नेपाली समय: ०६:४६:१२ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

चिनियाँ विदेशमन्त्रीलाई राज्यमन्त्री स्तरीय स्वागत गर्यो काठमाडौंले ! कस्तो छ वाङ भेटघाटको तालिका ?

निर्माण सञ्चार, २२ भदौ, काठमाडौं । तीन दिने भ्रमण तालिका लिएर चिनियाँ विदेश मन्त्री वाङ आइतबार साँझ ६ बजे काठमाडौं अवतरण गरेका छन् । परराष्ट्र मन्त्रालयस्तरीय औपचारिक निमन्त्रणामा आएका शक्तिशाली राष्ट्र चीनका विदेश मन्त्रीलाई काठमाडौंले भने राज्यमन्त्री स्तरीय स्वागत दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाङलाई स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका हुन् ।

वाङ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका छन् । कूटनीतिक वृत्तमा उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा चर्चा छ ।

वाङको यस्तो छ भेटघाट तालिका 

वाङको भेटघाट तालिका भने सोमबारदेखि मात्र सुरु हुने छ । सोमबार विदेशमन्त्री वाङको शिष्टाचार भेटवार्ता राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने तालिका रहेको छ । 

परराष्ट्र स्रोत अनुसार प्रधानमन्त्रीसँगको भेटमा भने चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) र चिनियाँ सहयोगमा नेपालमा सञ्चालन भइरहेका निर्माणाधीन परियोजनाबारे छलफल हुने 
छ ।

सोमबार नै विदेशमन्त्री वाङको भेटवार्ता समकक्षी प्रदीप कुमार ज्ञवालीसँग हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्ट जस्ता विषयमा केन्द्रित हुने छ ।

उक्त भेटमा चिनिया चासो चीन–काठमाडौं रेलमार्ग रहने देखिएको छ । चीन काठमाडौं रेलमार्गका विषयमा भने नेपालले कुनै पनि पूर्व तयारी नगरेको चिनिया गुनासो केही महिना अघि चीन नेपाल सरकारी अधिकारी स्तरीय वार्तामा बेइजिङमा नेपाली टोलीलाई चीनले गरेको थियो ।

त्यसपछि लगभग ४ महिना बितिसकेको छ, चिनिया रेलको कुरा गरेर नथाक्ने सरकारले चीनसँग भएको दुई पक्षीय छलफलले तोकेको पूर्वतयारी गर्न भने चासो नै दिएको छैन ।

वाङको यो भ्रमण तीन तहका निर्वाचन सम्पन्न भई नेकपा सरकार गठनपछिको चीन तर्फबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो । 

वाङ चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री थिए । उनी यसअघि सन् २०१४ मा पनि नेपाल आएका थिए । सरकारी अधिकारी भेटसँगै उनले प्रमुख प्रतिपक्षी दलका नेता काँग्रेस सभापति शेरबहादुर देउवा तथा मधेस केन्द्रित दलका नेतालाई पनि भेट गर्ने स्रोतको दाबी छ ।

के राष्ट्रपति सी नेपाल आउलान् ?

यो प्रश्न नै अत्यन्त चासोको विषया हो । विश्वकै शक्ति राष्ट्र चीनका राष्ट्रपति नेपाल आउने भन्ने चर्चा नेपाली राजनीतिक रंगमञ्चमा चल्दै आएता पनि राष्ट्रपति सी जिन फेङ भने नेपाल आएका छैनन् ।

यस अघि पनि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो गरेकी थिइन् । तर, चिनियाँ पक्षबाट भने राष्ट्रपति सीको नेपाल भ्रमण ‘उपयुक्त समयमा हुने’ भनिदै आएको अवस्था हो ।

वाङ भ्रमणको पूर्वसन्ध्यामा समेत सीको सम्भावित भ्रमणको वातावरण बनाउने चर्चा रहे पनि मिति निश्चित समेत भइसकेको छैन ।

परराष्ट्रमन्त्रालयका अधिकारीका अनुसार राष्ट्रपति सी आउने असोज अन्तिम साता भारत भ्रमण गर्ने छन् । भारत आएकै मौकामा उनी नेपाल आउन सक्ने अनुमान गरिएको छ ।

तर, भारतीय चासो नबुझी चिनियाँ राष्ट्रपति सी नेपाल आइहाल्ने वा नआउने भन्ने यकिन हुन भने सजिलो छैन । 


०००



प्रकाशित: २०७६ भाद्र २२
September 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार