नेपाली समय: ०६:५१:२९ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

प्रदेश सरकार पनि धमाधम लगानी सम्मेलनमाः असोज ९ गतेबाट बुटवलमा तिलोत्तमा लगानी सम्मेलन हुँदै, यस्तो छ तयारी

निर्माण सञ्चार, २६ भदौ, काठमाडौं । पछिल्लो समय संघीय सरकारले पूर्वाधार विकासका लागि दिइने ठेक्काको आयोजनादेखि उद्योग कल कारखाना स्थापनाको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लगानी कर्तालाई आह्वान गरिरहेको बेला प्रदेश सरकारले पनि लगानीको विषयमा छलफल गर्न लगानी सम्मेलनमा सहभागी हुन लागेका छन्।

सातै प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीहरुको रुपन्देहीको बुटवलमा आयोजना हुन लागेको तिलोत्तमा लगानी सम्मेलनमा जमघट हुने भएको छ। स्थानीय तहहरुमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारको भूमिका सम्बन्धमा छलफल गर्न उनीहरु लगानी सम्मेलनमा सहभागी हुन लागेका छन्।

आउँदो असोज ९ गते तिलोत्तमाको टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीबीच लगानी भित्र्याउने सम्बन्धमा संयुक्त छलफल गर्न जम्मा हुने कार्यक्रम तय भएको लगानी सम्मेलनका संयोजक बासुदेव घिमिरेले बताए। उनका अनुसार सम्मेलनको अघिल्लो सांझ सबै मुख्यमन्त्रीहरुबीच संयुक्त छलफल हुन्छ।

जसकाले लागि पाँचजना मुख्यमन्त्री आउने निश्चित भइसकेको उनले बताए। उनले भने,'कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीसँग पनि सम्पर्क हुँदैछ।’ संयोजक घिमिरेले सम्मेलनको दिन संघीय अर्थमन्त्री, पर्यटन मन्त्री र सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुबीच छलफल हुने कार्यक्रम रहेको बताए।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पांच सय जना लगानीकर्ता सहभागी हुने लक्ष्य राखिएको बताए ।

उनका अनुसार सम्मेलनमा कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतीका समूहगत छलफल हुनेछ । सम्मेलनबाट ५० अर्ब लगानी भित्रिने आयोजकको लक्ष्य छ । सम्मेलनमा कृषि,पर्यटन,उद्योग,यातायात,फोहोरमैला व्यवस्थापन लगायतका २२ वटा परियोजनाका स्टल रहनेछन् ।

सम्मेलनको छलफलमा संघीय सरकारका अर्थमन्त्री खतिवडा र पर्यटनमन्त्री भट्टराईसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, एशियाली विकास बैंकका पूर्वाधार योजना विज्ञ कमल पाण्डे, लगानी बोर्डका प्रिन्सिपल म्यानेजर घनश्याम ओझा र लगानी बोर्डकै सहसचिव बलराम रिजाल लगायत नीजि क्षेत्रका उद्योगी व्यवसायीहरु पनि सहभागी हुने लगानी सम्मेलन सचिवालयका संयोजक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

सम्मेलनलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री युवराज खतिवडा, संघीय सांसदहरु घनश्याम भुसाल, विष्णु पौडेल, बालकृष्ण खाँणलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनका दिन हुने छलफलमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो,२ का विजयकुमार यादव, ३ का कैलाश ढुंगेल, गण्डकीका किरण गुरुङ, ५ का शंकर पोखरेल, कर्णालीका प्रकाश ज्वाला र सुदूरपश्चिमका झपट बोहराले भाग लिनेछन् ।

त्यस्तै सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री डा। युवराज खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यलगायतको पनि सहभागिता रहने छ ।



प्रकाशित: २०७६ भाद्र २६
September 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार