नेपाली समय: ०६:४९:३७ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

नौविसे–नागढुङ्गा सुरूङमार्ग निर्माणका लागि सम्झौता हुँदै, कहिलेदेखि काम सुरू हुन्छ?

निर्माण सञ्चार, २६ भदौ, काठमाडौं । नौविसे–नागढुङ्गा सडकखण्डमा निर्माण गर्न लागिएको सुरुङमार्ग निर्माणको सम्झौता आगामी बुधबार हुने भएको छ । सुरुङमार्ग निर्माण गर्न जापानी कम्पनी हाज्मा–आन्दो जेभीसँग सम्झौता हुँदैछ। सम्झौता भएको दुई महिनापछि मात्र निर्माण कार्य सुरु हुनेछ।

नागढुङगा–नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार आगामी साता ठेक्का सम्झौता गर्ने र नोभेम्वरबाट काम सुरु गर्ने योजनाका साथ काम तयारी भइरहेको छ।

उनले भने, 'बैंक ग्यारेण्टी सहित प्रक्रिया सकेर जापानी कम्पनी आगामी साता नेपाल आउन लागेको छ। उनका अनुसार ठेक्का सम्झौता भएपछि निर्माण कम्पनीले साईटमा क्याम्प बनाउने, मेसिनहरु ल्याउने लगायतका तयारीका कामहरु गर्नेछ।'

नोभेम्बरसम्ममा नेपालका तर्फबाट साइट क्लियर गरिसक्नुपर्ने चुनौती रहेको आयोजनाले जनाएको छ। आयोजना प्रमुख खरेलले भने,'मुआब्जा वितरणका लागि काठमाडौंतिर कुनै समस्या छैन। अधिकांश मुआब्जा वितरण भैसकेको छ भने केहि वितरण हुने प्रक्रियामा रहेको छ।'

धादिङतिर भने समस्या रहेको पाइएको छ। व्यक्तिका नाममा रहेको जग्गामा समस्या नभएपनि गुठी र लालपुर्जा नभएको जग्गाका कारण समस्या भएको आयोजना प्रमुख खरेलले बताए।

नागढुङगा नौविसे सडक खण्डको किसिपिढी खोल्सीदेखि सिस्नेखोलासम्म करिव २.७ किलोमिटर सुरुङमार्ग निर्माण गर्न लागिएको हो। जसका लागि करिव २१ अर्ब लाग्ने अनुमान गरिएको छ। जसमा १६ अर्ब जापानको सहुलियत ऋण सहयोग हुनेछ भने ५ अर्ब रुपैयाँ नेपाल सरकारको आन्तरिक स्रोतबाट व्यहोर्ने छ।  

त्यस्तै वलम्वुदेखि सुरुङमार्गसम्म पुग्न फ्लाईओभर निर्माण गर्ने योजना छ। यसका लागि करिव ११ रोपनी जग्गा र ४७ वटा घर अधिग्रहण गर्नुपर्नेछ। जग्गाको मात्रै ७५ करोड रुपैयाँ लाग्ने अनुमान छ।  गुर्जुधाराबाट टनेलको प्रस्थान विन्दुसम्म पुग्नका लागि करिव ६ सय मिटरको फ्लाई ओभर निर्माण गर्नुपर्ने छ।

निर्माण थालेको ४० महिनामा कम्पनीले सुरुमार्ग तयार पारेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको थियो।



प्रकाशित: २०७६ भाद्र २६
September 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार