नेपाली समय: ०६:४४:२८ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

‘पेट्रोलियम पाइपलाइन उद्घाटनले ऐतिहासिक युगको ढोका खोल्यो, ढुवानी सस्तो हुँदा चर्काे मूल्य पनि घट्ने निश्चित छ’ खगराज अधिकारी

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार मध्याह्न संयुक्त रुपमा नेपाल भारत क्रस बोर्डर लाइन अमलेखगन्जमा रहेका ‘क्रस बोर्डर पेट्रोलियम पाइपलाइन’ को उद्घाटन गरे ।

त्यो पनि दक्षिण एशियामै नमूना हुने गरी दुवै प्रधानमन्त्रीहरुले आ–आफ्नो देश छाडेनन्, न त फिल्डबाट उनीहरु टाढा नै रहे । नेपालका प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयको ‘एक्सन रुम’बाट र मित्रराष्ट्र भारतका प्रधानमन्त्री मोदीले आफ्नै मुलुक दिल्लीबाट उक्त कार्यक्रममा सरिक भए । 

जुन दृश्य अक्सर, धेरै जनमानसकै लागि पनि नौलो लागिरहेको थियो ।

दुई मित्रराष्ट्रका कार्यकारी प्रमुखहरुले दक्षिण एसियामै नौलो प्रयोग गरेर आफूलाई नमूना त सिद्ध गरे नै, त्यो भन्दा बढी प्रविधिको प्रयोगले अब मित्रराष्ट्रहरुसँगको कार्यव्यापार समेत भौतिक र भौगोलिक रुपमै उपस्थित नहुँदै पनि विकास योजनाका कामहरु अगाडि बढाउन सकिने रहेछ भन्ने सन्देश समेत दिन सफल भए ।

सिंहदरबारबारबाट प्रधानमन्त्री ओली र नयाँदिल्लीबाट भारतका प्रधानमन्त्री मोदीले स्चि अन गरेर पहिलो क्रस बोर्डर पेट्रोलियम पाइप लाइनको उदघाटन गर्दा नेपाली अधिकारीहरु त उत्साही देखिन्थे नै, सञ्चारकर्मीहरुले समेत प्रधानमन्त्री कार्यालयमा टेक्नोलोजी अभ्यासको नमूना प्रयोग अनुभूति गर्न पाए ।

उक्त कार्यक्रमको भव्यता दिने पक्ष थियो नेपाल आयल निगम । निगमका अधिकारीहरु भने फिल्डमै गएर पाइपबाट खसेको तेल बोतलमा थाप्न आतुर थिए । उनीहरु सोमबारै अमलेखगञ्ज पुगिसकेका थिए ।

करिब अढाइ दशकदेखिको चर्चा तर कामले भने उचाइ नलिएको क्रसबोर्डर पाइपलाइनबाट नेपालमा सिधै पेट्रोलियम भित्रिने कुरा चानचुने कुरै होइन ।

इन्धन आयात नेपालका लागि भारत निर्भरताकै कारणले पनि व्यापार घाटाको कारण बनेको सबैलाई थाहै छ । बाटोको समस्या समेत लामो समयदेखि आधुनिक आकार नपाइसकेको नेपालका लागि पाइपलाइनबाट इन्धन आयात गर्नु यातायात जतिको खर्चिलो र चुनौतीपूर्ण पनि होइन । 

जुन आयल इन्धन अब स्वतः नै सस्तो पर्ने छ । यसले जनताको ‘सेभिङ’ क्षमतालाई प्लस गर्ने बताउँछन् नेपाल कम्युनिस्ट पार्टीका लागि काश्कीका सांसद् खगराज अधिकारी ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले आजै प्रतिनिधि सभा वैठकमा बोल्दै यस कार्यलाई ‘ऐतिहासिक’ संज्ञा दिएका छन् 
। 

नाकाबन्दी युगको अन्त्य हुने दिन आयो
 

उनले पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि नेपालमा अर्काे ऐतिहासिक युगको सुरुवात भएको टिप्पणी गरेका हुन् ।

अक्सर स्थानीय तहमा पूर्वाधार विकासमा ज्यानै दिएर लाग्ने समाज सेवामा उच्च स्थान पाएका सांसद अधिकारीले पेट्रोलियम पाइपलाइन उद्घाटनप्रति नेपालीले गौरव गर्नुपर्ने पनि बताएका छन् ।

उनका अनुसार पाइपलाइनका कारण इन्धन ढुवानीको लागत घटेर मूल्य पनि घट्ने छ भने अब नेपालीले धेरै वस्तु सुपथ मूल्यमा उपभोग गर्न पाउने छन् ।

सांसद अधिकारीले भने, ‘यसका निम्ति नेपाल सरकार र छिमेकी मित्रराष्ट्रराष्ट्रलाई धन्यवाद दिनुपर्छ । यो एतिहासिक युगको सुरुवात भएकोमा हामीले गौरवको अनूभूति गर्नुपर्छ ।’

सांसद अधिकारीले नेपाल भारत बीचको हिजोको सम्बन्धमा समेत नयाँ आयाम थपेको भन्दै अब नाकाबन्दी सदाका लागि समाप्त हुने दिन आउन लागेको पनि बताए । 

नेपाल सरकारले हिजै मात्र चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमणमा ३ बुँदे सहमति गरको थियो ।

एकै दिनको अन्तरमा दुई छिमेकी मुलुकबाट नेपालको हितका लागि थप विकासे प्रगति भएकै बेला सांसद अधिकारीले ‘नेपालले नाकाबन्दी कहिल्यै भोग्ने अवस्था नआउने’ दृढता व्यक्त गरे ।

०००

उक्त पेट्रोलियम पाइपलाइन भारतको मोतीहारीबाट नेपालको अमलेखगञ्जसम्म ६९ किलोमिटर दुरीमा रहेको छ । यो पाइप लाइन दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो ।

यो पाइपलाइनको क्षमता २० लाख टन प्रतिवर्ष तेल आयात गर्न सक्ने रहेको छ । 

प्रधानमन्त्रीद्वयले स्वीच थिचेपछि अमलेखगञ्जमा रहेका आयल निगमका अधिकारीहरुले बोतलमा तेल थापेर आदान–प्रदान गरेका थिए ।

यो पाइपलाइनको चर्चा भने विगत २४ वर्षदेखि हुँदै आएको थियो । चर्चा मात्रै गरेर नेपालका कतिपय मुख्य सचिवहरुले समय बिताएको देखिन्छ ।

 

०००

पढौं यो पनि



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार