नेपाली समय: ०६:४२:५९ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

अरनिको राजमार्ग निर्माण कार्य तीव्र गतिमा

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं ।  पछिल्लो सयम सरकारले देशैभर बाढीले क्षति ग्रस्त संरचनाको निर्माण कार्यलाई निरन्तरता दिएपछि सडक, पुल र राजमार्ग निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। सोही क्रममा अरनिको राजमार्ग निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले बाढीबाट भत्किएको अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–९ स्थित ५४ किलो आसपासको सडक निर्माणको काम तीव्र गतिमा गरिरहेको हो।

भत्किएको सडक निर्माणका लागि तीन ठाउँमा खोलादेखि नै जग उठाएर पर्खाल लगाउने काम तीव्र गतिमा भइरहेको सडक डिभिजन कार्यालयका इञ्जिनीयर अनन्द श्रेष्ठले बताए।

“भत्किएको सडकको अनुगमन गरी माथि बुझाएको विवरणका आधारमा तीन ठाउँमा आकस्मिक रुपमा निर्माण गर्ने काम भइरहेको छ”, उनले भने, “छुट्टाछुट्टै सूचना आह्वान गरी निर्माण थालनी गरेको एक महीनाभित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।”

भत्किएको ठाउँका आधारमा गरी एक करोड ३४ लाख ९८ हजार, ७४ लाख र  एक करोड ६५ लाखमा गरी कूल तीन करोड सात लाख ३८ हजार रुपियाँमा सडकको काम भइरहेको छ । तत्कालीन अवस्थामा गरिएको अनुगमनका क्रममा अन्य चार÷पाँच ठाउँमा भासिएको सडकखण्ड भने विस्तारै मर्मत गर्ने गरी प्रक्रिया अगाडि बढाइसकिएको उनले बताए ।

इञ्जिनीयर श्रेष्ठका अनुसार अहिलेसम्ममा ७० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी ३० प्रतिशत काम निर्माणको चरणमा रहेको छ । सम्झौताअनुसार बाँकी काम आगामी असोज ७ गतेभित्रमा सम्पन्न गर्नुपर्ने छ । तोकिएको समयमा नै काम सम्पन्न हुने उनको भनाइ छ।

गत साउन २५ गते राति परेको भारी वर्षाका कारण चाखोलामा गएको बाढीले खोला दायाँबायाँ काटिएर ठाउँ÷ठाउँमा भासिएर क्षति पुगेको अरनिको राजमार्गको जेरोकिलो दोलालघाट सडकखण्डअन्तर्गत ५४ किलो आसपासको सडक भत्किएपछि एकतर्फी रुपमा सवारी सञ्चालन हुँदै आएको छ ।

 

 

OOO



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार