नेपाली समय: ११:४८:४६ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

निवासबाटै पक्राउ परे सुडान घोटालका फरार ठेकेदार भारती

निर्माण सञ्चार, १३ भदौ, ०७६, काठमाडौं । बहुचर्चित सुडान घोटाला काण्डमा दोषी ठहर भएका फरार एक ठेकेदारलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) द्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठेकेदार शम्भु भारती रहेका छन्। सिआइबीका प्रवक्ता तथा एसपी दीपक रेग्मीले फरार ठेकेदार भारतीलाई शुक्रबार उनकै निवासबाट पक्राउ गरिएको पुष्टि गरे। 

ललितपुरस्थि भैंसेपाटीबाट भारतीलाई पक्राउ गरिएको हो ।

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारतीलाई फैसला कार्यान्वयनका लागि सर्वोच्चमा बुझाइने सिआइवी स्रोतले जनाएको छ ।

सुडान घोटाला काण्डमा पूर्व आइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ दोषी ठहर भइ सजाय भुक्तान गरी रिहा भइसकेका छन्।

दोषी ठहर भएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले केही समय अघिमात्रै सर्वोच्च अदालतमा आत्मसर्पण गरेका थिए। उनलाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।  

त्यस्तै, पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्।

नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक एपिसीसहित बन्दोबस्तीका सामान खरिदमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर थियो। आयोगले मुद्दा दायर गरी करिब ४४ करोडको खरिदमा २९ करोड अनियमितता जनाएको थियो।

 

०००
 



प्रकाशित: २०७६ भाद्र १३
August 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार