नेपाली समय: ०६:४४:५३ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

‘स्वास्थ्य लाभ’ गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

निर्माण सञ्चार, २० भदौ, काठमाडौं । दुई साता लामो उपचार पछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

प्रम ओली यही भदौ ५ गते आफ्नो नियमित स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए ।

प्रम ओलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत पुगेका थिए । 

विमानस्थलमा भने प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया नै दिएका छैनन् । प्रधानमन्त्री ओली थाइ एयरवेजको विमानबाट काठमाडौं अवतरण गरेका थिए ।

दुई साता अघि उनी सिंगापुर गएका थिए । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उनको उपचार गरिएको हो । प्रम ओलीको स्वास्थ्य सोचे अनुरुप ठीक भएको भन्दै अस्पतालले बिहीबार उनलाई डिस्चार्ज गरेको थियो । 

सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा प्रम ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरण सम्बन्धी उपचार गरिएको थियो । 

उनको उपचार बुधबार पूरा भएको थियो । ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा भएसँगै उनको उपचार पूरा भएको हो ।

केही दिन अघि प्रधानमन्त्रीलाई भेट्न सत्तारूढ दल नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडल पनि सिंगापुर गएका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै सरकारका अधिकारीहरु
प्रम ओलीसँगै उनीहरु पनि फर्किएका छन् ।

प्रधानमन्त्रीका साथमा धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्य पनि फर्किएका छन् । केही दिन अघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने स्वदेश फर्किसकेका थिए ।

पूर्ण कदको तस्वीरमा प्रधानमन्त्री ओली
 

 

०००



प्रकाशित: २०७६ भाद्र २०
September 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार