नेपाली समय: १२:५८:१९ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

दोस्रो मेलम्ची बन्यो जुम्लाको 'धौलीगाड खानेपानी आयोजना'

निर्माण सञ्चार, १५ भदौ, ०७६,जुम्ला । २०६६ सालमा सुरु गरिएको धौलीगाड बृहत् खानेपानी आयोजना अहिलेसम्म निर्माण हुन सकेको छैन । झण्डै १२ वर्ष देखि बृहत्त खानेपानी योजना अलपत्र अवस्थामा छ । आयोजना सुरु गरिएको १२ वर्ष वितिसक्दा पनि अहिलेसम्म च्याम्बर, इन्टेक र पर्खाल निर्माण बाहेक अन्य काम हुन सकेको छैन । 

देशको गौरवको योजना मेलम्ची जस्तै जुम्लाको धौलीघाट खानेपानी आयोजना दोस्रो मेलम्चीको रुप लिएका जुम्लाबासी बताउँछन् । नागरिक समाजका अध्यक्ष राज बहादुर महत भन्छन्,‘द्रुतगतिमा काम गरेको भए हाल सम्म घरघरमा पानी पुग्थ्याँे तर पनि कसैले चासो नदिँदा दोस्रो मेलम्ची बन्यो अब कहिले पानी आउँछ थाहा छैन्।’ राज बहादुर महत मात्र होईन जुम्लाका एक लाख जनता धौलीघाटलाई मेलम्चीकै संघा दिरहेका छन् । 

मुहानमा ८ लाख लागतमा इन्टेक ५ लाखको मुहानमा पानी संकलन च्याम्बर निर्माण गरिएको धौलीघाट बहुउद्देश्यीय खानेपानी उपभोक्ता समिति अध्यक्ष राजबहादुर खत्रीले बताए । त्यसैगरी ७ लाख लागतमा पर्खाल घेरबार निर्माण भएको छ । आयोजना स्थलसम्म सडक सञ्जाल नपुग्दा सामाग्री ढुवानीमा समेत समस्या भएको छ । निर्माण सामाग्री मजदुरमार्फत बोकेर ढुवानी गर्नुपर्ने भएकाले समस्या भएको हो । 

हरेक वर्ष प्राविधिक स्टिमेट परिवर्तन हुने भएकाले पनि कामले गति लिन नसकेको उनले स्वीकारे । तत्कालिन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जुम्लाले आर्थिक बर्ष ०६६÷६७ देखि धौलीगाड खानेपानी योजना सुरु भएको हो । 

हरेक वर्ष उक्त आयोजनाका लागि बजेट आए पनि खर्च नभएर फ्रिज हुने गरेको छ । सरोकारवाला तथा उपभोक्ता समितिले चासो नदिँदा बर्सेनि आयोजनाको नाममा आउने लाखौं रुपैयाँ फ्रिज हुने गरेको स्थानीय बताउछन्। आयोजनाका लागि १ हजार ३ सय मिटर जीआई पाइप प्राप्त भए पनि प्रयोग नगर्दा खानेपानी कार्यालयको खुल्ला चौरमा खिया लागेर थन्किएको छ । उक्त आयोजनाको लागि बर्सेनि प्राविधिक स्टिमेट हुने तर आएको बजेट अनुसार काम नभए पछि बजेट फ्रिज जाने गरेको छ । 

तत्कालिन खानेपानी मन्त्री प्रेमबहादुर सिंह यस धौलीगाड खानेपानी आयोजनाका विषयमा जुम्लामै आएर छलफल गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म यो बन्न सकेको छैन । आयोजना सुरु भएको तीन वर्षमै सम्पन्न गर्ने गरी बजेटको व्यवस्थापन गर्ने जुम्ली जनतालाई आश्वासन दिएका थिए ।  

संघीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पहिलो संविधान सभा सभासद् हुँदा उक्त खानेपानी आयोजनाका लागि तत्कालिन केन्द्रीय सरकारसँग पहल गरी सुरुवात गरेका थिए । संघीयतापछि कर्णाली प्रदेशको कानुन मन्त्री भइसक्दा समेत अहिलेसम्म उक्त आयोजना अलपत्र अवस्थामा रहेको नागरिकको गुनासो रहेको छ । 

संघीयतापछि उक्त आयोजना संघीय खानेपानी कार्यालयको माताहतमा आएको छ । अध्यक्ष खत्रीले भने,‘ एक अर्ब ४२ करोड लागतमा निर्माण कार्य सुरु हुने भएको छ।’ यस आयोजनाको पनि डिपिआर भदौँ मसान्तभित्र सम्पन्न भएको भएको उनले बताए । यस आयोजनाको लागत अनुसार ९ प्रतिशत जन श्रमदान र १ प्रतिशत नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । ‘१ प्रतिशत नगद रकम जम्माका लागि चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाबाट लगानी गर्ने गरी सहमति पत्र लिईसकेका छौँ,’ उनले भने,‘अब आयोजना निर्माण हुने पक्का भइसकेको छ।’ 

संघीय खानेपानी कार्यालय जुम्लाका प्रमुख महेश न्यौपानेका अनुसार धौलीगाड खानेपानी आयोजनाको टेण्डर प्रक्रियामा छौँ । उनले भने,‘ यो देशकै गौरवको बहुबर्षीय आयोजना हो । यसलाई संघीय सरकारले प्रथामिकतामा राखेको छ । आयोजनाको मुहान सडक सञ्जालमा नजोडिएकोले निर्माण सामाग्री ढुवानीमा समस्या भइरहेको छ।’ निर्माण सामाग्री ढुवानीका लागि हेलिकप्टेर प्रयोग गर्ने कि सडक पुर्याउने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको उनले बताए ।  

४४ हजार उपभोक्ता लाभान्वित हुने

बृहत् धौलीगाड खानेपानी आयोजनाबाट तत्कालिन प्राविधिक स्टिमेट अनुसार तातोपानी र गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका ४३ हजार ५ सय ५५ जना उपभोक्ता लाभान्वित हुनेछन् । बृहत् खानेपानी आयोजना सम्पन्न भएको र तत्कालीन चन्दननाथ नगरपालिकामा सञ्चालन रहेको खलंगा खानेपानी आयोजनामा पानी मुहान घट्दै गएपछि उपभोक्तालाई समस्या भइरहेको छ ।


 



प्रकाशित: २०७६ भाद्र १५
September 1st 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्