नेपाली समय: १२:५७:५५ राती
वि.सं २०७६ भाद्र ३०   सोमवार

बगैँचामै व्यापारी : स्याउ निर्यातमा सहजता

निर्माण सञ्चार, १८ भदौ, कर्णाली प्रदेश । विगतका वर्षमा स्याउ निर्यातमा समस्या हुँदा अधिंकाश किसानलेउत्पादन गरको स्याउले बजार पाउन सकेन ।प्रमुख आम्दानीको स्रोतका रुपमा मानिने स्याउ बिक्री नभएपछि कतिलाई त घाट नै ब्यहोर्नु पर्यो। तर यसवर्ष भने, भदौ लागे संगै व्यापारी स्याउ खरिदका लागि बगैचामै पुगेपछि निर्यातमा निकै सजह भएको किसानहरु बताउँछन् ।

कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीको बगैँचामै स्याउ खरिद गर्न व्यापारी आएपछि निकै राहात भएको उनले बताइन्। गत वर्ष व्यापारी खोज्न झनझट खेपेकी उनले यो वर्ष घरमै लाखौ रुपियाँया पाएपछि निकै खुसी छन् । आफैँले सुर्खेत नेपालगन्ज लिएर जाँदा केही कुहिने, केही फाल्नुपर्ने राम्रो मुल्य नपाउने समस्या हुन्थ्यो तर बगैचामै व्यापारी आएपछि स्याउ निर्यात तथा व्यापार सजिलो भएको उनको भनाइ छ।

त्यस्तै चन्दननाथ–१० की माया देवकोटाले यसवर्ष स्याउ निर्यातमा कुनै समस्या नभएको बताइन् । एक सातादेखि बारीमा स्याउ टिपेर सकाएकी उनलाई निर्यात कसरी गर्न, भन्ने कुराले चिन्तित थिइन, स्याउ खोज्दै व्यापारी आएपछि उनलाई पनि नेपालगन्ज सुर्खेत काठमाडाैँ जाने बाध्यता टरेको छ। जुम्लाका अधिकांश किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई छ ।

अधिकांश किसान बिहान देखि राति अबेरसम्म स्याउबारीमै व्यस्त देखिने गरेका  छन । यो मौसममा किसानले कम्तीमा पनि ५ लाख बराबरको आम्दानी गर्दछन् । जुम्लाका साढे १६ हजार घरधुरीले स्याउ खेती गर्छन् ।यस वर्ष जम्लामा स्याउ उत्पादन बढ्ने अनुमान गरे संगै व्यापारीहरु बगैचामै पुगेका हुन् ।

स्याउ टिप्न सुरु भएसँगै व्यापारी स्याउ बगैँचामै आएर खरीद गर्ने क्रम बढेको छ । स्याउ खरीद गर्न नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत स्थानका व्यापारी जुम्ला पुगेका छन् । भदौँको दोस्रो सातादेखि स्याउ टिप्न र ढुवानी गर्न स्थानीय तहले अनुमति दिए पनि केही किसानले पहिले नै बगैँचा खाली गरिसकेका छन् ।

६ हजार बढी  मेट्रिकटन स्याउ
यस वर्ष जुम्लामा ६ हजार १ सय  मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्र जुम्लाको छ । अहिले स्याउ टिप्ने र निर्यात हुने काम भइरहेको छ । याउ उत्पादनबारे प्राविधिकले तथ्याङ्क सङ्कलन गरिहेको कृषि ज्ञान केन्द्रका अर्थविज्ञ बालकराम देवकोटाले बताए । उनका अनुसार अनुसार गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन हुने क्षेत्र बढेकाले उत्पादन पनि बढेको अनुमान गरिएको छ ।

केही वर्षअघिसम्म स्याउ बिक्री गर्न खलङ्गा बजारमा लैजानुपर्ने बाध्यता थियो । यस वर्ष व्यापारी बगैँचामै पुगेर धमाधम स्याउ खरीद गरिरहेका छन् । भने प्रतिकेजी ४० देखि ६० रुपैया सम्म जुम्लामै स्याउ बिक्री भईरहेको छ ।

स्याउ माग बढ्दो
आठ वर्षअघि साविक जिल्ला विकास समितिले जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गर्यो । त्यसपछि जुम्लाले विसं २०६६ मा नेपाल प्रङ्गारिक प्रमाणीकरण मान्यता पाएपछि जुम्ली स्याउको बजारमा माग बढेको हो । विगतका वर्षमा विदेशी कार्टुनमा जुम्लाका स्याउ निर्यात गर्दा व्यापार घटेको थियो । जसले बजारमा जुुम्ली स्याउको पहिचान ओझेलमा परेको थियो ।

तर यस वर्ष जुम्लामा सबै किसानका घरघरमा ( जुम्ला स्याउ) लेखिएको कार्टुन पुगेको छ । जसले गर्दा बजारमा माग बढेको कृषि अर्थविद देवकोटाले बताए । स्याउ निर्यातमा किसानलाई सहज भएपनि व्यापारीलाई झन्झट भएको छ । जुम्लाको स्याउको माग काठमाडौँ, नेपालगन्ज, विराटनगर धनगडी पोखरा लगायका सहरमा बढी छ ।

स्तरीय कार्टुन नहुँदा स्याउ प्याकेजिङमा अझै पनि समस्या छ । तर पनि व्यापारीहरुले प्रतिकेजी बाट १०÷१५ रुपैया अहिलेनै फाईदा खाइरहेका छन् । सुर्खेत नेपालगन्मा खरिद गर्नु भन्दा बगैचामै खरिद गर्दा फाइदा धेरै हुने व्यापारी मिन कठायतले बताए ।   जिल्लामा स्याउ भण्डारणको व्यवस्थासमेत नहुँदा किसान समस्यामा परेका छन । कृषि ज्ञान केन्द्रका अनुसार जुम्लामा तीन हजार एक सय हेक्टरमा स्याउखेती गरिएकोमा ८ सय हेक्टरमा मात्रै स्याउ फलेको छ ।

 

 

 

000



प्रकाशित: २०७६ भाद्र १८
September 4th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्