नेपाली समय: ०६:४६:०७ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

आर्थिक वर्षको पहिलो महिना: आयात घट्यो, निर्यात बढ्यो !

निर्माण सञ्चार, १८ भदौ, ०७६,  काठमाडौं । भन्सार विभागले प्रकाशित गरेको तथ्यांकले आर्थिक वर्षको पहिलो महिनामा आयात भन्दा निर्यात बढी भएको देखाएको छ ।

आर्थिक वर्षको पहिलो महिना (साउन) मा आयातभन्दा निर्यात व्यापारको वृद्धिदर उच्च देखिएको हो । विभाग अनुसार साउन महिनाको आयात वृद्धिदर गएको आर्थिक वर्ष ०७५–७६ को तुलनामा कमजोर देखिएको छ ।

चालु आर्थिक वर्षको साउन महिनाको आयात निर्यातबारे विभाग भन्छ। ‘१ खर्ब ६ अर्ब ७२ करोड रुपियाँ बराबरको सामान विदेशबाट मुलुकमा भित्रिएको छ । यही महिनामा अघिल्लो आवमा १ खर्ब २० अर्ब ६१ करोड रुपियाँ बराबर सामान भित्रिएको थियो ।’

यो आँकडा अनुसार गत वर्षको भन्दा यो वर्ष ११.५१ प्रतिशतले कम आयात भएको हो ।

उत्साहजनक निर्यात वृद्धिदर 

विभाग अनुसार पहिलो महिनामा निर्यात व्यापार वृद्धिदर उत्साहजनक छ । साउन महिनामा नेपालबाट ८ अर्ब ८४ करोड ७० लाख रुपियाँ बराबर सामान निर्यात भएको छ । जबकि, अघिल्लो आर्थिक वर्ष यही अवधिमा नेपालको निर्यात ६ अर्ब ९२ करोड १५ लाख रुपियाँ बराबर रहेको थियो ।

व्यापार घाटामा पनि कमी

यसरी, आयात घटेसँगै नेपालको चालू आवको यो महिनाको व्यापार घाटा पनि घटेको छ । आव ०७५–७६ को तुलनामा आव ०७६–७७ को पहिलो महिनामा व्यापार घाटामा थोरै भने पनि कमी आएको छ । 

अघिल्लो आवको साउनको आयात निर्यातको तुलनामा यो साउनमा आयात कम देखिएको हो, समग्रमा आयात भने कम भएको हैन । २४ भन्सार मध्ये ९ मा निर्यात शून्य हुँदा बाँकी १५ वटा मध्ये सबै भन्दा बढी निर्यात वीरगन्ज भन्साबाट भएको छ

विभागले दिएको तथ्यांक अनुसार चालू आवको साउन महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपियाँको रहेको छ । जबकि, अघिल्लो वर्षको साउन महिनामै १ खर्ब १३ अर्ब ६८ करोड रुपियाँको व्यापार घाटा रहेको थियो । 

यो व्यापार घाटा अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा १३.९० प्रतिशतले कमी हो ।

वैदेशिक व्यापारमा पनि कमी

आयात कम र निर्यातको स्केल बढेसँगै कूल वैदेशिक व्यापारमा समेत कमी आएको छ । तथ्यांक अनुसार यो आवको साउन महिनामा १ खर्ब १५ अर्ब ५६ करोड रुपियाँको कूल वैदेशिक व्यापार भएको छ । जबकि, अघिल्लो आवको यही साउन महिनामा भने १ खर्ब २७ अर्ब ५३ करोड रुपियाँ बराबर कूल वैदेशिक व्यापार भएको थियो ।

यस्तो छ चालू आवको साउन महिनाको वैदेशिक व्यापार

  • आयातः १ खर्ब ६ अर्ब ७२ करोड
  • निर्यातः ८ अर्ब ८३ करोड ७० लाख
  • व्यापार घाटाः ९७ अर्ब ८८ करोड ८२ लाख
  • कूल वैदेशिक व्यापारः १ खर्ब १५ अर्ब ५६ करोड
  • कूल वैदेशिक व्यापारमा निर्यातको हिस्साः ७.६ प्रतिशत
  • कूल वैदेशिक व्यापारमा आयातको हिस्साः ९२.४ प्रतिशत
०००

९ भन्सार कार्यालय भन्छन्, ‘यो आवको पहिलो महिनामा ९ भन्सार कार्यालयमा निर्यात शून्य !’

तर, आँकडा अनुसार चालु आर्थिक वर्ष ०७६–७७ को पहिलो साउन महिनामा ९ वटा भन्सार कार्यालयहरुबाट भने एक रुपियाँको पनि वस्तु निर्यात हुन सकेको छैन ।
विभाग अनुसार साउन महिनामा नेपालले ८ अर्ब ८३ करोड ७० लाख ८६ हजार रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । जसमा ९ भन्सार कार्यालय शून्यमा रहेका छन् ।

० आयात बढी निर्यात शून्य भन्सार कुन कुन ?

भन्सार विभागले जारी गरेको विवरणअनुसार कुल २४ भन्सार कार्यालयमध्ये ९ भन्सार कार्यालयहरुबाट आयात भए पनि निर्यात शून्यमै रहेको छ ।

तिनमा भद्रपुर, जलेश्वर, जनकपुर, महेशपुर, सर्लाही, सति, सिराहा, तातोपानी र तादी भन्सार कार्यालयहरुबाट कुनै पनि वस्तु निर्यात हुन सकेनन् । 

० बाँकी १५ भन्सारमा निर्यात कुनबाट कति ?

जस अनुसार सबैभन्दा बढी वीरगञ्ज भन्सारबाट २ अर्ब ५७ करोड ९४ लाख ७५ हजार बराबरको वस्तु निर्यात भएको छ । यो कुल निर्यातको २९.१९ प्रतिशत हो ।

निर्यात व्यापारमा विराटनगर भन्सार दोस्रो स्थानमा छ । कुल निर्यातको २८.१६ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड ८४ लाख १७ हजारको निर्यात यो भन्सार कार्यालयबाट भएको छ ।

त्यस्तै, तेस्रो धेरै निर्यात गर्ने भन्सार कार्यालय त्रिभूवन विमानस्थल भन्सार कार्यालय हो । निर्यातको २१.८१ प्रतिशत अर्थात् एक अर्ब ९२ करोड ७० लाख ३५ हजारको बराबरको वस्तु निर्यात भएको विमानस्थल भन्सारले बताएको छ ।

चौथो स्थानमा रहेको छ मेची भन्सार कार्यालय । यो कार्यालयले यो महिनाको कुल निर्यातको ११.८४ प्रतिशत हिस्सा ओगटेको छ । यसबाट १ अर्ब ४ करोड ६४ लाख १३ हजार रुपियाँ बराबरको वस्तु निकासी भएको छ ।

त्यस्तै, पाँचौँ स्थानमा रहेको छ भैरहवा भन्सार कार्यालय । यसबाट २७ करोड ४५ लाखको आयात भएको छ । त्यस्तै, रसुवाको टिम्मुरे भन्सारबाट १३ करोड ८७ लाख, नेपालगन्ज भन्सारबाट ७ करोड ४८ लाख, कैलालीबाट ४ करोड ३५ लाख, कञ्चनपुर भन्सारबाट १ करोड ६० लाख, कृष्णनगर भन्सारबाट १ करोड २२ लाख बराबर सामान निर्यात भएको छ ।

यस्तै सुनौली भन्सारले ४१ लाख, सुनसरी भन्सारले ८१ हजार, राजविराज भन्सारले ३ लाख र गौर भन्सारले ११ लाख बराबरको निर्यात गरेका छन् ।

आर्थिक वर्षको पहिलो महिना नेपालले एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख १८ हजारको आयात गरेको छ ।

आयातको तुलनामा निर्यातदर न्यून हुँदा चालू आर्थिक वर्षको पहिलो महिनाको व्यापार घाटा नै ९७ अर्ब ८८ करोड ८२ लख ३२ हजार पुगेको छ । 

आयात घटेसँगै नेपालको चालू आवको यो महिनाको व्यापार घाटा पनि घटेको हो । 

आव ०७५–७६ को तुलनामा आव ०७६–७७ को पहिलो महिनामा व्यापार घाटामा थोरै भने पनि कमी आएको हो।  विभागले दिएको तथ्यांक अनुसार चालू आवको साउन महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख रुपियाँको रहेको छ । जबकि, अघिल्लो वर्षको साउन महिनामै १ खर्ब १३ अर्ब ६८ करोड रुपियाँको व्यापार घाटा रहेको थियो । 

यो व्यापार घाटा अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा १३।९० प्रतिशतले कमी हो । भन्सार विभागले जनाए अनुसार एक वर्षमा २० अर्ब रुपियाँको मोबाइल आयात भएको छ ।

०००

 

 



प्रकाशित: २०७६ भाद्र १८
September 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार