नेपाली समय: ११:२४:०९ बिहान
वि.सं २०७६ माघ ५   आइतबार

सल्यानको त्रिवेणी गाउँपालिकामा ‘ठेक्का’ माथि निर्माण व्यवसायी संघको संस्थागत ‘मिलेमतो’, विरोधमा उत्रियो संगठन

निर्माण सञ्चार, २५ भदौ, सल्यान । सल्यान जिल्लाको त्रिवेणी गाउँ पालिकाले जारी गरेको सूचना बमोजिम टेन्डर प्रक्रियामा निर्माण व्यवसायी संघ सल्यानले मिलेमतो गरेको भन्दै निर्माण व्यवसायी संगठन (सियोन) सल्यान विरोधमा उत्रिएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिकाले नदीजन्य पदार्थ– गिटी, बालुवा, ढंगा आदि निकाल्न भन्दै भदौ ३ गते सूचना प्रकाशित गरेको थियो ।

१५ दिने अवधिभित्र भदौ १८ गते १२ बजेसम्म बोलपत्रमा सहभागी हुन भनी जारी गरिए अनुसार १२ वटा निर्माण कम्पनीहरुले टेन्डर प्रक्रियामा आफूलाई सहभागी गराइसकेका थिए ।

तर, निर्माण व्यवसायी संघकै मिलेमतोमा उक्त सूचनालाई मिचेर महालक्ष्मी निर्माण सेवा र त्यस निर्माण फर्मका प्रोप्राइटर कमान सिंह डाँगीलाई काम पार्ने गरी थप ३ वटा निर्माण फर्मका बीचमा मिलेमतो गरेको खुलेको हो ।

थप ३ वटा निर्माण फर्महरुमा मल्ल बिल्डर्स र सरस्वती निर्माण सेवाका बीचमा गाँडीको महालक्ष्मी निर्माण फर्मलाई ठेक्का दिने बन्दोबस्ती भएको निर्माण व्यवसायी संगठन सल्यानको आरोप छ । 

संगठन अनुसार संघका उक्त प्रतिनिधिहरुले १२ बजेर ५७ मिनेट भित्रै सम्बन्धित कार्यालयको परिसर भित्र छिरिसकेको अवस्थामा संघमा आबद्ध निर्माण व्यवसायीहरुले कार्यालयको माथिल्लो तलमा छिर्न नदिई बलजफती गरेको बताएको छ ।

संगठनले तोकिएको समयभित्र सम्बन्धित फारम भर्न ११ बजेर ४८ मिनेटभित्रमा जिल्लाको वाणिज्य बैंकको शाखा कार्यालयबाट बैंक ग्यारेन्टी सम्पन्न गरी निर्दिष्ट समयभित्र टेन्डर प्रक्रियामा भाग लिन सहभागी भएका फारम र प्रोप्राइटरलाई प्रतिस्पर्धामा सहभागी हुनै नदिएको आरोप लगाएको छ ।

कार्यालयको सिसी क्यामेरा फुटेज सहित संघमा आबद्ध निर्माण व्यवसायीहरुले ‘मिलेमतो’ र ‘गुण्डागर्दी’ गरेको भन्दै संगठनले विज्ञप्ति मार्फत् नै गाउँपालिकाले भदौ ३ गते निकालेको सिलबन्दी दरभाउ सम्बन्धी सबै प्रक्रिया रद्द गरी पुनः नयाँ बोलपत्र आह्वानको सूचना निकाल्न भनेको छ ।

उसले सम्बन्धित गाउँपालिका मिलेमतोमा नलाग्न भन्दै स्वस्थ प्रतिस्पर्धाको बाटो रोक्ने र विकास सम्बन्धी कार्यक्रम र राज्यको बजेटमाथि म्याच्फिक्सिङ नगर्न समेत भनेको संगठनका लागि जिल्ला संयोजक राजेन्द्र कुमार थापाले निर्माण मिडियालाई बताए ।

संगठनका तर्फबाट कानुन मन्त्रालय कर्णाली प्रदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल निर्माण व्यवसायी संगठन, त्रिवेणी गाउँपालिका सल्यान सहितका विभिन्न निकायहरुमा बोधार्थ सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको संयोजक थापाको भनाइ छ ।

यसबारेमा जानकारी लिन खोज्दा संघ पक्षधर निर्माण व्यवसायीहरु सम्पर्कमा आउन चाहेनन् । स्थानीय कर्मचारीका अनुसार संघ पक्षधर कन्ट्र्याक्टरहरु भने सोही सूचना नै अन्तिम हुनु पर्ने र आफूहरुले भनेबमोजिम नै बोलपत्र प्रक्रिया अघि बढ्नु पर्नेमा रहेका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै सल्यान जिल्ला नेनिव्यसंका व्यवसायीहरु
 

०००

 



प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार