नेपाली समय: ०६:४६:३१ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

पेट्रोलियम पाइपलाइन २४ वर्षपछि सपना पूराः प्रतिघण्टा २ सय किलोलिटर इन्धन खस्ने, वार्षिक करिब साढे ३ अर्ब बचत

निर्माण सञ्चार, २५ भदौ, वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ। दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भिडियो कन्फरेन्समार्फत संयुक्तरूपमा स्वीच थिचेर उक्त पाइपलाइनको उद्घाटन गरे।

भारतीय आयल कर्पोरेशन (आईओसी) का पदाधिकारीले नेपाल आयल निगम ९एनओसी० लाई डिजेल हस्तान्तरण गरेपछि यो परियोजना सञ्चालनमा आएको हो। मंगलबार पहिलो खेपमा भारत बिहारको मोतिहारीबाट बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा पहिलोचोटि सात हजार किलो लिटर डिजेल आइपुगेको छ। 

नेपाल आयल निगमको अमलेखगञ्जमा आयोजित एक कार्यक्रममा भारतीय आयल निगम कार्पोरेशन मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका निर्देशक अभिजित चौधरीले नेपाल भारतको ‘लाइफ लाइन’को रूपमा रहेको यो परियोजनाले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे। उनले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना वातावरणीय र आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यस परियोजनाले दुवै देशको आर्थिक विकासमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे। 

सोही अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेपालको विकासमा भारत सरकारको सहयोग उल्लेखनीय रहेको बताए। सहायक निर्देशक सुशील भट्टराईले भारत सरकारले उपहारको रूपमा नेपाललाई दिएको यो परियोजनाका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने बताए। 

कार्यक्रममा भारतीय आयल कर्पोरेशन मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाका सहायक निर्देशक जेपी सिन्हाले आजको दिन नेपाल भारत दुवै देशका लागि महत्वपूर्ण भएकाले यस परियोजनाले नेपाल भारत बीचको सम्बन्धलाई सेतुको रूपमा जोड्ने बताए। 

तोकिएको समयभन्दा चार महिना अगावै निमार्ण काम सम्पन्न भई परियोजना सञ्चालनमा आएपछि नेपालको लागि मात्र नभएर दक्षिण एशिया कै लागि महत्वपूर्ण भएको उद्योगी व्यवसायीहरुको भनाइ छ। 

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लागतमा बनेको उक्त परियोजनामा नेपालको रु ७५ करोड लगानी रहेको छ। 

परियोजनामा भारत सरकारको भारतीय रु चार अर्ब ४० करोड आर्थिक सहयोग रहेको छ। सो पाइपलाइनको कूल लम्बाइ ७० किलो मिटर रहेको सो पाइपलाइनको लम्बाइ भारततर्फ ३२।५ किलोमिटर र नेपालतर्फ ३७।५ किलोमिटर रहेको छ। 

पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ। 

नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्की निर्माण गरिएको छ। पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीवापत अब वार्षिक रु दुई अर्ब बचत हुने विश्वास लिइएको छ। 

यसबाट पर्यावरण विनाश, राजमार्गमा हुने ट्राफिक जाम, दुर्घटना, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने विश्वास लिइएको छ। 

 

आजको नागरिकले लेखेको छ

०००

पढौं यो पनि



प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार