नेपाली समय: ०६:४३:५९ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

नाडा अटो शो मेला : कुन बैंकको कस्तो अफर ?

निर्माण सञ्चार, १४ भदौ, काठमाडौं । अटोमोवाइल्स् एशोशियसन अफ नेपालको (नाडा) आयोजनामा मंगलबारबाट नाडा अटो शो २०१९ मेला जारी रहेकाे छ।  काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा १० गतेबाट सुरु भएको यो मेला नाडाको १४औं संस्करण हो।

अर्थमन्त्री युवराज खतिवडाले मेलाको उद्घाटन गर्दै यसले देशको आर्थिक विकासमा टेवा पुग्ने बताएका थिए।

सवारी साधन, पार्टपूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरु सहभागी रहेको मेला आगामी भदौ १५ गतसम्म चल्नेछ । हरेक वर्ष आयोजना हुने यस सवारी साधनहरुको मेलामा यस वर्ष बैंकहरुको उपस्थितिसमेत उल्लेख्य मात्रामा देखिएकाे छ।

शोका लागि नै भनेर बैंकहरुले ब्याजदर छुट, कर्जा अवधि लगायतमा विशेष अफरहरु ल्याउने गरेका छन् । शोमा १२ वटा स्टल बैंकहरुका छन् भने एउटा बीमा कम्पनीको स्टल रहेको छ ।

कुन बैंकमा कस्तो अफर ?

नाडा अटो शोमा स्टल राखेका १२ बैंकहरुको आ-आफ्नै सेवासुविधासहितकाे विशेषता रहेकाे छ। ब्याजदरका स्कीमहरु  बैंकका आ-आफ्नै छन् । कसैको ब्याजदर कम भने कसैको ब्याजदर महंगो छ ।

सिभिल बैंक
सिभिल बैंकले ११.११ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ । यो कर्जा ७ वर्षदेखि १० वर्षसम्मको लागि रहेकाे बैंकले जनाएकाे छ।

त्यस्तै बैंकले दिएकाे जानकारीअनुसार व्यक्तिगत सवारीसाधनमा ५० प्रतिशतसम्म कर्जा लिन पाइने छ भने कम्पनीका नामबाट सवारी साधन लिँदा भने ७५ प्रतिशतसम्म फाइनान्सको सुविधा पाइने छ।

एनआइसी एशिया
यस बैंकले ९.५ प्रतिशत ब्याजदरमा सवारीसाधनका लागि कर्जा उपलब्ध गराउने जनाएको छ ।  कर्जा अवधि पनि अन्य बैंकभन्दा एनआईसी एशियाको सबैभन्दा धेरै छ । एनआइसी एसियाको ब्याजदर स्टान्डर्ड चार्टर्डपछिको सस्तो देखिएको छ ।

लामो समयका लागि कर्जा लिन चाहनेहरुका लागि एनआइसी एसिया रोजाइमा पर्न सक्छ । सेवा शुल्क भने यो बैंकले १.५ प्रतिशत लिने बताएको छ ।

नबिल बैंक
नेपालकै पहिलो ज्वाइन्ट भेन्चर लगानी भएको नविल बैंकले सवारीसाधनका लागि १०.५९ प्रतिशतमा कर्जा उपलब्ध गराउने बताएको छ । यो ब्याजदर इन्धनबाट चल्ने सवारी साधनको हकमा हो ।

इलेक्ट्रिक भेइकलका लागि बैंकले ९.५९ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने छ । ०.७५ प्रतिशत सेवा शुल्क लिने बताएको नविलले ७ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउन सकिने बताएको छ ।

सानिमा बैंक
बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कान्छो सानिमा बैंकले नाडा अटो शोका लागि भनेर १०.४९ प्रतिशतको ब्याजदर अफर ल्याएको छ । अरु बेला ११ प्रतिशतभन्दा माथि ब्याजदरमा लगानी गर्ने गरेको यो बैंकले शोमा १०.४९ प्रतिशतमा १० वर्ष सम्मका लागि कर्जा उपलब्ध गराउने भएको हो । बैंकका अनुसार सेवा शुल्क ०.७५ प्रतिशत लाग्नेछ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले ११.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । विद्युतीय सवारीका लागि भने १०.५ प्रतिशतमै कर्जा उपलब्ध गराउने लक्ष्मी बैंकले जानकारी दिएको छ ।

सेवा शुल्क ०.५ प्रतिशत लिने बताएको लक्ष्मी बैंकले इन्धनबाट चल्ने सवारीसाधनका लागि ९ वर्ष र विद्युतिय सवारी साधनहरुमा ८ वर्षसम्मका लागि कर्जा लगानी गर्ने छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले ९.६६ प्रतिशतसम्म ५ वर्षका लागि कर्जा उपलब्ध गराउने बताएको छ । ७ वर्षसम्मका लागि लिँदा भने १०.१८ प्रतिशतसम्म ब्याजदर हुने बैंकले बताएको छ । सेवा शुल्क यो बैंकको पनि १ प्रतिशत रहेको छ ।

ग्लोबल र जनता बैंक
मर्जरको प्रक्रियामा रहेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले शोमा संयुक्त स्टल राखेका छन् । यि दुबै बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मका लागि कर्जा उपलब्ध गराउने छन् । दुबै बैंकले सेवा शुल्क भने १ प्रतिशत लिने बताएका छन् ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले बेस रेटमा १.५ प्रतिशत पि्रमियम जोडेर ब्याज लिने बताएको छ । बैंकको हाल ९.९ प्रतिशत बेस रेट भएको र प्रिमियम जोड्दा १०.४ प्रतिशत हुन आउँछ । बेस रेट घटबढ हुँदा ब्याजदरमा पनि प्रभाव पर्छ ।

सांग्रीला डेभलपमेन्ट बैंक
नाडामा एउटा मात्रै विकास बैंकको स्टल रहेको छ । २९ विकास बैंकहरुमध्ये सांगि्रला डेभलपमेन्ट बैंकले मात्रै शोमा स्टल राखेको हो । यो बैंकले ११.६६ प्रतिशत ब्याजदरमा सवारी साधनका लागि कर्जा दिने बताएको छ ।

इन्धनबाट चल्ने सवारीसाधनहरुका लागि ७ वर्षसम्म र विद्युतीय सवारीसाधनहरुका लागि ५ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने बैंकले बताएको छ । सेवा शुल्क भने यो बैंकले ०.७५ प्रतिशत लिने छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले १०.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ । बैंकहरुको आधार दर (बेस रेट) ३/३ महिनामा परिवर्तन हुन्छ । बेस रेट बढेपछि बैंकले कर्जाको ब्याजदर पनि बढाउने गर्छन् ।

तर माछापुच्छ्रे बैंकले बेस रेट परिवर्तन भए पनि ब्याजदर रकम परिवर्तन नगर्ने कवुल गरेको छ । यो बैंकले १० वर्षसम्मका लागि ०.५ प्रतिशत सेवा शुल्क लिएर सवारी साधनका लागि कर्जा उपलब्ध गराउन सक्ने बताएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक
ब्याजदरका आधारमा हेर्ने हो भने स्टाण्डर्ड चार्टर्ड बैंकको तुलनात्मकरुपमा कम देखिएको छ । यो बैंकले ९.३९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । तर, यस्तो कर्जा ६ वर्षको लागि मात्र हुनेछ । सेवा शुल्क भने स्टाण्डर्ड चार्टर्ड बैंकले ०.७५ प्रतिशत लिने जानकारी दिएको छ । यो विदेशी लगानी भएको को बैंक हो । लगानी भएको बैंक हो ।



प्रकाशित: २०७६ भाद्र १४
August 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार