नेपाली समय: ०६:५१:०० बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

चिलिमे–त्रिशूली प्रसारण लाइनको भौतिक प्रगति कहाँ पुग्यो ?

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं ।  पछिल्लो समय सरकारले उर्जा क्षेत्रको विकासका लागि ठोस कदम चालेको छ। सरकारले राष्टिय तथा अन्तर्राष्टिय स्तरमा लगानीकर्ताहरुलाई अपिल गर्दै उर्जा क्षेत्रमा लगानी भित्र्याइ रहेको छ।

देशभर अधिकांश स्थानमा जलविद्युत आयोजनाको निर्माण कार्य तीब्र गतिमा भइरहेको छ। सोही क्रममा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण कार्यमा केही प्रविधिक कारणले ढिलाइ भइरहेको छ। यस  चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको ४५ प्रतिशत भौतिक प्रगति भएको छ।

आयोजनाका अनुसार अहिले प्रसारण लाइनको डिजाइनको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको हाकु र तिरुमा १५ वटा टावरको एक्काभेसनको काम सकिएको छ।

१५ वटा टावर राख्ने स्थानमा सडक पहुँच नपुगेका कारण निर्माण सामग्री लैजान कठिनाइ भएको आयोजनाले जनाएको छ। सडक नपुगेका कारण फाउन्डेसन निर्माण गर्ने काम मानिसले गर्दा निर्माणमा ढिलाइ हुन पुगेको आयोजना प्रमुख सुभारम्भ विक्रम शाहले बताए। ‘यस क्षेत्रमा फाउन्डेसन निर्माणमा धेरै समय लाग्यो,’ उनले भने, अन्य क्षेत्रमा स्काभेटर तथा डोजरको प्रयोग गर्छौं।’

सडक पहुँच नपुगेको स्थानमा हेलिकप्टर वा रोपवेको माध्यमबाट सामग्री लैजाने उनको भनाइ छ। भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेका कारण निर्माणमा ढिलाइ भएको उनले बताए। आयोजना निर्माण चिनियाँ ठेकेदार पिङ्गाओ ग्रुप लिमिटेडले गरिरहेको छ। रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन निर्माण गरिएको हो।

आयोजनाले जग्गा अधिग्रहण गर्ने काम तथा मुआब्जा वितरण गर्ने काम सकिएको जनाएको छ। आयोजनाको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। सन् २०१७ डिसेम्बर २० देखि प्रसारणलाइन निर्माण सुरु भएको आयोजनाको सन् २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो।

सम्झौताअनुसार काम गर्न नसकेपछि आयोजनाले निर्माणको म्याद थपेको छ। थपिएको समय सीमाअनुसार सन् २०२० फेब्रुअरी २९ मा निर्माण सम्पन्न गरिसक्नु पर्छ। प्रसारण लाइन निर्माणका लागि सन् २०१७ नोभेम्बर १३ मा ठेक्का सम्झौता भएको थियो।

 

 

 

 

000



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार