नेपाली समय: ०७:१५:०५ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

पुतली बगैंचामा ९ अर्बको संसद भवन: प्रधानमन्त्रीद्वारा उद्घाटन, निर्माण जिम्मा टुँदी–शेक जेभीलाई

निर्माण सञ्चार, २ भदौ, काठमाडौं । आउने ३ वर्षमा भाडामा चल्दै आएको नेपालको संघीय संसद्ले आफ्नै भवन पाउने भएको छ । जसको शिलान्यास बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले  गरेका छन् । 

सिंहदरबारपरिसर भित्र रहेको पुतली बगैंचामा १७३ रोपनी क्षेत्रफलमा उक्त संसद् भवन बन्ने छ । जसको लागत ९ अर्ब रुपियाँ रहेको छ ।

भवन विभागका महानिर्देशक मणिराम गेलाल अनुसार भवन निर्माणको लक्ष्य ३ वर्ष भित्र सक्ने रहेको छ । ५ तलाको हुने यो संसद् भवन १७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ । डिजाइनमा संलग्न आर्किटेक्ट इन्जिनियरहरुका अनुसार जमिनको क्षेत्रफल ८८ हजार २ सय ७१ वर्गमिटर रहेको छ । 

कुल लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३० रुपियाँ रहने अनुमान छ । तर, मूल्यवृद्धि लगायत सम्पूर्ण निर्माण कार्यको लागत जोड्दा यसको लागत ९ अर्ब ६० करोड हुने डिजी गेलालले जानकारी दिए ।

यसको डिजाइन डिजीकोन इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो ।

कस्तो बन्ने छ ?

सिंहदरबार परिसरभित्र निर्माण हुने उक्त भवनमा प्रतिनिधिसभा, भवन, राष्ट्रियसभा भवन, अनि दुबै भवनको बीचमा कमन लबी, अति विशिष्ट व्यक्तिहरुका लागि कार्यालय भवन, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिका भवन, संसद सचिवालयको भवन, चमेनागृह, प्रेस, छपाइ भवन, ७ सयवटा चारपांग्रे गाडीहरुको पार्किङ र सुरक्षाकर्मीहरु रहने भवन समेत रहने छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ वटा संरचना तयार हुने छन् । 

प्रतिनिधिसभाको क्षमता चार सय व्यक्ति अटाउने ठूलो सभा हल र राष्ट्रियसभामा सयजना अटाउने सभा हल हुनेछ भने प्रतिनिधिसभा भवनमा समामुख कक्ष, पत्रकार सम्मेलन कक्ष र अतिविशिष्ट कक्ष, तीन सयजना दर्शक पत्रकार आगन्तुक पाहुना अटाउने बालकोनी हल र दुई सय क्षमताको मार्सल कोठासमेत रहने छन् ।

त्यसैगरी राष्ट्रियसभाको भवनमा स्टुडियो कोठा, कन्ट्रोल कोठा, भिडियो र रेकर्ड कोठा रहने छ भने अध्यक्षको कार्यकक्ष, विशिष्ट कक्ष र समिति हल, दुई सय जना अटाउने बालकोनी हल र तीन सयजना क्षमताको बैठक कक्ष तथा मर्मतकक्ष र मार्सल कोठा रहनेछन् ।

भवन परिसरमा भवन क्षेत्र २७ प्रतिशत, खुला हरियाली ४५ प्रतिशत र पार्किङ क्षेत्र २८ प्रतिशत छुट्याइएको छ । भवन परिसरको मूल ढोका दक्षिणतर्फ रहने छ भने सांसदको प्रवेशका लागि उत्तर(पश्चिम ढोका, दक्षिणपूर्वमा कर्मचारी र सर्वसाधारण प्रवेशको व्यवस्था मिलाइने छ । प्रवेशका लागि अति आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिने छ ।

काठमाडौँको स्थानीय वास्तुकला झल्कनेखालको बन्ने भवन इन्टरनेशनल स्टे अफ द आर्टका रुपमा डिजाइन गरिएको छ । भवनका डिजाइन आपतकालीन विशेष अवस्थाजस्तै भूकम्प, आगलागीलाई मध्यनगर गरी नेपालको भवन निर्माण सम्बन्धी मापदण्ड अनुसार डिजाइन गरिएको छ ।

भवनमा हरियाली चौर, पानीका फोहरा, सार्वजनिक खुल्ला चौर जस्ता रहनेछन् । दक्षिणतर्फका मुख्य प्रवेशद्वारको बायाँतर्फ संसदको प्रतिनिधिसभा र दायाँतर्फ राष्ट्रियसभा हुने छ ।

संसदीय दल र संसदीय समितिका भवन पाँच तले र अन्य भवन भने तीन तले हुनेछन् । 

कसले पायो ठेक्का ?

नयाँ संसद भवनमा ठेकदार कम्पनीले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजार रुपियाँमा कबुल गरेको छ । भवन निर्माणको जिम्मेवारी टुण्डी–शेक ज्वाइन्ट भेञ्चर कम्पनीले पाएको छ ।

टुँडी नेपाली कम्पनी हो भने शेक चाइनिज ठेकदार कम्पनी हो ।

शिलान्यास पछि संलग्न इन्जिनियर तथा कर्मचारीहरु
 

०००



प्रकाशित: २०७६ आश्विन २
September 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार