नेपाली समय: ०६:४६:१७ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

सेनाद्वारा बारा र पर्सामा घर निर्माण, रक्षामन्त्रीले हस्तान्तरण गर्ने

निर्माण सञ्चार, १४ भदौ, काठमाडौं । हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि नेपाली सेनाले  घरकाे निर्माण सम्पन्न गरेकाे छ। निमार्ण गरिएका उक्त घर आगामी साता हस्तान्तरण गरिने भएको छ ।

कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखलले आवास निर्माण गरिएको क्षेत्रमा आयोजित समारोहमा आगामी बुधबार स्थानीयवासीलाई नवनिर्मित भवन हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

गत चैत १७ गते साँझ आएको उक्त चक्रपातबाट २७ जनाको मृत्यु हुनका साथै अर्बाै मूल्य बराबरको धनमाल क्षति भएको थियो । सरकारले नेपाली सेनालाई क्षतिग्रस्त घरको पुनःनिर्माण गर्न चैत २१ गते निर्णय गरेको थियो ।नेपाली सेनाको २८ नं बाहिनी अड्डा नेतृत्वको कार्यदलले १२ वटा क्लष्टरमा विभाजन गरी तीन चरणमा निर्माण कार्य पूरा गरेको हो ।

बारा र पर्साका विभिन्न स्थानीय तहमा निर्माण गरिएको जनता आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत नेपाली सेनाले ८६९ घर निर्माण गरेको हो । मूल्य अभिवृद्धिकरसहित प्रतिघर पाँच लाख ४६ हजार ९८५ लागत रहेको उक्त आवास निर्माणका लागि सरकारले  रु ८४ करोड ६८ लाख ७६ हजार रकम उपलब्ध गराएको थियो ।

उक्त आवास निर्माण कार्यमा दुई हजार ६६५ सैनिक र तीन हजार ६७७ गैर सैनिक परिचालन गरिएको थियो ।

उक्त क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना, सहजीकरण  र समन्वय गर्न गठित समितिले साउनको अन्तिम साता जिम्मेवारी पूरा गर्ने लक्ष्य लिएकोमा तराई–मधेशमा आएको बाढी र डुवानका कारण केही दिन निर्माण कार्य स्थगित गर्नुपरेको  थियो ।



प्रकाशित: २०७६ भाद्र १४
August 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार