नेपाली समय: ०६:५०:३६ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

विदेशबाट फर्केका युवा कुखुरापालनदेखि अटो व्यवसायमा रमाउँदै

निर्माण सञ्चार, २३ भदौ, जुम्ला । तातोपानी गाउँपालिका २ जर्मी गाउँका लालचन्द्र चनारालाई कतारबाट फर्केर आफ्नै इलम गरेर बसेका छन्। लाखौं ऋण लिएर रोजगारीका लागि उडेका चनाराले झण्डै ३ वर्ष कतारको तातो घाममा पैसा कमाउनकै लागि विताए । खासै कमाइ गर्न नसकिएपछि खर्च जुटाएर तीन वषमै धौँधौँ गरी घर फर्किएको उनले बताए ।

स्वदेश फर्किसकेपछि के गर्ने भन्ने मेलोमेसो त्यति थाहा नपाएका चनारा गाउँमै पोल्टी फर्म खोलेर कुखुरा पालनमा जुट्ने निधो गरे । चनारा भन्छन, 'यताको सबै माहोल हेर्दा त कहिले फेरी विदेश जाऊ जस्तो पनि हुन्थ्यो ।' तर गाउँकै युवा हस्त बुढाले उनलाई ठुलो उर्जा दिए । स्वदेशमै केहि इलम गरे सुन फल्छ किन विदेश धाउने भन्ने कुरा साथीले गरेपछि अहिले ‘पार्सपोर्ट सिरानीमुनि थन्क्याएको छु, अर्काको देशमा गई दुःख गर्नु भन्दा त यतै राम्रो लागेपछि कुखुरा पालनमा जुटेकाे बताउछन्।

कुखुरालाई पानी दिँदै उनले भने, ‘अब विदेश जानु छैन, रमिला पोल्टी फर्म दर्ता गरी व्यवसायीक कुखुुरा पालन गर्दै आएको १ वर्ष भयो । आफ्नै देशमा दुःख गरी मनग्गे आम्दनी गरिरहेको छु ।’ विदेशमा ३ वर्ष  काम गरेर आएका उनले कुखुरा पालनबाट झन्डै मासिक ५० हजार बढी आम्दानी गरिरहेको सुनाए । विदेशबाट ठुलो ठक्कर खाएर जन्मभुमि सम्झी आएका चनारा र बुढा मिलेर संयुक्त कुखुरा पालन गरेका हुन् ।

आफ्नै ५ लाख बढीको लगानीमा स्थानीय (बोईलर) कुखुरा र चल्ला पालन गरेका छन् । पहिला दैनिक बिना काममा डुल्ने बुढा आजभोली परिश्रमी बनेको उनकी आमा मन्नु बुढाले बताउछिन् । छोेरो राम्रो बाटोमा लागेर आफ्नो भविष्यका बारेमा सोच्न थालेको प्रति उनी निकै खुसी छन् । त्यस्तै लालचन्द्र चनाराकी आमा कितु चनारा पनि उस्तै खुसी छन् । विदेशबाट आएका हरु कोहि घरमा बस्दैनन्, बसेपनि व्यापार व्यवसाय कसैको छैन्, तर आफ्नो छोरो गाउँमै बसेर कुखुरापालन व्यवसायमा लाग्दा सारै राम्रो काम गरेको सुनाईन् ।

कुखुरा पालनको तालिम नलिएपनि विदेशमा गएर उनले आफ्नै ठाउँमा केहि गरेर नाम कमाउने ईकले नै कुखुरापालनमा लागेको बताउछन् । हाल झण्डै २ सय ५० बढी कुखुरा छन् । सिजनअनुसार कारोबार राम्रो हुने गरेको छ ।

‘विदेशमा भौतारिनुभन्दा यहीं काम गर्ने जाँगर चल्यो, 'चनाराले भने। विदेशिएकाले कमाउन भन्दा राम्रो सुरक्षित रुपमा यही मनग्य कमाएपछि किन जानु पर्योे विदेश भन्दै व्यंगे समेत गरे । निरन्तर पालनमा झन्झट भए पनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा खोरबाटै लिन्छन, कोहि टाढा बाट आउनेहरु अर्डर थालेपछि यो व्यवसाय फस्टाउँदै गएको उनको भनाइ छ ।

‘स्वदेशमै केही गर्न सक्छु भन्ने लाग्यो, कुखुरा पालनमा लागे यसैको आम्दानीले जीवनस्तर अहिले माथि उठेको छ ।  तर, पछिल्लो समय बिदेशिन लागेका तातोपानीका केही युवा गाउँलेसमेत आफ्नो कुखुरा पालनको आम्दानी देखेर दोधारमा पर्छन् जाउँ की नजाउँ भनेर, तर स्थानीय सरकारले आवश्यक सहयोग गरेको खण्डमा स्वदेशमै केही गर्ने युवाको मनसाय छ । तर पनि विदेशबाट फर्केका युवायुवती केहि न केहि व्यवसाय गरिहेको गाउँ पिच्छेनै भेटिन्छन् आजभोली ।

कुखुराको माग बढ्दै

जुम्ला सदरमुुकामबाट ल्याएर चल्ला र कुखुरा गाउँमा पाल्छन् चनारा र बुढा । पछिल्लो समय कुखुराको माग बढेको छ । पिक्निकदेखि कुनै भोज खाँदा होलट व्यवसायीहरु अर्डर अनुसार लिन्छन् । भने वर्षमा चार पटक आउने पुर्णिमामा मन्दिरमा कुखुरा चढाउन, दैनिक सयौँका हिसाबले लिन्छन् । गएको साउन पुर्णीमामा मात्रै ५० हजारका कुखुरा बिक्री भएको हस्त बुढाले बताए ।

कक्षा १२ पास गरेका दुबै जनाको दैनिकी जीवन कुखुरा फर्म सँगै बितिरहेको छ । पहिला निकै निम्न आयस्तर भएको दुई युवाको परिवार अहिले अरु सरह खान लगाउने  समेत भएको छ । घर छोडेर बाहिर गएपछि ज्युँले कला सिकिदो रहेछ । चनाराका अनुसार अब यसै व्यवसायलाई दिगो बनाएर, व्यवसायीक रुपमा चल्ला उत्पादन गरी सप्लार्यस बन्ने याेजना रहेकाे छ ।

स्थानीय सरकारले सहयोग गरेको खण्डमा अन्यलाई रोजगारी दिने हिसाबले  व्यवसायलाइ थप ठूलाे बनाउने चनाराले बताए। विशेष गरी गिरिराज, ब्रोइलर र टर्की जातका कुखुरा जिल्लाका विभिन्न गाउँमा व्यवासायिक रूपमा पाल्न थालिएको छ । जिल्लाभर गाउँका लोकल कुखुराभन्दा ब्रोइलर, गिरिराज लगायतका जातका कुखुराले बजार पाउन थालेको छ ।

अटो व्यवसायका रम्दै युवा

तीन वर्ष कतारमा बिताएर फर्किएका तातोपानी २ कै नरेन्द्र सुनारकाे पनि एक सफल युवामा नाम अाउछ । उनको घरमा ४ जना भाइ छन् । सबै विवाह गरी आआफ्नै  इलम गरेका छन् । गाउँमा केही काम नपाएपछि विदेश  गए  । तर विदेशको पैसाले आफ्नो सन्तानको भविष्य सुरक्षित नदेखेपछि स्वदेश फर्किए लगत्तै पासर्पोडलाई कुनामा फालेर अटो किने । 'अहिले दैनिक अटो चलाएरै ३ देखि ५ हजार कमाउँछौँ', उनले भने । उनको मासिक कमाइ कुनै अधिकृत भन्दा कम छैन् ।

त्यस्तै सोही गाउँका बम बहादुर रावलल पनि अटो चलाएरै लाखौ कमाइरहेका छन् । १२ पास गरी विदेश गएकी उनी फर्किने बित्तिकै कमाएको पैसाले अटो किने । पैसा खाएर जान्छ केही दिगो हुने काम गर्ने सोचले अट व्यवसायमा लागेको बताए । अहिले अटोको किस्ता तिरेर अटोको कमाइबाट घरपरिवार चलेको  सुनाए । विदेशमा मात्रै पैसा छैन् । उद्यम गरे घरकै बाझो माटोमा पनि सुन फलाउन सकिने उद्यमी युवाहरुको भनाइ छ । अभाव र गरिबिले दिएको चेतनाकै कारण उनीहरूकाे दैनिकी फेरिएकाे छ।

युवा सुनारले भने, 'अर्काको देशमा गएर भनाइ सहनु हाम्रो बाध्यता हो । आफ्नै ठाउँमा गरे के हुदैन।' अहिले चनारा,बुढा र  सुनार सबै युवाका लागि प्रेरणाका पात्र बनेका छन् । कुखुरापालन देखेर अधिंकाश युवाले फ्रेश हाउस खोलेर बस्नुका साथै विदेश नजाने मनसाय बनाएका छन् । यी युवा उद्यमीहरु अझै ठुलो व्यवसाय गर्ने सोचमा छन् ।

युवा उद्यमीका लागि १० लाख

तातोपानी गाँउपालिकाले युवा उद्यमीका लागि चालू आवमा १० लाख बजेट छुट्याएकाे छ । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रराज गिरीका अनुसार युवा उद्यमी बढाउने स्वदेशमै रोजागरी सृजना गर्न युवतीलाई ढाका बुनाइ तालिम, युवालाई आरन व्यवसायको तालिम दिइने योजना रहेकाे छ ।

कुखुरा पालन, कृषि व्यवसायमा लागेका युवालाई आवश्यक सहयोगका लागि केही बजेटको व्यवस्थापन विशेष गाउँ सभाबाट गर्ने उनको भनाइ छ । गाउँमै उद्यम गर्नेलाई सम्मान तथा प्रोत्साहनका कार्यक्रमहरु समेत गरिने उनले बताए।

 

OOO



प्रकाशित: २०७६ भाद्र २३
September 9th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्