नेपाली समय: ०१:०५:१६ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

एशियाली विकास बैंकको लगानीमा विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा

निर्माण सञ्चार, ९ भाद्र, काठमाडौं । एशियाली विकास बैंकको लगानीमा पुथा उत्तरगङ्गा गाउँपालिकाले विद्युत् निकाल्ने तयारीमा जुटेको छ । गाउँपालिकामा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने तयारीका साथ आवश्यक काम धमाधम भइरहेको छ।

गाउँपालिकाका अनुसार पुथा उत्तरगङ्गा–११ सेरामा एक मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिने छ। विद्युत् उत्पादनको लागि यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए। उनका अनुसार गाउँपालिकाको पाँच करोड रुपियाँ र एशियाली विकास बैंकको २८ करोड रुपियाँ गरी जम्मा ३३ करोड रुपियाँको लगानीमा आयोजना निर्माण हुनेछ । 

एक मेगावाट विद्युत् क्षमताको विद्युत् उत्पादन गरी गाउँपालिकालाई झिलीमिली बनाई बाहिर विद्युत् निर्यात गर्ने उद्देश्य रहेको गाउँपालिकाले बताएको छ।अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा अझै विद्युत् सुविधा पुग्न सकेको छैन। 

एक मेगावाटको विद्युत् आयोजना निर्माण भएपछि ती सबै साना आयोजनालाई पनि राष्ट्रिय प्रशारणमा जोडिनेछ । डेढ वर्षभित्र काम सम्पन्न गरिसक्ने गरी एशियाली विकास बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ।



प्रकाशित: २०७६ भाद्र ९
August 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार