नेपाली समय: ०६:४९:०३ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

एडिबीको नेपाल लगानीः पुनर्निर्माण र ऊर्जामा सन्तोषजनक ! यी ६ आयोजनाबारे के हो एडिबीको मूल्यांकन ?

निर्माण सञ्चार, २० भदौ, काठमाडौं । बिहीबार काठमाडौंमा एसियाली विकास बैंक प्रतिनिधि सहित नेपाल सरकार र परियोजनामा संलग्न पार्टीहरु बीच त्रिपक्षीय वैठक बस्यो ।

मूलतः एडिबीले नेपालमा गरेको लगानीको प्रतिफलमा केन्द्रित उक्त समीक्षा बैठकमा एडिबीले केही आयोजना बाहेक अन्य पूर्वाधार तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमको प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै नेपालको कार्यशैली सुधारको संकेत गरेको छ ।

विगतका तुलनामा कार्य सम्पादन राम्रो भएको भनेको एडिबीले भूकम्प पछिको पुनर्निर्माणका सवालमा भइरहेका कामहरुको प्रगति भने सन्तोषजनक रहेको भन्दै विगत केही महिनादेखि नै ती काममा संलग्न सरकारी निकाय, नेपाली परामर्शदाता तथा निर्माण व्यवसायीको उच्च मूल्यांकन समेत गरेको थियो ।

एडिबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ। तीमध्ये पुनर्निर्माण र ऊर्जा उत्पादनको क्षेत्रको लक्ष्यअनुसार अघि बढिरहेको एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभको टिप्पणी थियो ।

सन्तोषजनक भनिएका परियोजनाका हकमा बोल्दा एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभ नेपाल सरकारले देखाएको तत्परताको खुलेर प्रशंसा गर्न पुगेका थिए भने जुन परियोजनाहरुका समय थप गर्नेदेखिका झन्झटमा छन्, तीबारे कार्यशैली सुधार गर्न पनि सुझाइ रहेका थिए ।

तर, नेपालमा ऊर्जा, सहरी विकास तथा पूर्वाधारमाथिको लगानीमा घाटा नजाने सोच पनि एडिबीको देखिन्छ । विगत वर्षदेखि उसले बढाएको अनुदान र ऋण दुवैले यो कुरालाई स्पष्ट पार्दछ पनि ।

सो कार्यक्रममा मुख्तोर खामुदखानोभले भनेका थिए, नेपाल सरकारको तत्परता राम्रो देखेर नै एडिबीले नेपाललाई अधिक ऋण उपलब्ध गराउन तत्पर भएको हो ।

यतिबेला एडिबीले नेपालमा थप ऋण लगानी गरेको मुख्तोरको भनाइ छ ।

उनले नेपालमा दिइएको ऋण ५९ करोड अमेरिकी डलर अर्थात् ६७ अर्ब ९३ कारोड ८५ लाख पुगेको पनि जानकारी दिएका छन् । र, आउने दिनमा नेपालको विकासका लागि एडिबीले अझै ‘सक्दो सहयोग गर्ने’ प्रतिबद्धता पनि दोहोराएका छन् ।

सापेक्ष सुधार, अपेक्षाकृत सुधारोन्मुख !

यद्यपि एडिबी लामो समय (स्थापनादेखि नै ५२ वर्षअघि) देखि नेपाली विकासको पार्टनरका रुपमा रहँदै आएको छ ।

यो लामो अन्तरालमा नेपालले हिजोका दिनमा आन्तरिक लेखा परीक्षण समेत गर्न नजानेको तितो सत्यदेखि आजका दिनमा प्रविधिपरक काम गर्न सक्ने क्षमता विकास समेत देखेको छ । 

नेपालको हिजो र आजको तुलनामा उसले अपेक्षाकृत सुधार र सन्तोषजनक अवस्था भन्नु स्वाभाविक हो । तर, के ऋण लिएर पनि सोचे भन्दा उपलब्धि हासिल गर्न नसकेको नेपालले एडिबीले पत्यायो भनी फुर्कनुको औचित्य होला ?

मुख्तोरले ‘नेपालको पोर्टफोलियो कार्यसम्पादनमा सुधार आएको छ तर एडिबीबाट प्राप्त हुने अन्य स्रोतहरूका लागि थप सुधार गर्ने चुनौती पनि छ’, भनेका छन् ।

अर्थ मन्त्रालयसँगको सहकार्यमा नेपालले आयोजना गरेको वार्षिक त्रिपक्षीय फोर्टफोलियो समीक्षा बैठकले के कस्ता पाटाहरुमा नेपालले सुधार गर्नु पर्ने औँल्याएको छ ? हामीले छिचोल्न आवश्यक छ ।

सहयोगमा वृद्धिदर उक्लँदो

पछिल्लो वर्ष एडीबीले नेपाललाई दिने सहायतामा वृद्धि हुँदै गएको छ । अघिल्लो वर्ष सन् २०१८ मा एडिबीले नेपालमा लगानीको सबैभन्दा बढी ५९ करोड २० लाख डलरको प्रतिबद्धता जनाएको थियो । 

एडिबी अनुसार नेपालका ३१ वटा आयोजनामा लगानी गर्न विनियोजित २ अर्ब ७० करोड डलरमध्ये ६८ प्रतिशत रकमका लागि सम्झौता भइसकेको छ । जस अनुसार ३१ जुलाई २०१९ सम्मको तथ्यांकअनुसार ४२ प्रतिशत रकम खर्च भइसकेको छ ।

सोही सन्दर्भमा एडिबी नेपालका पोर्टफोलियो व्यवस्थापन इकाईका प्रमुख रुदी भान डेलको भनाइ यहाँ उल्लेखनीय छ । उनले नेपालमा हुने कामप्रति ‘ढिलासुस्ती’ तर्फ पनि संकेत गरेका थिए । 

उनले भनेका थिए, ‘ढिला नगरी परियोजना कार्यान्वयनमा आयोजनाको प्रभावकारी पूर्वतयारी आवश्यक छ ।’

ढिलाइ र प्रभावकारितामाथि उनले जोड दिएका छन् । 

उनले अझै अघि आर्थिक लेखापरीक्षणको वैज्ञानिकता र चुस्तदुरुस्तता माथि पनि औंल्याए । उनले भने, ‘परियोजनाको लेखापरीक्षण भएको वित्तीय विवरण बुझाउनु र लेखापरीक्षण गर्नु पनि पोर्टफोलियो सुधारका लागि महत्त्वपूर्ण छ ।’

उनले यो के भनेको ? 

नेपालले अझै पनि काम गरे अनुसारकै लेखा परीक्षण भएको वित्तीय विवरण बुझाउ र अझै ठिक समयमै ठिक तरिकाले लेखापरीक्षण गराउन सकेको रहेन छ भन्ने त हो नि !

उनले समीक्षा वैठकको अर्थ समेत नेपालीलाई सिकाएका थिए । यी सबै झन्झटिला शैलीहरु सुधारका लागि नै समीक्षा गर्नु परेको उनको भनाइ थियो ।

उक्त वैठकमा अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशिक महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भूकम्पपछिको पुनर्निर्माणमा एडिबीले करिब ३९ करोड डलर सहायता प्रदान गरेको बताए ।

भूकम्प आपत्कालीन सहायता परियोजनाअन्तर्गत पुनर्निर्माण भइरहेका १ सय ५४ विद्यालय यतिबेला सकिने अवस्थामा पुगेका छन् । 

अन्य क्षेत्रमा कहाँ कति लगानी ?

एडिबीले नेपालको ऊर्जा क्षेत्रमा करिब ५५ करोड ४० लाख डलर सहायताको प्रतिबद्धता जनाएको छ । सन् २०१९ का लागि राखिएको १० करोड १२ लाख डलरमध्ये ११ करोड डलरभन्दा बढी खर्चका लागि सम्झौता भएको एडिबीको भनाइ छ ।

प्रसारण लाइन र वितरण सुधार परियोजनाका लागि मात्रै ७ करोड ४० अमेरिकी डलर बराबरको परियोजना कार्यान्वयनमा गएको एडिबीले जनायो ।
०००

किन अन्यौलमै छन् यी ६ आयोजना अझै ?

एसियाली विकास बैंकको लगानी रहेका करिब आधा दर्जन परियोजना समयमै पूरा हुन नसकेर उकुच पल्टेको घाउ सरह बनेका पनि छन् ।

तिनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि साना किसानको क्षमता अभिवृद्धिसम्म रहेका छन् । यतिसम्मकि यी आयोजनाको सम्झौता नवीकरण पनि हुन सकेको छैन । 

एडिबीले बिहीबार यस्ता आयोजनाको अवस्था पनि सार्वजनिक गरेको छ । उसको सूचीमा ५ वटा आयोजनाको सम्झौता नवीकरण हुन नसकेको स्पष्ट उल्लेख छ ।

ती मध्ये एउटा आयोजनाको सम्झौता नवीकरण प्रक्रिया अघि बढेको पनि बताइएको छ ।

नेपालमा एडिबी लगानीका अधिकांश आयोजना उत्साहजनक छैनन् । तिनमा सहरी पूर्वाधार, सडक र हवाइ, शिक्षा आदि प्रतिफलका हिसाबले उदासीन छन् ।

तिनमा आयोजनाको कार्यान्वयनको गति सुस्त छ । 

उसको प्रतिवेदनले यी समस्या किन भए भन्नेबारे औंल्याएको छ, जुन कुरा नेपाली विकासे अधकल्चे शैलीका कारण भित्र पर्दछन् ।

उसले नेपालका यस्ता आयोजना ढिलाइ हुनुमा ठेकदार परिचालन, परामर्शदाताको नियुक्ति, स्थानीय निर्माण सामग्रीको अभाव, स्थानीय अवरोध, ठेकेदारले समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति आदि कारण देखाइएका छन् ।

उसले सहयोग दिएका मध्ये हाइवे सुधार आयोजना र प्रकोप सहायता कार्यक्रममा पनि सोचे अनुसार प्रगति नभएको उसको भनाइ छ ।

नेपालमा बसेको उक्त वैठक सन् २०१९ को दोस्रो त्रिपक्षीय समीक्षा वैठक हो एडिबीका रुदी भान डेलले यस्ता समस्या औल्याउँदै बोलेका छन् । उनका अनुसार नेपालमा सञ्चालित अधिकांश आयोजनाले लक्ष्यअनुसार प्रगति हासिल गर्न सकेका छैनन् । 

यतिबेला नेपालमा एडिबी सहायता रकम २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको पुगेको उनको भनाइ छ । तर, समयमै काम नहुने र आयोजना अलपत्र पर्ने अवस्थाका कारण आधा रकम पनि भुक्तानी हुन नसकेको एडिबी बताउँछ ।

एडिबीले जनाए अनुसार सन् २०१९ मा भित्रै थप ५ वटा आयोजना कार्यान्वयनको समय नै सकिदै छ । यो समय भित्र नेपालले कामको परिणाम भने दिनेवाल छैन ।

उक्त परियोजना मध्ये केही आयोजना सन् २०१० बाटै सुरु भएका थिए । 

आर्थिक वर्ष २०१७÷१८ मा ७ वटा आयोजना सम्पन्न भएका छन् । उक्त आयोजनामा समेत तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थपेर सम्पन्न गरिएका छन् । समय थप्दा ४ महिनादेखि १४ महिनासम्म पुगेको छ ।

यी हुन् नवीकरण हुन नसकेका आयोजना

  • काठमाडौं दिगो शहरी यातायात परियोजना    
  • आइसीटी विकास परियोजना    
  • हवाई यातायात क्षमता अभिवृद्धि आयोजना    
  • यातायात आयोजना पूर्वनिर्धारित सुविधा    
  • साना तथा मझौला कृषकको आम्दानी वृद्धि सम्बन्धी आयोजना    
  • क्यापिटल मार्केट र पूर्वाधार क्षमता सहयोग परियोजना
एडिबीले जनाए अनुसार यी कार्यक्रमहरु नवीकरण हुन नसकेको अवस्थामा छन्
 

स्रोतः एसियाली विकास बैंक

 

०००

 



प्रकाशित: २०७६ भाद्र २०
September 6th 2019

नवराज खतिवडा

खतिवडा निर्माण मिडियाका लागि सम्पादक हुन्