नेपाली समय: ०६:४७:११ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

डब्लूइएफ इन्डेक्सको खुलासा : पर्यटन प्रवर्द्धनमा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर! कति औँ स्थानमा छ नेपाल?

निर्माण सञ्चार, २६ भदौ, काठमाडौं । पछिल्लो समय सरकारले भ्रमण वर्ष २०२०लाई सफल बनाउन विभिन्न रणनीतिहरु अपनाइरहेको छ। तर पर्यटनको ममिलामा नेपाल अन्य देश भन्दा धेरै पछि रहेको तथ्यांकले देखाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन कुनै कसर बाँकी नराखी तयारीमा जुटेको छ। तर पर्यटनमा नेपाल प्रतिस्पर्धात्मक क्षमता कमजोर भएको तथ्र्याकले देखाएपछि सरकारले  नेपाललाई विश्वस्तरमा चिनाउने प्रयासहरु गरिरहेको छ।

देशको समृद्धिका लागि पर्यटन प्रवर्द्धनलाई मुख्य हतियार बनाउने रणनीति सरकारको ट। नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विश्वस्तरमा चिनाउने सरकार लागि परेको छ। एक अन्तर्राष्ट्रियस्तरको सर्भेक्षणले भने पर्यटन क्षेत्रमा नेपालको प्रतिस्पर्धात्मक क्षमता कमजोर देखाएको छ ।

विश्व आर्थिक मञ्च (डब्लूइएफ)ले हालै सार्वजनिक गरेको ‘ट्राभल एण्ड टूरिजम कम्पिटेटिभनेश इन्डेक्स २०१९’ मा नेपालको अवस्था कमजोर भएको उल्लेख गरेको छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा, एक सिंगे गैंडा,  गौतम बुद्ध जन्मेको स्थान  र जलस्रोतको दोस्रो धनी तथा विभिन्न पर्यटकीय स्थल भएको देशका रुपमा नेपालले चिनाउन नसकेको उक्त डब्लूइएफको इन्डेक्सले जनाएको छ। नेपालले यी क्षेत्रहरुको कारण आफूमा गर्व गर्दै आए पनि त्यसबाट पर्याप्त लाभ भने लिन नसकेको डब्लूइएफको इन्डेक्समा उल्लेख छ।

डब्लूइएफको इन्डेक्सले विश्वभरका १ सय ४० मुलुक समेटेर तयार पारेको सूचीमा नेपाल पर्यटन पर्वद्धनको ममिलामा १ सय २ औं स्थानमा रहेको निष्कर्ष निकालेको छ । पहिलो स्थानमा स्पेन छ भने फ्रान्स, जर्मनी, जापान र अमेरिका क्रमशः पाँचौस्थान सम्म छन् । सबैभन्दा पुछारमा यमन रहेको छ ।

१ सय ४० मुलुकमध्ये बा‌ंगलादेश १ सय २० औं र पाकिस्तान १ सय २१ औं स्थानमा रहेका छन् । नेपालभन्दा माथि श्रीलंका ७७ औं स्थानमा रहेको छ । भारत सबैभन्दा माथि ३४ औं स्थानमा छ।

पर्यटनले नेपालको कूल गार्हस्थ उत्पादनमा मुस्किलले तीन प्रतिशत मात्र हिस्सा ओगट्छ । खासगरी पूर्वाधारमा नेपाल कमजोर देखिएको छ । दीगो पर्यटन विकासको अवधारणा अनुसार सरकारले नीति बनाउन नसक्नु र सडक तथा हवाई यातायात पूर्वाधारमा भएको कमजोर उपस्थितिले नेपाल विश्व पर्यटन बजारमा पछाडि परेको पाइएको छ ।

उक्त डब्लूइएफ इन्डेक्सका लागि पर्यटकीय वातावरण निर्माणको अवस्थालाई एक आधार मान्छ । यसबाहेक नीति–नियम, पूर्वाधार र प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई पनि सूचकांक निर्माणको आधार मानेको छ । यी आधारहरु भित्र पर्यटनले पाएको प्राथमिकता, दीगो पर्यटनमा सरकारले चालेका कदम, पर्यटक आगमन संख्या, पर्यटकको सुरक्षा र सेवा–सुविधालगायत करीव एक दर्जन विषयवस्तुका आधारमा सूचंकाक निकालिएको हो ।

विभिन्न रोग र महामारीका कारण कतिपय मुलुक संक्रमणमा छन् । त्यसबाट पर्यटकलाई बचाउन उक्त मुलुकले चालेका कदमलाई पनि हेरिएको छ । हवाई, सडक तथा जल यातायातको पूर्वाधारले पनि सूचकांकमा प्रभाव पार्ने मञ्चको भनाइ रहेको छ । बजार मूल्यका आधारमा पनि पर्यटन बजारको प्रतिस्पर्धी क्षमतालाई मापनको आधार मानिएको छ ।

 

 

000



प्रकाशित: २०७६ भाद्र २६
September 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार