नेपाली समय: ०१:००:१७ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

डिपिआरको काम गर्ने मजदुरलाई 'बाउन्स' चेक

निर्माण सञ्चार, ८ भदौ, ०७६, काठमाडौं । जाजरकोटमा एक  हाइड्रो पावर कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर) को काम गर्ने मजदुरले महिनौदेखि ज्याला पाएका छैनन् । नलगाड हाइड्रो पावर कम्पनीको डिपिआरको काम गर्न खटिएका मजदुरले ज्याला नपाएको गुनासो गरेका छन्।

निर्माण कम्पनीले सात लाख रुपियाँ भन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताए। बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युतगृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएपछि समस्या भएको छ।

दुई महिनादेखि रकम नभएको खाली चेक(बाउन्स चेक) दिएर ढाँटीरहेको मजदुर नलगाड नगरपालिका–५ का शेरबहादुर सिंहले बताए। कम्तिमा पनि एक मजदुरको ७० हजारभन्दा बढी रकम निर्माण कम्पनीले भुक्तानी गर्न बाँकी रहेको छ।

३० महिनामा सम्पन्न गर्ने शर्तसहित अष्ट्रेलियाको स्मेक, अमेरिकाको एमडब्लुएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डिपिआर गर्न नलगाड जलविद्युत् आयोजनासँग सम्झौता गरेका थिए।  ती कम्पनीबाट अर्को निर्माण व्यवसायी वसन्त डिसीले अहिले कामको जिम्मेवारी लिएर गरिरहेका छन्।

कम्पनीले ड्रिलिङकार्य ९० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आँकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको आयोजनाका इञ्जिनीयर पदम थापाले बताए।

कन्ट्रक्सनका वसन्त डिसीले यहाँ काम गर्ने मजदुरलाई पटक–पटक खाली चेक दिएर झुक्याउने गरेको अर्का बारेकोट गाउँपालिका–८ अधेरीखोलाका मोहन सिंहले बताए।



प्रकाशित: २०७६ भाद्र ८
August 25th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार