नेपाली समय: ०६:५०:११ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

मन्त्री भट्टराईको घोषणा : निजगढ विमानस्थल हालकै स्थानमा बन्छ

निर्माण सञ्चार, १९  भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल  हालकै स्थानमा बनाउन सरकार दृढ रहेकाे बताएका छन् ।

उनले साेही स्थानमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने याेजनाबाट अब सरकार कुनै हालतमा पछि नहट्ने बताए ।

हालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक ८० लाख हवाई यात्रुले ओहोरदोहोर गर्ने गरेको र वार्षिक सात दशमलव पाँच प्रतिशतले वृद्धि हुँदै गएकाले अब यस विमानस्थले धेरै क्षमता धान्न नसकिने उनकाे भनाइ छ।

त्यसैले विभिन्न समयमा गरिएका अध्ययनले पनि प्रस्तावित निजगढ विमानस्थलको हालको स्थान उपयुक्त भएकाले अब त्यसमा दायाँबायाँ नहुने मन्त्री भट्टराईले बताए। मन्त्री भट्टराईले भने, “विमानस्थल निर्माण गर्दा कमभन्दा कम वातावरणीय क्षति गर्न कोशिस गर्नेछौँ ।”

नेपाल वातावरण पत्रकार समूहले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा निजगढ विमानस्थलका बारेमा उठेका वातावरणीय पक्षलाई सरकारले गम्भीररुपमा लिएको र उक्त विषयमा सरकार जानकार रहेको स्पष्ट पार्दै उनले भने, “पक्षविपक्षका बहसमाथिका बहसलाई सरकारले नियालिरहेको छ, जनस्तरबाट उठेका तार्किक विषय स्वाभाविक छन् ।” 

सरकारले विसं २०५१ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सिफारिस गर्न अध्ययन शुरु गरेको थियो । सो क्रममा विराटनगर, जनकपुर, भरतपुर, निजगढ, नेपालगञ्ज, धनगढी, सुर्खेत र भैरहवाको स्थलगत प्राविधिक अध्ययन गरी निजगढ नै उपयुक्त स्थान भएको भनी सिफारिस गरिएको थियो ।

विसं २०६४ मा राष्ट्रिय योजना आयोगले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सो योजनालाई सूचिकृत गरेको थियो भने विसं २०६५ पुस २ गते ल्याडमार्क वल्र्डवाइड कम्पनीसँग आयोजना सम्भाव्यता अध्ययन गर्ने सम्झौता गरिएको थियो ।

यसैगरी विसं २०७१ फागुन २९ गते विमानस्थल क्षेत्र भनी घोषणा गरिएको आठ हजार ४९ हेक्टर क्षेत्रफल चार किल्ला तोक्ने निर्णय गरेको थियो भने विसं २०७५ जेठ ९ गते विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गरिएको थियो ।

 

 

 

000



प्रकाशित: २०७६ भाद्र १९
September 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार