नेपाली समय: ०६:४६:२६ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

किशोरी अवस्थामै आमा बन्दा मानसिक तथा घरेलु हिंसाकाे शिकार, सचेतनामूलक कार्यक्रममा कागजमा मात्र सीमित

निर्माण सञ्चार, २५ भदौ, जुम्ला । बालविवाह न्यूनीकरणका लागि कर्णालीमा दर्जनौं संघसंस्थाले सचेतनामूलकका कार्यक्रम गर्दै आएका छन्। त्यस्तै गाउँपालिकाले बालविवाहविरुद्ध त अभियान नै चलाएको छ । “बिहेबारी कम्तिमा २० वर्ष पारी” भन्ने जस्ता नारा लगाउदै, बालबिवाह रोक्ने अभियान चलाएका छन् । तर पनि जुम्ला लगायत कर्णालीका अधिकांश जिल्लामा बालविवाह न्यूनीकरण हुन सकेका छैन।

औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले नै बालविवाह ग्रामीण क्षेत्रमा बढी छ  । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार कर्णालीका १० वटै जिल्लाको आकलन गर्दा समग्र रुपमा ५२ प्रतिशत बालविवाह रहेको पाइएको छ।

शिक्षित भन्दा ग्रामीण क्षेत्रमा बालविवाह बढी छ । २०६८ को जनगणनाअनुसार जुम्लाकोे कुल जनसंख्या एक लाख १८ हजार छ । जस मध्ये ५५ हजार ४ सय ४२ जना बालबालिका छन् । जम्मा बालबालिकाको ५२ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गरेको  तथ्यांकले देखाएको छ ।

जसमा जुम्ला ६७ प्रतिशत बालविबाह अझै भइरहेको छ । भने, कर्णाली अस्पताल जुम्लाले निकालेको एक रिर्पोटका अनुसार बालविवाहकै कारण जुम्लामा किशोर अवस्थामै आमा बन्नेको संख्या २७ प्रतिशत रहेको देखाएको छ । १२ वर्ष देखिमाथि २० वर्ष नपुग्दै विवाह गर्ने किशोरी जुम्लामा मात्रै २७ प्रतिशत रहको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाको तथ्यांकमा छ । जुम्लामा २७ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बन्ने वा पहिलो बच्चा जन्माउने गरेका छन्।

कर्णालीका १० जिल्ला मध्य बालबिवाह हुने मध्य जिल्लाका रुपमा रहेको जुम्लामा किशोरा अबस्था आमा बन्नेहरु पछिल्लो समय ह्वात्तै बढेका हुन् । किशोरी उमेरमै आमा हुदा आमा र बच्चा दुवैलाई विभिन्न खालका स्वास्थ्यमा समस्या देखिने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा अस्पतालमा सुत्केरी गराउन आएका ६ सय ७४ मध्ये १ सय ७९ जना किशोरी थिए । त्यस्तै आव २०७५÷७६ मा सुत्केरीका लागि आएका ६ सय ७८ महिलामध्ये १ सय ३० जना किशोरी २० वर्ष मुनिका रहेको प्रतिष्ठानको तथ्यांकमा छ ।  त्यसैगरी सुत्केरी गराउन आउनेमा २०–३४ वर्षका ५ सय १८ र ३५ वर्षदेखि माथिका २७ जना रहेको अस्पतालले जनाएको छ ।

गर्भावस्थामा दुई आमाको मृत्यु

गत वर्ष गर्भावस्थामा दुई आमाको मृत्यु भएको थियो । सानै उमेरमा विवाह गरेकै कारण गर्भाधारण हुन नसक्दा गत वर्ष जुम्लाा दुईजनाको मुत्यु भएको प्रतिष्ठानको रेर्कड छ । मृत्युहुनेमा चन्दननाथ नगरपालिका– ७ की विष्णुमाया महतको गत २६ असोजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको थियो ।

गर्भपतन गर्न स्वास्थ्यकमीको सल्लाहविना औषधि प्रयोग गर्दा अत्यधिक मात्रामा रक्तस्राव हुँदा उनको मृत्यु भएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ । गर्भावस्थामा उनलाई निमोनिया र मुटुरोग रहेकाले पनि गर्भपतनको औषधि प्रयोग गर्दा यस्तो दुर्घटना हुन पुगेको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी, तातोपानी गाउँपालिका–७ ताम्ती गाउँकी १८ वर्षीया संगीता रावतको गत ३० फागुनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गर्भवती भएको २८ हप्तामा उनको मृत्यु भएको अस्पताल निर्देशक धर्मराज गोसाईंले बताए । कम उमेरमा गर्भवती भएको, उचाइ सानो भएको, गर्भावस्थामा निमोनिया भएको, मुटुसम्बन्धी समस्या देखिएको र नसा बन्द भई रक्तसञ्चार नभएकाले उनको मृत्यु भएकोे प्रतिवेदनमा उल्लेख छ ।

मनसिक समस्यामा किशोरी

बढ्दो बालविवाहका कारण आमा बन्ने महिलाको संख्यामा वृद्धि हुँदा किशोरी आमामा स्वास्थ्यसँगै मानसिक समस्यासमेत बढ्दो रहेको प्रतिष्ठानका निर्देशक गोसाईंले बताए । ‘कम उमेरमा विवाह गर्ने र चाँडै आमा बन्ने हुँदा किशोरीको ज्यान जोखिममा छ,’ उनले भने, ‘कम उमेरमा आमा बन्दा उनीहरूमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएको छ भने अर्कातिर सोही कारणले उनीहरू घरेलु हिंसामा समेत पर्ने गरेका छन् ।’

किशोरी आमाको शारीरिक अपरिपक्वता हुनुका साथै मानसिक तथा सामाजिक रूपले पनि अवस्था कमजोर हुने गरेको डा. पुजन रोकायाले बताए । कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारण रहेको स्वास्थ्यकर्मीको बुझाइ छ । परिवार नियोजनका अस्थायी साधनबारे राम्रो जानकारी नहुँदा पनि किशोरीले कम उमेरमै बच्चा जन्माउने गरेका छन्।

बालविवाहका कारण अन्य पारिवारिक जिम्मेवारी बढ्ने, स्वतन्त्रताको कमी हुनेजस्ता कारणले गर्दा यस्ता किशोरीमा मानसिक समस्यासमेत देखिने गरेको हो । बालविवाह अन्त्यका लागि जनचेतनाको आवश्यकता रहेको स्वास्थ्यकर्मी हिमाली खत्रीको भनाइ छ । कम उमेरमा विवाह हुँदा महिलाको पाठेघर खस्ने, अस्वस्थ बच्चा जन्मने, पारिवारिक बोझले शिक्षा पूरा गर्न नपाउनेजस्ता विविध कुराले वृत्तिविकासको ढोका बन्द हुने उनले बताइन् । बालविवाहले शैक्षिक रूपमा पनि महिला निकै पछि परेको खत्रीको तर्क छ ।

जिल्लाको सबैभन्दा बढी बालविवाह हुने गरेको पातारासी गाउँपालिकाले बालविवाहविरूद्धको अभियान सञ्चालन गरेको छ । बालविवाह रोक्न तथा छोराछोरीबीचको असमानता हटाउन गाउँपालिकाले अस्पतालमा छोरी जन्मे प्रोत्साहन भत्तास्वरूप तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

अस्पतालमै बस्ने सुविधा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा प्रसूति हुने समयभन्दा हप्ता दिनअगावै डिस्जार्ज नहुन्जेलसम्म बस्न तथा खान निःशुल्क व्यवस्था मिलाइएको छ । स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख लक्ष्मण चौलागाईंका अनुसार विशेष गरी मातृ र बाल मृत्युदर न्यूनीकरण गर्न यस प्रकारको कार्यक्रम सञ्चालन गर्न थालिएको हो । दुई÷तीन दिनभित्रै बस्ने कोठाको व्यवस्थापन गरी खान पकाउने र बस्ने व्यवस्थापनको तयारी भइरहेको उनले बताए ।

कुन जिल्लामा बालबिबाह कति ?

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतका अनुसार कर्णाली प्रदेशको सबैभन्दा कम डोल्पामा ४९ प्रतिशत र सबैभन्दा बढी रुकुम पश्चिममा ७१ प्रतिशत बालविवाह हुने गरेको छ । भने तेस्रोमा जुम्ला ६७ प्रतिशत बालबिबाह गरेको छ । जस अनुसार कर्णालीका दश वटै जिल्लामा बाल बिवाह यसप्रकारले भईरहेको छ ।

हुम्लामा ५२, मुगु ५७, कालिकोट ५९, जाजरकोट ६५, सुर्खेत ६८, सल्यान ६९ र दैलेखमा ७० प्रतिशत बालविवाह भएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये मानव विकास सूचकांकका आधारमा चौथो स्थानमा रहेको जुम्लामा बालविवाहकै कारण १९ वर्षमुनिका ३३ प्रतिशत बालिका गर्भवती हुने गरेको पाइएको छ । 

यसले उनीहरूको स्वास्थ्य र शिक्षामा मुख्य असर पारेको छ भने कतिपय बालिकाको गर्भावस्थामै मृत्यु समेत भएको छ । माथिको तथ्यांकलाई हेर्दा सरदर रुपमा कर्णालीका दशवटै जिल्लामा ५२ प्रतिशत बालबिबाह हुने गरेको छ ।

 

OOO



प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्