नेपाली समय: १२:५८:४४ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमै सम्पन्न हुने, कोलकाताबाट ल्याइयो कामदार

निर्माण सञ्चार, भदौ १६, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाइएको छ।

लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत असार १ गते र माथिल्लोमा असार ९ गतेबाट पेनस्टक पाइप जडान सुरु  भएकोले आयोजना समयमै सम्पन्न हुने आकलन गरिएको छ।

आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेका अनुसार यो माथिल्लो तामाकोशी आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको छ।

सोही क्रममा उनले भने,हालसम्म कूल ५२.५ मिटर पेनस्टक पाइप जडान भइसकेको छ।उनका अनुसार यसै सातामा थप २५ मिटर पेनस्टक पाइप राख्ने तयारी भइरहेको। 

प्रवक्ता न्यौपानेले माथिल्लो ठाडो सुरुङमा पाइप जडानका लागि भारतीय ठेकेदार कम्पनीले थप २० कामदार कोलकाताबाट ल्याएको बताए। कामदार थपिएपछि ठाडो सुरुङ निर्माण प्रक्रियाले थप गति लिने विश्वास लिइएको छ।आयोजनाको अवस्थालाई हेरेर सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिनाजसो नै आयोजनास्थल पुगी समस्या समाधानमा सहजीकरण गरिरहेका छन्।

आयोजनाका अनुसार तल्लो ठाडो सुरुङ ३७२ मीटर लामो रहेको छ भने माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

गत साउन ६ गते माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि कार्यकारी निर्देशक घिसिङले भारतको कोलकातास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत जीसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका थिए।



प्रकाशित: २०७६ भाद्र १६
September 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार