नेपाली समय: ०६:५१:४९ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

अमेरिका–तालिबान ‘द्वन्द्व’, किन तोडे ट्रम्पले तालिबानको सम्झौता ? ट्रम्पको कदमले तालिबान थप शक्तिशाली !

निर्माण सञ्चार, २२ भदौ, ०७६, एजेन्सी–बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता भंग गरेको घोषणा गरे लगत्तै विश्व राजनीतिक रंगमञ्चमा फेरि एकपटक तालिबानी शक्तिबारे चर्चा चलेको छ ।


ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीट गरेर आइतबार क्याम्प डेविडमा तालिबानी नेता र अफगानी राष्ट्रपतिसँग गोप्य बैठकमा भाग लिने कार्यक्रम निश्चित भएपनि अब यसलाई रद्द गरिएको जानकारी दिएका थिए ।

उनले काबुलमा भएको कार बम बिस्फोटपछि उक्त कदम उठाएको बताएका छन् जसमा एक अमेरिकी सैनिकसमेत १२ जनाको मृत्यु भएको थियो । 

तालिबानले उक्त हमलाको जिम्मेवारी लिएको थियो ।

अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमबार तालिबानसँग ‘सैद्धान्तिक रुपमा’ एक शान्ति सम्झौता भएको घोषणा गरेका थिए ।

प्रस्तावित सम्झौता अनुसार अमेरिका अबको २० हप्ताभित्र अफगानिस्तानबाट आफ्नो पाँच हजार चार सय सैनिक फिर्ता लैजादैँ थियो ।

यद्यपि, अमेरिकी राजदूतले सम्झौतामाथि अन्तिम मुहर राष्ट्रपति ट्रम्पले लगाउनु छ भनेका थिए ।

बिहिबार काबुलमा भएको कार बम बिस्फोटपछि तालिबानसँग वार्ता हुँदा पनि अफगानिस्तानमा हिंसा बन्द हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

तालिबान बलियो बन्ने चर्चा !

सन् २००१ मा अमेरिकी सैन्य अभियानपछि पहिलो पटक अफगानिस्तानमा एउटा ठूलो हिस्सामा चरमपन्थीहरुको नियन्त्रण भएको छ ।

तालिबानले अफगान सरकार अमेरिकाको कठपुलती भएको भन्दै कुराकानी अस्विकार गर्दै आएको छ ।

अमेरिका र तालिबानबीच कतारमा अहिलेसम्म ९ चरणको शान्ति वार्ता भइसकेको छ ।

प्रस्तावित सम्झौतामा अमेरिकी सैनिकको विदाईको बदलामा तालिबानले कहिले पनि अमेरिका र उसको सहयोगीमाथि हमलाका लागि अफगानिस्तानको प्रयोग नगर्ने प्रावधान थियो ।

तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गरेको थियो ।

अफगानिस्तानमा सन् २००१ मा अमेरिकाको अगुवाईमा सुरु भएको सैन्य अभियानपछि अन्तरराष्ट्रिय गठबन्धन सेनाका लगभग तीन हजार पाँच सय सदस्यको ज्यान गइसकेको छ जसमा दुई हजार तीन सय अमेरिकी छन् ।

अफगानिस्तानका सर्वसाधारण, चरमपन्थी र सुरक्षाबलको मृत्युको संख्यामा अन्दाज लगाउन कठिन छ ।

सन् २०१९ मा संयुक्त राष्ट्रले आफ्नो एक रिपोर्टमा त्यहाँ ३२ हजार बढी सर्वसाधारणको मृत्यु भएको बताएको छ ।

यस्तै, ब्राउन युनिभर्सिटीका वाटसन इन्स्टिच्युटका अनुसार त्यहाँ ५८ हजार सुरक्षाकर्मी र ४२ हजार विद्रोही मारिए ।

 

०००

 



प्रकाशित: २०७६ भाद्र २२
September 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार