नेपाली समय: ०६:५०:५६ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

पेट्रोलियम इन्धन भित्र्याउने दिशामा ‘क्रान्ति’, ओली र मोदीले गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार दिउँसो उद्घाटन भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् ।

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट एकैसाथ स्वीच थिचेर उद्घाटन गरे ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार लिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ ।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ ।

सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौँ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ ।पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो ।

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण सुरु भएको हो । परियोजनाको लागत करिब चार अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

 

OOO



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार