नेपाली समय: ०५:१२:१८ बिहान
वि.सं २०७६ मंसिर ६   शुक्रवार

जुम्लामा औद्योगिक व्यापार महोत्सवः उद्घाटनमा ३ मन्त्री

निर्माण सञ्चार, १९ भदौ, कर्णाली प्रदेश । कर्णाली प्रदेशको पर्यटकीय शहर जुम्लामा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । 

बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित कर्णाली सरकारको मन्त्रीमण्डल नै जुम्ला पुगेर महोत्सव उद्घाटन गरेका छन् ।
पानसमा बत्ती बालेर उद्घाटन गरिएको महोत्सव दश दिनसम्म चल्ने छ ।

यो जुम्लाको दोस्रो महोत्सव हो ।

महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री शाहीसँगै कानुन मन्त्री नरेश भण्डारी र पर्यटन मन्त्री नन्दसिंह बुढा समेत रहेका थिए । 

समृद्ध कर्णालीको उद्देश्यमा प्रदेश सरकार अघि बढिसकेको बताउँदै मुख्यमन्त्री शाहीले औद्योगिक विकास नै कर्णाली प्रदेशलाई बदल्ने मुख्य आधार रहेको बताए ।

जुम्लाको औधोगिक व्यापार महोत्सवलाई आर्थिक समृद्धिसँग जोड्न तथा अर्गानिक उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्न प्रदेश सरकारले पाइला चालिसकेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

मुख्यमन्त्री शाहीले महोत्सव आर्थिक समृद्धिको आधार भएको उल्लेख गरे ।

कर्णाली सम्भावना, स्रोत र संशाधनको प्रचार प्रसारकै अभावले जुम्लाको अर्गानिक उत्पादनले बजार नपाएको भन्द महोत्सवले बजारीकरणमा इँटा थप्ने समेत बताए । 

कानुन मन्त्री नरेश भण्डारीले अब जुम्लाबाट निर्यात मात्रै हुने दाबी गरे । कर्णालीकै मन्त्रीहरुको ओईरो जुम्लामा लाग्नु, समृद्धिको संकेत भएको उल्लेख गरे । 

पर्यटन मन्त्री नन्दसिंह बुुढाले पर्यटकिय शहर जुम्लालाई एग्रो टुरिजमको विकास गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । 

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अली मनिहारका अनुसार यो महोत्सवमा कर्णालीकै पहिलो मुख्यमन्त्री शाहीदेखि विभिन्न अन्य मन्त्रीहरु तथा उद्यमीहरु, अन्य विशिष्ट व्यक्तिहरु सरिक भएका छन् ।

महोत्सव व्यवस्थापनमा झण्डै १ करोड अनुमानित लागत लाग्ने उद्योग वाणिज्य महासंघ जुम्लाका उपाध्यक्ष पुरीचन्द्र देवकोटाले बताए । 
उनका अनुसार बिहिबार सुरुको दिन मेला आउदो १० गते सम्म संचालन हुने छ । 

महोत्वसमा सय बढी स्टल

कर्णालीकै लामो र ठुलो प्रादेशिक महोत्सवमा झण्डै १ सय बढी स्टलहरु राखिएका छन्, भने स्टल अवलोकन गर्नेहरुको निकै भिड लागेको छ ।

बिहिबार पहिलो दिनमात्र झण्डै ५ हजार बढिले मेला अवलोकन गरेका छन् । 

राखिएका स्टलहरुमा अधिकांश स्टलहरु जुम्लामामै पाईने अर्गानिक वस्तुमा आधारीत छन् । भने यामहा, पल्सर बाईक, टयाक्टरहरुको पनि स्टल राखिएको छ । 

अर्गानिक बस्तुमा आधारित स्टलहरुमा अर्गानिक फापरको केक, कागुनाको खिर, जुम्ली मार्सी धानको चालम, सिमी, ओखर, चिनो, अर्गानिक सेल रोटी, कोदाका रोटी, आलु चिप्स लगायत गरी सय बढि अर्गानिक परिकारका स्टलहरु निर्माण गरीएका छन् । 

यसबाट अर्गानिक बालीको प्रचारप्रशारका साथै आर्थिक आम्दानीको स्रोत बढ्नेछ ।

त्यस्तै जुम्लामा पाईने लोपउन्मुख राडीपाखी र उनका कपडा बिक्री, जिल्लामा सम्भावनाका बोकेका विभिन्न पर्यटकीय क्षेत्रका फोटो प्रदर्शन गरिएका छन  । 

७ हजारदेखि २०  हजार सम्मका स्टलहरु अग्रिम बुकिङ भएका थिए ।

आठै स्थानीय तह सहयोग

जुम्लाका आठै स्थानीय तहले दोस्रो व्यापारी महोत्सवमा सहआयोजनकको भुमिका निर्वाह गरेका छन् । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार अर्गानिक बस्तुको बजारीकरण र प्रबद्र्धनका लागि महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताए । 

एक नगरपालिकादेखि सात गाउँपालिकाले महोत्सव सफल पार्न आवश्यक सहयोग गर्ने समेत बताए । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले महोत्सव अवधिभर सुरक्षा व्यवस्था मजबुद पारिएको बताइन् । 


०००
 



प्रकाशित: २०७६ भाद्र २०
September 6th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्