नेपाली समय: ०१:०४:३२ अपरान्ह
वि.सं २०७६ भाद्र ३०   सोमवार

हाईअल्टिच्युट ट्रेनिङ सेन्टर : ३२ करोडमा डिपिआर, निर्माण अलपत्र

निर्माण सञ्चार, १५ भदौ, ०७६,जुम्ला । जुम्लामा निर्माण हुन लागेको कर्णालीकै नमुना हाईअल्टिच्युट ट्रेनिङ सेन्टरको डिपिआर तयार भइसकेको छ ।  कर्णालीमा निर्माण भएका खेलमैदान, कर्वड हल मध्येकै सबैभन्दा महंगो मुल्य झण्डै ३२ करोड ३ लाखमा डिपिआर तयार भएको हो ।

डिपिआर तयार भएको एक वर्ष वितिसक्यो, तर निर्माण कार्य भने मैदान सम्याउने बाहेक कही पनि भएको छैन् । जुम्लामा विभिन्न विद्याका झण्डै  दुई सय बढी खेलाडीहरु छन् । 
अभ्यासका लागि आवश्यक पुर्वाधार नहुँदा चिन्तित भएका खेलाडीहर्रु अल्टिच्युट ट्रेनिङ सेन्टरको डिपिआर तयार भएको खबरले निकै खुसी थियौँ तर समयमै बन्ने छाँटकाँट नदेखेपछि निराश भएका छन्  । 

भलिबल खेलाडी लक्ष्मी महतले भनिन्,‘डिपिआर तयार भएको एक वर्ष बित्यो तर तीन तहका सरकारबाट निर्माणको कुनै पहल नहुँदा खेलाडीहरुमा निराश भएका छन्।’ राम्रो अभ्यास गर्ने खेलमैदान नभएकै कारण प्रतियोगितामा सोचे अनुसार पदक ल्याउन नसकिएको उनको भनाइ छ।। तीनै तहका सरकारले अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि  पहल गर्नुपर्ने उनको माग छ ।  

जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरमा निर्माण हुने उक्त ट्रेनिङ सेन्टरको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले २०७४ पुस ३ गते सम्भाव्यता अध्ययन गरेको थियो । अध्यायन पछि विभिन्न विद्याका खेलको अभ्यास गर्न, सुविधा सम्पन्न ट्रेनिङ सेन्टर निर्माणका लागि ३२ करोड बराबरको लागतमा डिपिआर बनाउनु पर्ने बताएपछि संघीय सरकारकै सहयोगमा ३२ करोड नमुना डिपिआर तयार भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरमबहादुर महतले बताए । 

उनका अनुसार २ हजार ८ सय मिटर उचाईमा रहेको पातारासीको  मार्सी फल्ने छुमचौरमा ट्रेनिङ सेन्टर बन्ने छ । नेपालकै गौरवको आयोजना भित्र पर्ने हाइअल्टिच्यूट खेल मैदान निर्माणका लागि तीनै तहका सरकारले चासो नदिँदा डिपिआर बनिसक्दा पनि निर्माण  कार्य अलपत्र परेको कार्यालय प्रमुख महतले बताए  ।

यस हाइअल्टिच्यूट ट्रेनिङ सेन्टरमा बलिबल, फुटबल, कराते, बक्सिङ, तेकान्दोे, बास्केट बल, एथलेटिक्सका सम्पुर्ण खेलहरु लगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गर्ने डिपिआरमा उल्लेख गरिएको छ ।

त्यस्तै तातो चिसो पानी भएको स्यूमिङ पुल, लैङ्गिकमैत्री छात्राबास, सेक्युरिटि कक्ष, पाहुना घर, गार्डेन, सभाहल, बैठक कक्ष, प्रशिक्षक आवास, टिकट काउन्टर लगायत तीन दर्जनबढी पुर्वाधारहरु भुकम्प प्रतिरोधी  निर्माण गरिने  डिपिआरमा उल्लेख गरिएको महतले बताए।

उनले निर्माणमा सहयोगको अपिल गर्न डिपिआर बोकेर प्रदेश र  केन्द्र सरकारसंग जाने तयारीमा रहेको बताए ।

पर्यटन प्रवद्र्धनका लागि ट्रेनिङ सेन्टर

जुम्लाको पातारासी गाउँपालिकामा पर्यटकिय सम्भावनाहरु थुप्रै छन् । विश्वकै अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौरमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने दोस्रो लक्ष्य  रहेको  समेत खेलकुद विकास  समितिले  जनाएकोे छ । खेलाडीहरुका लागि राहतसंगै आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन उक्त ट्रेनिङ सेन्टरले महत्वपुर्ण  भुमिका खेल्ने पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए । 

‘विश्वकै अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेर्कड कायम भएको छुमचौरमा पर्यटकिय गतिविधि  बढाउन समेत योगदान पुग्ने उनको विश्वास छ ।  निर्माणका लागि जुम्लाका स्थानीय सरकारले चासो नदिँदा डिपिआरनै अलपत्र हुने अवस्था छ । तर खेलकुद विकास समितिका कार्यालय प्रमुख भने दिनरात लागि परेका छन् । यता पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले स्थानीय सरकारको लगानीले निर्माण हुने स्थिती नरहेको  बताए ।

संघ र प्रदेश सरकार संगै आवश्यक पहल गर्न तयार रहेको उनको भनाइ छ । भने हाई अल्टिच्युट ट्रेनिङ सेन्टर बन्न लागेको  ठाउँमा मालिका मावि लोठचौर विद्यालय छ । त्यसलाई कहाँ सार्ने भन्ने विषयमा समेत  छलफल चलाउनु पर्ने उल्लेख गरे । 



प्रकाशित: २०७६ भाद्र १५
September 1st 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्