नेपाली समय: ०६:४३:२४ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

पुनर्निर्माण प्राधिकरण प्रमुख ज्ञवाली सिओलमाः सहरी विकासबारे पहिलो मिटिङ सम्पन्न

निर्माण सञ्चार, १६ भदौ, काठमाडौं । ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फरेन्समा भाग लिन दक्षिण कोरिया पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको सिओल महानगरपालिकाका अधिकारीहरुसँग सहरी विकासबारे पहिलो मिटिङ भएको छ ।

आफ्नो भेटघाटबारे ज्ञवालीले आफ्नो सामाजिक सञ्जाल मार्फत् ‘अपडेट’ गराएका हुन् ।

ज्ञवाली भदौ १७ र १८ गते हुने विश्व सम्मेलनमा नेपालका तर्फबाट सहभागी हुन कोरिया पुगेका हुन् । उनले सहरी क्षेत्रको पुनर्निर्माणका सम्बन्धमा प्रस्तुति गर्ने कार्यक्रम समेत रहेको छ । 

कोरियामा सहरी विकासबारे विश्व सम्मेलन, नेपालबाट समेत सिक्ने अवसर

नेपाल पछिल्लो चार वर्षदेखि भूकम्प पछिको पुनर्निर्माणबाट अघि बढिरहेको छ । प्राधिकरणले पुनर्निर्माणको नेतृत्व गरिरहेको छ । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पछिको पुनर्निर्माणलाई गाउँ तथा सहरको विकासको अवसरका रुपमा लिइनु पर्ने मान्यता अघि सार्दै आएका छन् । उनी भूकम्प पछिको पुनर्निर्माणलाई समेत वैज्ञानिक एकीकृत बस्तीका माध्यमबाट नयाँ खाले सहर र बस्ती विकास गर्नु पर्ने धारणा राख्ने गरेका छन् ।

कोरियाली प्रस्तुतिमा सिइओ ज्ञवालीले मूलभूत रुपमा काठमाडौं उपत्यकाभित्रका सम्पदा बस्तीहरुको गुरुयोजना,  कार्यान्वयन मोडालिटी र वित्तीय आवश्यकताबारे प्रकाश पार्ने योजना रहेको छ ।

प्राधिकरणले दिएको जानकारी अनुसार सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुले सहरी क्षेत्र एवं पूर्वाधार विकास सम्बन्धमा आ–आफ्ना भिजन प्रस्तुत गर्ने छन् ।

सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरुले त्यसमा छलफल गरी एकआपसमा अनुभव साटासाट समेत गर्ने छन् ।

सरकारको योजनाः साँखु, बुङमती खोकना सहित ६ बस्ती परम्परागत नमूना

सहरी विकास पूर्वाधारबारे नयाँ तौरबाट सोच अघि बढिरहेको नेपालमा यतिबेला कस्तो सहर निर्माण गर्ने भन्ने बहस पनि गहिरो रुपमा चलेको छ । कंक्रिट मात्र सहरीकरण होइन बरु प्रदूषण हो भन्ने मान्यता विकास भएसँगै ग्रिन सिटी तिर विश्वको ध्यान गएको छ ।

यही अवसरमा सरकारले काठमाडौं उपत्यका भित्रका साँखु, बुङमती र खोकना सहितका ६ वटा बस्तीहरुलाई परम्परागत बस्तीका रुपमा घोषणा गरी पुनर्निर्माण प्राधिकरणमार्फत वृहत्तर गुरुयोजना तयार पार्दैछ । 

ती बस्तीको ऐतिहासिकता र मौलिकता बचाउन निजी आवास पुनर्निर्माण गर्न प्राधिकरणले प्रति लाभग्राही ३ लाख रुपियाँका अतिरिक्त थप ५० हजार रुपियाँ उपलब्ध गराएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा ६० वटा परम्परागत बस्तीहरु पहिचान गरिएको छ । 


शहरी योजनाका विज्ञ समेत रहेका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उल्लेखित सम्पदा बस्तीसँग जोडिएका क्षेत्रमा हुन लागेको नयाँ सहर विस्तारबारे पनि प्रस्तुति गर्ने छन् ।


यसका अतिरिक्त सम्पदा बस्तीहरुको गुरुयोजना तयारी तथा कार्यान्वयनमा आवश्यक पर्ने लगानी जुटाउने सम्बन्धमा समेत छलफल हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।


दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड,  मिनिस्ट्री अफ फरेन अफेयर्सको सहयोगमा इन्टरनेसनल कन्ट्रयाक्टर एसोसियसन कोरियाले कार्यक्रम आयोजना गरेको हो ।

ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखा प्रमुख दिव्यराज पोखरेललगायत रहेका छन् ।


सिइओ ज्ञवाली भदौ २० गते स्वदेश फर्कने कार्यक्रम तालिका रहेको छ ।

 

 

०००



प्रकाशित: २०७६ भाद्र १६
September 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार