नेपाली समय: ११:४७:३५ राती
वि.सं २०७६ कार्तिक २   शनिवार

'विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरिद ऐन बाधक'

निर्माण सञ्चार, २८ भदौ, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणका काम समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरिद ऐन बाधक रहेको बताएका हुन्।

टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

“सार्वजनिक खरिद ऐन संशोधन हुँदै छ”, उनले भने, “ऐन संशोधन भएपछि विकास निर्माणका काम समयमै सम्पन्न हुन्छन्।” उनले विकासका योजनालाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको बताए।

विकास निर्माणलाई मूर्त रुप दिन जनप्रतिनिधिको भूमिका अह्म हुने भन्दै जिम्मेवारी बोधका साथ काममा लाग्न जनप्रतिनिधिलाई उनले निर्देशन समेत दिए।     

उनले स्थानीय नागरिकले अपनत्व बोध गर्न नसके विकासका योजना अलपत्र पर्नसक्ने बताउँदै प्रत्यक्ष रेखदेख र निगरानी गरेमा योजना दीर्घकालीनरुपमा टिकाउ हुने बताए।

पोखरेलले विकास निर्माणका काममा बाधा अवरोध गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने औँल्याउँदै विकासको नाममा कोही पनि विस्थापित हुन नहुने बताए।

“कतिपय ठाउँमा विकासका योजना सम्पन्न गर्नका लागि जग्गा नदिएर अत्तो थाप्ने काम गरिएको हुन्छ”, उनले भने, “विकासका पूर्वाधार तयार भएपछि ठाउँको महत्व बढ्ने हुँदा अवरोध गर्न खोज्नु हुँदैन।”    



प्रकाशित: २०७६ भाद्र २८
September 14th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार