घर घरमै पाइपलाइन पुर्याउनेसम्मका भाषण दिएका थिए ।

वास्तवमै यो कुरा अब सपना नभई साकार रुप लिएको छ । देशैभर नभए पनि काभ्रे तिमालवासीले भने आफ्नो समुदायमा ग्यास विस्थापन सुरु गरेका छन् ।

तिमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोग अभियान थालिएको छ ।

सामुदायिक विद्युतीकरण अन्तर्गत यो अभियान सुरु भएको हो । शनिबार मात्र तिमाल सामुदायिक विद्युत सहकारी संस्थाले सुरु गरेको यस अभियानलाई साथ दिदै नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्दँेशक कुलमान घिसिङले ग्यास विस्थापन गर्न चुल्हो वितरण गरेका हुन् ।
यो अभियान जिआइजेड र समादायिक विद्युत उपभोक्ता महासंघको सहयोगमा अघि बढेको हो ।

अभियान यसरी 

उक्त सहकारीले यो चरण अन्तर्गत आफ्ना ग्राहक मध्ये ५ सय परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको हो । ६७ सय रुपियाँमा इन्डक्सन चुल्होसहित त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के पनि वितरण गरिएको आयोजकले बतायो ।

तिमाल सामुदायिक विद्युत सहकारीले बताए अनुसार आफ्ना ५५ सय परिवारलाई एलपी ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने छ । 
तिमाल गाउँमा पुग्दा प्रति सिलिन्डर ग्यासको मूल्य १८ सयभन्दा बढी पर्ने गरेको स्थानीय बताउँछन् । तर, इन्डक्सन चुल्हो प्रयोग गर्दा पैसा सस्तो पर्न जाने छ ।

दिनमा १–२ युनिट बिजुली खपत गर्दा खाना र खाजा बनाउन सकिने र ग्यासको तुलनामा विद्युत उपभोग सस्तो हुने छ । 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ अब यो अभियान देशैभर चलाउने बताउँछन् । यसले नेपालमै उत्पादित विद्युतको अधिकतम् खपत गर्ने सरकारी लक्ष्यलाई समेत सहयोग पुर्याउने छ ।

मुलुकलाई आत्मनिर्भर बनाउने अभियानको सुत्रपात भएको घिसिङको भनाइ छ ।

आउने दिनमा नियमित विद्युत आपूर्ति गराउन प्राधिरकणले उत्पादन बढाउने, आपूर्ति सहज गर्ने, सबस्टेन र ट्रान्सर्फमरको क्षमता बढाउने, प्रशारण तथा वितरण लाइनलाई सुधार गर्ने काम द्रुत गतिमा अघि बढे्ने उनको भनाइ छ ।

कार्यक्रममा तिमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तमाङ गाउँपालिकाले यस अभियानलाइ सघाउने बताए ।

 

०००



प्रकाशित: २०७६ भाद्र ८
August 25th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार