
हरिहर संस्कृत विद्यालयको जग्गा साटफेरका नाउँमा हडप्न गाउँपालिका अध्यक्षकै यस्तो छ चलखेल
निर्माण सञ्चार, १८ भदौ, अर्घाखाँची । विश्वकै ध्यान संस्कृत तिर तानिरहेको अवस्थामा जिल्ला अर्घाखाँचीमा रहेको पुरानो संस्कृत विद्यालयको जग्गा भने हडप्न चलखेल सुरु भएको छ ।
पाणिनी गाउँपालिका पोखराथोकमा रहेको हरिहर संस्कृत तथा साधारण माविको कपिलवस्तुमा रहेको जग्गा हडप्न चलखेल सुरु भएको हो ।
विद्यापीठको जग्गालाई अर्घाखाँचीमा रहेका कुनै व्यक्तिको सस्तो जग्गासँग साटफेर सुरु भएको छ । विद्यालयका नाउँमा सस्तो र विद्यालयको नाउँमा रहेको कपिलवस्तुको महँगो जग्गा व्यक्तिका नाममा पार्ने चलखेल भएको स्थानीय बताउँछन् ।
यसका लागि गिरोह नै सक्रिय भएर लागेको स्थानीयको भनाइ छ ।
यस अघिदेखि नै केही नयाँ खाले कार्यक्रमहरु विस्तार गर्न भन्दै विद्यालयलाई थप जग्गाको आवश्यकता बारे चर्चा चलिरहेकै बेला विद्यालयको महँगो जग्गा व्यक्तिलाई दिन चलखेल भएको हो ।
विद्यालयका लागि ५० रोपनी जग्गा आवश्यक परेको भन्ने बाहनामा विद्यालयको मूल्यवान जग्गा हात पार्न व्यक्तिहरु लागिपरेका छन् ।
जग्गा सट्टापट्टा गर्ने काम अघि बढिरहेको एक स्थानीयले आरोप लगाए ।
स्थानीय जीवनारायण कोइरालाले जग्गा साटफेरका नाममा ठूलो चलखेल हुन लागेको हुनाले आफूहरुले विरोध गर्नु परेको बताउँछन् ।
हरिहर विद्यालयलाई नमुना विद्यालय बनाउन जग्गा थप गर्नु पर्ने छ । तर, यहाँ नकारात्मक चलखेल पनि भएको छ ।
गाउँपालिकाका अध्यक्ष अच्युत गौतम आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि रहेका छन् ।
जग्गा साटफेर पनि जिल्ला स्थित मालपोत मूल्यांकन समितिले गर्ने व्यवस्था छ । तर त्यसका लागि गाउँपालिकाको सिफारिसलाई आधार मानिएको छ ।
जग्गाको चलखेल गर्नलाई नै अध्यक्षले हरिहरको नाम नै उल्लेख गरेको र मूल्यांकन दोब्बर पुर्याएको दाबी स्थानीयले गरेका छन् ।
स्थानीयवासीका अनुसार विद्यालय वरिपरि जग्गा रहेकासँग जनप्रतिनिधिको मिलोमतोमा मालपोत मूल्यांकनमा विद्यालय वरिपरिको जग्गालाई गाउँपालिकाकै सबैभन्दा महँगो जग्गा कायम गरिएको हो ।
जिल्ला मालपोत कार्यालय अर्घाखाँचीका अधिकारीका अनुसार गाउँपालिकाले सिफरिस गरेको ठीकै होला भनेर मूल्याकंन गरिएको बताउँछन् ।
तर, यसमा मिलेमतो रहेको स्थानीयको आरोप छ ।
आर्थिक वर्ष ०७४–७५ को मालपोत मूल्यांकनमा हरिहर संस्कृत विद्यालय वरिपरिको जग्गा भनेर कुनै किटान नै नगरिएकोमा ०७५–७६ मा मालपोत मूल्यांकन पुस्तिकामा सो नाम किटान गरेर खेल सुरु भएको हो ।
विद्यालय वरिपरिको वास्तविक चालू मूल्यभन्दा धेरै मूल्य पर्नेगरी मूल्यांकन भएको स्थानीय बताउँछन् ।
०७४–७५ मा विद्यालय क्षेत्र वरिपरिको भन्दामाथि बजार क्षेत्रको जग्गाको मालपोत मूल्यांकन प्रतिवर्ग मिटर एक हजार ५० रुपियाँ कायम गरिएकोमा ०७६÷७७ मा सोही बजार क्षेत्रसँगै हरिहरको नाम पनि समावेश गरी मालपोत मूल्यांकन दोब्बर बनाइएको हो ।
अहिले सो जग्गाको मूल्यांकन दुई हजार पुर्याइएको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् ०७५–७६ मा एक हजार तीन सय कायम गरिएको थियो ।
यस आर्थिक वर्षमा ह्वात्तै वृद्धि गरी गाउँपालिकाकै सबैभन्दा महँगो जग्गा कायम गरेपछि साटफेरको खेल सुरु भएको
जग्गा साटफेर गर्दा सरकारी मालपोत मूल्यांकनलाई आधार मानेर गर्ने गरी भित्रभित्रै तयारी भएको छ । यसरी साटफेर गर्दा विद्यालयलाई करोडौँ नोक्सान हुने र जग्गा साटफेरमा संलग्नलाई ठूलो आम्दानी हुने स्रोतको दाबी छ ।
साटफेर गर्नु अघि विद्यालय वरिपरिको जग्गा मालपोत मूल्यांकनमा गाउँपालिकाकै सबैभन्दा महँगो जग्गा कायम गरिएको छ ।
जिल्ला मालपोत कार्यालय अर्घाखाँचीका अधिकारीका अनुसार गाउँपालिकाले सिफरिस गरेको ठीकै होला भनेर मूल्याकंन गरिएको बताउँछन् ।
जिल्लामा रहने सार्वजनिक जग्गा संरक्षण समितिकोे अध्यक्षसमेत रहेका अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलका अनुसार आफूसहितको टोलीले जग्गाको स्थलगत अवलोकनसमेत गरी अन्य प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको छ ।
कपिलवस्तुस्थित वा(ागंगा–१ मा रहेको जग्गा हरिहर संस्कृत विद्यालयको हो । यो जग्गा ३२ बिघा १८ कठ्ठा रहेको छ । त्यस्तै वैरिया बजारनजिकै पनि तीन बिघाभन्दा बढी जग्गा रहेको छ । कपिलवस्तुका विभिन्न स्थानमा विद्यालयको जग्गा छ । एक बिघाकै करोडभन्दा बढी मूल्य छ ।
अर्घाखाँचीको पाणिनी पोखरोथोकस्थित विद्यालय रहेको स्थानसँग जोडिएको जग्गाको मूल्य मालपोत मूल्यांकनमा उल्लेख भएभन्दा निकै कम रहेको छ ।
सो क्षेत्रमा पाल्पा–सन्धिखर्क सडक खण्डमा पर्ने जग्गाको मूल्य प्रतिरोपनी १० लाखभन्दा बढी कायम गरिएको छ ।
सरकारी मूल्यांकनमा पोखराथोकमा बजार क्षेत्रबाहिरको जग्गाको मूल्य जम्मा २५ हजार चार सय ३७ रुपियाँ प्रतिरोपनी कायम गरिएको छ ।
कपिलवस्तुमा रहेको विद्यालयको कुनै पनि जग्गाको मूल्य प्रतिकठ्ठा १५ लाख छ । सरकारी मूल्याकनमा प्रतिकठ्ठा एक लाखदेखि चार लाखसम्म रहेको छ । यहाँको करिब ५० कठ्ठा जग्गाको मूल्य १५ लाख प्रतिकठ्ठाका दरले साढे सात करोड पर्न आउँछ ।
०००
प्रकाशित: २०७६ भाद्र १८
०००
प्रकाशित: २०७६ भाद्र १८
प्रतिक्रिया दिनुहोस्