नेपाली समय: ०६:५१:१० बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

नेपाल कसरी धानिएको छ रेमिट्यान्सले ? गत वर्षभन्दा १६ प्रतिशतले बढी भित्रियो रेमिट्यान्स

निर्माण सञ्चार, भदौ १६, काठमाडौं । नेपालबाट समेत भारत लगायत मुलुकमा रेमिट्यान्सको मात्रा बढ्दो रहेकै बेला नेपालमा पनि वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स बढेको छ ।

पछिल्लो निर्वाचन र स्थिर सरकार बनेपछि नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या घटेको अध्ययनले देखाएको छ । तापनि रेमिट्यान्स आप्रवाह भने बढेको देखिएको छ ।

गत आर्थिक वर्षमा भन्दा यो वर्ष रेमिट्यान्स १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । 

राबैंक अनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा २०७५–७६ मा रेमिट्यान्स १६.५ प्रतिशतले बढेको हो ।

आव ०७५–७६ मा रेमिट्यान्सबाट ८ खर्ब ७९ अर्ब २७ करोड रुपियिाँ भित्रिएको छ । जबकि, अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष ०७५–७६ मा खुद ट्रान्सफर प्राप्ति १५ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार खुद ट्रान्सफर वृद्धि भई ९ खर्ब ९४ अर्ब ७९ करोड पुगेको छ । यही प्राप्ति अघिल्लो वर्ष १.५ प्रतिशतले बढेको थियो ।
० वैदेशिक रोजगारीमा जाने घटे
राष्ट्र बैंक अनुसार रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीमा जानेको संख्यामा भने ठूलो गिरावट आएको छ । 

राष्ट्र बैंक अनुसार वैदेशिक रोजगारीमा जाने अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको देखिएको हो । आव ०७४–७५ को तुलनामा यो वर्ष ३२.६ प्रतिशतले घटेको हो ।

यो संख्या अघिल्लो वर्ष ९.३ प्रतिशतले घटेको थियो । अध्ययनले पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चाहिँ बढेको देखाएको छ । समीक्षा वर्षमा यो संख्या ५.४ प्रतिशतले बढेको छ । 

तर, यही संख्या अघिल्लो वर्ष भने ०.६ प्रतिशतले घटेको थियो ।

 

 

०००



प्रकाशित: २०७६ भाद्र १६
September 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार