नेपाली समय: ०१:०२:३५ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

कालिकोटमा पहिरोको कहर, एक करोडको क्षति

निर्माण सञ्चार, १२ भदौ, ०७६ जुम्ला । कालिकोटको तिलागुफा नगरपालिका ७ छाप्रेको ढाँडखोलामा गएको भीषण पहिरोबाट झण्डै  एक करोडको क्षति भएको छ । पहिरोबाट भएको यकिन क्षतिको विवरण संकलन गरी तयार मुचुल्काअनुसार ९३ लाख ३० हजार बराबरको क्षति भएको कालिकोटका डिएसपी  श्यामबाबु ओलीयाले बताए। उनका अनुसार कर्णालीमा अहिलेसम्मकै यो ठुलो विनाशकारी पहिरो हो ।

तिलागुफा नगरपालिका ७ का झण्डै १८ परिवारको ठूलो धनराशीको क्षति भएको छ ।

जसमा, तिलागुफा नगरपालिका ७ का हर्षबहादुर शाहीको कच्ची घर, खेतबारी, अन्न कपडा गरी १० लाख, सत्यबहादुर शाहीको कच्ची घर, अन्न, कपडा, २० पाथीको धान रोपेको खेतबारी, सुधारिएको पानी घट्ट गरी १५ लाख, अक्कलबहादुर शाहीको दुई तले पक्की घर, २५ पाथी धान रोपेको खेत, ४ वटा बाख्रा गरी १५ लाख, रिठु शाहीको दुई तले टिनको छाना भएको घर, १२ वटा कुखुरा, ४ वटा खरायो, भाँडाकुडा, धान खेत गरी १२ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।

यस्तै, तिलागुफा ७ कै नयाँ शाहीको ३ लाख, धनसिंह शाहीको ४ लाख, अनील शाहीको एक लाख, कर्ण शाहीको ४ लाख, धनजित शाहीको १ लाख ५० हजार, दिपक शाहीको ४ लाख, तन्त शाहीको ३ लाख ६० हजार, बिर्ख शाहीको एउटा गाई २० हजार, नरबहादुर शाहीको खेत ६ सय ४७ वर्गमिटर गरी १ लाख, राजेन्द्र शाहीको पानी घट्ट एक लाख, शेरबहादुर शाहीको पानी घट्ट एक लाख, पलम शाहीको पानी घट्ट एक लाख, श्रीबहादुर शाहीको पानी घट्ट एक लाख, मलइबहादुर शाहीको पानी घट्ट र १० पाथी खेत गरी १ लाख ५० हजार बराबरको क्षति भएको छ ।

यस्तै, डिएसपी ओलीयाका अनुसार पहिरोले घरमा क्षति नपुर्याएका २२ परिवार विस्थापित भएका छन् । पहिरोको घेरामा बस्ती परेकाले २२ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।

गाउँमा बसोबास गर्न नमिल्ने २२ घरधुरी गरीका ४० परिवार विस्थापित भएका छन्। कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले पहिरोग्रस्त क्षेत्रमा उद्धारका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय खटिएको जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा खटिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँ नै पहिरोमा पर्ने देखिएकाले गाउँलेको अन्न, भाँडाकुडा, लत्ताकपडासहित बस्ती नै सुरक्षित ठाउँमा सारिएको बताए ।

 

OOO



प्रकाशित: २०७६ भाद्र १२
August 29th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्